छापा खबर


वामदेवको विषय छाडेर जब ओलीले बैठकमा अर्कै विषयमा अप्रत्याशित ‘ब्रिफिङ’ गरे

वामदेवको विषय छाडेर जब ओलीले बैठकमा अर्कै विषयमा अप्रत्याशित ‘ब्रिफिङ’ गरे

नेपालखबर
फागुन १९, २०७६ सोमबार १:१९,

नेकपाका दुई अध्यक्षबीच आइतबार बिहानै सचिवालय बैठक बस्ने निधो टेलिफोनमा भयो।

महासचिव विष्णु पौडेलले नेताहरूलाई बिहान साढे ११ बजे बैठक बस्ने सूचना प्रवाह गरे।

बैठक आह्वान भएपछि नेताहरूले ‘वामदेव प्रकरण’बारे पक्कै छलफल हुने ठाने । ‘एजेन्डा जानकारी गराइएको थिएन।

विवादमा राष्ट्रियसभाको मनोनीत एउटा कोटामा वामदेव गौतम वा डा. युवराज खतिवडा भन्ने विषय थियो। यसमै छलफल केन्द्रित होला भन्ने अनुमान थियो’, सचिवालयका एक सदस्यले भने, ‘त्यही भएर बैठक आह्वानलगत्तै नेताहरू आआफ्नो तयारीमा लागेका थिए।’

प्रधानमन्त्री केपी ओली भने ग्रान्डी अस्पताल गए । उनले त्यहाँ गाडी दुर्घटनामा परी उपचाररत नेकपा मालेका महासचिव सीपी मैनालीलाई भेटे। मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । लगत्तै उनी आफ्नो नियमित स्वास्थ्य परीक्षणतिर लागे।

त्यही बेला उपाध्यक्ष वामदेव गौतम अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका थिए । दाहालसँग बिहान झन्डै एक घण्टा बातचित गरी उनी त्यहाँबाट बाहिरिए।

दाहाल भने ऊर्जामन्त्री वर्षमान पुनलगायत केही नेतासँग सामान्य छलफल गरी सचिवालय बैठकका लागि बालुवाटारतर्फ हिँडे।

उनी बीचमा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न नेपाल निवास कोटेश्वर छिरे । उनीहरूबीच केही बेर छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयका अन्य सदस्य जुट्न थालिसकेका थिए।

रामबहादुर थापा भने पोखरामा रहेकाले उपस्थित थिएनन् । दाहालसहित अन्य नेता भेला भइसक्दा पनि प्रधानमन्त्री ओली ग्रान्डीमै थिए।

प्रतीक्षाको केही बेरपछि प्रधानमन्त्री ओली आइपुगे र बैठक कक्षमा प्रवेश गरे । उनले आफू स्वास्थ्य फलोअपका लागि बाहिर रहेकाले आइपुग्न केही ढिला भएको भन्दै बैठक आरम्भ गरे।

‘म सुरुमै मेरो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँछु’, उनले भने, ‘म अब मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन जाँदैछु । यसको योजनाका विषयमा म तपाईंहरूलाई केही जानकारी दिन्छु।’

त्यसपछि प्रधानमन्त्रीले आफ्नो उपचार तयारीबारे बैठकमा अवगत गराएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। ‘भोलि अस्पताल भर्ना हुन्छु । बुधबार प्रत्यारोपणको प्रक्रिया सुरु हुनेछ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने।

प्रधानमन्त्रीले आफ्नो उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुन लागेको र त्यसको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए।

गौतमका विषयमा छलफलको अपेक्षा राखेका नेताहरू त्यसपछि त्यता प्रवेश गरेनन् । उनीहरूले प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरे।

करिब २५ मिनेटमा बैठकै सकियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारका विषयमा मात्र जानकारी गराएकाले अन्य कुनै छलफल नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad