स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले महामारीको रूप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन्।
आफूले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेको १००औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो संकेत गरेका हुन्।
सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट बच्न पूर्वतयारीका साथ रहन आह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको छ।
यसबाट बच्न सीमा सुरक्षामा समेत विशेष ध्यान दिनुपरेकाले एयरपोर्टमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नुअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको जानकारी दिँदै मन्त्री ढकालले भने, ‘कोरोनाको संक्रमण भित्रिने प्रमुख कारण खुला सीमा हो, यसबाट बच्न सबैभन्दा पहिला सीमा सुरक्षामा ध्यान दिनुपर्छ, तातोपानी र रसुवागढी नाकामा निगरानीका लागि चिकित्सकको टोली खटाइएको छ भने प्रदेशसँग समन्वय गरी नाकामा निगरानी गर्ने व्यवस्था मिलाइएको छ।’
उनका अनुसार प्रधानमन्त्रीको निर्देशनमा उपप्रधानमन्त्रीको नेतृत्वमा थप अनुगमनको व्यवस्था गरिएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छन्।
मन्त्री ढकालले ‘नेपालीलाई उद्धार गर्न चीन गएका विमान चालक दलका १८ जना सदस्यमा कोरोना संक्रमण नभेटिएकाले घर फर्काइएको र १ सय ७५ जना विद्यार्थी पनि सुरक्षित भएकाले सोमबार आज प्रतिवेदन सार्वजनिक गरेसँगै घर फर्काइने बताए।
उनले कोरोना संक्रमण भित्रिन नदिन पहिलो चरणमा विदेशबाट नेपाल आउने सबै यात्रुको अनिवार्य परीक्षण गर्ने, दोस्रो चरणमा संक्रमण भित्रिहालेमा आवश्यक सबै जनशक्ति परिचालन गर्ने र कुनै ठूलै महामारी भएमा अस्पताल तोकी स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया