छापा खबर


प्रहरीको सुन्दर नाराभित्र क्रूर व्यवहार

 प्रहरीको सुन्दर नाराभित्र क्रूर व्यवहार

नेपालखबर
फागुन १९, २०७६ सोमबार १:३७,

सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्।

‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्।

बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको खबर आजको गाेरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।

‘नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरकजस्तै हुन्’, ठमेलका समाजसेवी अर्जुन पुरी भन्छन्, ‘प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन। प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ।’

प्रहरीले नागरिकको मन जित्न ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी’ र ‘जिब्रोको गरिमा मीठो बोलीमा’ नारा लगाउँदै आएको छ। यी नारा प्रभावकारी नभएपछि गत वर्षबाट गाउँटोलसम्म समुदाय–प्रहरी साझेदारी अभियान नै सञ्चालनमा आएको छ।

यो अभियानले प्रहरी कर्मचारीलाई मात्र नभई प्रत्येक नागरिकलाई शान्तिसुरक्षा र अपराध नियन्त्रणमा जिम्मेवार बनाउनुका साथै प्रहरीसँग सहकार्य गर्न प्रोत्साहन दिँदै आएको छ।

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ‘प्रहरी मेरो साथी’ यही अभियानको महत्वपूर्ण नारा भएको बताउछन्।

तर, दुर्भाग्य यो नारालाई मुलुकको केन्द्रीय राजधानी काठमाडौँमा कार्यरत प्रहरीका उच्च अधिकृतहरूले नै व्यवहारमा उतार्न सकेनन्। यसअघि समाचार सङ्कलनका क्रममा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेका एक पत्रकारमाथि यस्तै दुव्र्यवहार गरिएको थियो।

आवेशमा आएर जथाभावी गालीगलौज, अन्धाधुन्द लाठी प्रहार, नियन्त्रणमा लिई कुटपिट गर्ने कार्य प्रहरीको जिम्मेवारीभित्र नपर्ने खनाल बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad