छापा खबर


५ करोड मानिसकाे ज्यान लिने स्पेनिस फ्लुझैं घातक होला कोरोना? अमेरिकी लेखककाे यस्ताे छ अनुमान

५ करोड मानिसकाे ज्यान लिने स्पेनिस फ्लुझैं घातक होला कोरोना? अमेरिकी लेखककाे यस्ताे छ अनुमान

नेपालखबर
फागुन १९, २०७६ सोमबार २:२२,

एलिस वोलोविच नाम गरेकी नर्सिङकी एक विद्यार्थी फिलाडेल्फियाको एक अस्पतालमा बिहानको सिफ्टमा काम गर्न थाल्छिन्।

उनी एकैछिनमा स्पेनिस फ्लुले थला पर्छिन् र त्यहीं मृत्यु हुन्छ। यो सन् १९१८ को कुरा हो जतिबेला स्पेनिस फ्लुको प्रकोपले धमाधम थला पर्दै मानिसको मृत्यु भइरहेको थियो।

फिलाडेल्फियाका ३१ वटा अस्पताल बिरामीले भरिएका थिए। कतिपय बिरामीलाई भर्ना गर्न नसकेर घर फर्काइएको थियो। कतिपय बिरामी त घुस दिएर अस्पताल भर्ना भएका थिए।

स्पेनिस फ्लुले मृत्यु भएकालाई उठाउन मास्क लगाएर प्रहरीलाई घरघर पठाइएको थियो। यस्तो काममा खटिएको एक सातामा ३३ प्रहरीको पनि मृत्यु भएको थियो। आजको नागरिक दैनिकमा प्रकाशित यो लेख निकोलस क्रिस्टोफले लेखेका हुन्।

‘हरेक घरमा एकजना बिमारी थिए,’ जोन एम बेरीले आफ्नो चर्चित किताब ‘दी ग्रेट इन्फ्लुएन्जा’ मा लेखेका छन्। ‘मानिस सकेसम्म अरुलाई बेवास्ता गर्न थालेका थिए, बोल्न परे पनि अर्कोतिर मुख फर्काएर बोल्थे। सार्वजनिक टेलिफोन कम्पनीका अपरेटरले पनि काम बन्द गरिसकेका थिए। आकस्मिक कलका लागि मात्र यो सेवा उपलब्ध थियो,’ किताबमा लेखिएको छ।

खेलकुदका कार्यक्रम धमाधम रद्द गरिएका थिए। नाट्यशाला बन्द भएका थिए। अरिजोना, फिलाडेल्फिया र प्रेस्कोटमा मानिस भेट हुँदा हात मिलाउन गैरकानुनी घोषणा गरिएको थियो।

यी स्थानमा शव राख्न ६वटा चिहानघर निर्माण गरिएको थियो। मानिसले घरभित्र कसैको मृत्यु भएको सन्देश दिन बाहिर रंगीन कागज झुण्ड्याउँथे र त्यस्ता संकेत जताततै देखिएका थिए।

सन् १९१८ मा विश्वमा फैलिएको स्पेनिस फ्लुले ५ करोड मानिसले ज्यान गुमाउनुपरेको थियो। सरुवा रोग ठूलो जोखिमको सबैभन्दा ठूलो उदाहरण त्यतिबेलादेखिको हो। त्यसपछि जनस्वास्वास्थका विज्ञले यसप्रकारको अर्को ठूलो महामारीका लागि तयार रहन चेतावनी दिँदै आए तर आवश्यक तयारी कहिल्यै गरिएन।

हाल फैलिएको कोरोना भाइरस पनि त्यहीस्तरको महामारी होला नहोला अहिल्यै भन्न सकिने स्थिति छैन। यो बिस्तारै कमजोर भएर पनि जान सक्छ।

अहिलेसम्म अमेरिकामा एकजनाले मात्र ज्यान गुमाएका छन्। चाखलाग्दो कुरा के पनि छ भने अमेरिकामा मौसमी फ्लुका कारणले वर्षेनी हजारौंको मृत्यु हुन्छ। तर केही भइहाल्यो भने हामी तयार हुनुपर्छ भन्ने विज्ञहरुको भनाइ अहिले चर्को छ।

‘के हामी सन् १९१८ को पुनरावृत्ति देख्दैछौं,’ खतरालाई अतिशयोक्ति रुपमा बढाइचढाइ नगर्ने न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसनमा लेखिएको छ। धेरै वर्षदेखि महामारीको खतरा रहेको बताउँदै आएका बिल गेट्सले यो महामारीलाई ‘शताब्दीमा एक पटक आउने’ महामारी भनेका छन्।

‘म आशा गर्छु, यो त्यति खतरातर्फ उन्मुख हुनेछैन तर हामीलाई प्रष्ट ज्ञान नभएसम्म यो त्यतातिर उन्मुख छ भनेर हामीले मान्नुपर्ने हुन्छ,’ गेट्सले भनेका छन्। उनले विवेकसम्मत नै कुरा गरेका छन्।

कोरोना भाइरसको मृत्युदर २ प्रतिशत मानिएको छ। त्यो मान्दा पनि सन् १९१८ को स्पेनिस फ्लु जत्तिकै यो भाइरस प्राणघातक हुन सक्छ।

अर्को सम्भावना के पनि हो भने धेरै मानिसमा असर नदेखिईकन यो रोगले ग्रसित भएका हुन सक्छन् र त्यतिबेला मृत्युदर कम देखिएको हुन सक्छ।

महत्वपूर्ण कुरा के हो भने सन् १९१८ को स्पेनिस फ्लुलाई प्रभावकारी रुपमा सामना गर्न अमेरिका र विश्व तयार थिएन। ‘हामी अच्चमलाग्दो हिसाबले तयारीमा चुकेका छौं,’ कोलम्बिया विश्वविद्यालयका प्रोफेसर तथा प्रकोप तयारीसम्बन्धी राष्ट्रिय केन्द्रका निर्देशक इरविन रेडलेनरले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad