छापा खबर


लगनखेलमा १० रुपैयाँमै भरपेट खाना

लगनखेलमा १० रुपैयाँमै भरपेट खाना

नेपालखबर
फागुन १९, २०७६ सोमबार ३:३४,

छोरो बिरामी भएपछि उदयपुरका टेकबहादुर बस्नेत काठमाडौं आएको दुई साता भयो।

गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले उनका छोरा कुलदीपलाई चार दिनअघि पाटन अस्पतालमा ‘रिफर’ गर्‍यो । आइतबार बिहान ११ बजेतिर खाना खान अस्पतालबाहिर निस्किए।

बिरामी छोरालाई पनि खाना ल्याउन उनले हातमा ‘हटकेस’ बोकेका थिए । होटल जाँदै गर्दा एक युवाले सञ्चयकोष भवनको आँगनमा खाना खान बोलाए।

आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार उनी जाने कि नजाने अलमलमा परे। अनि सोध, ‘बिरामीलाई पनि खाना लैजान पाइन्छ ?’ खाना वितरणमा बसेका स्वयंसेवकले बिरामीलाई पनि लैजान दिने बताएपछि बस्नेत खाना खान अघि सरे।

१० रुपैयाँमा एक टपरी खाना पाइन्छ तर प्याकिङ गरेर लैजान नपाइने व्यवस्थापकको नियम छ। १० रुपैयाँ तिरेपछि खाना खुवाउन खटिएका स्वयंसेवकले उनलाई टपरी हातमा थमाए।

टपरीभरि खाना थापे । तरकारी थियो– केराउ र पनिरमा झोल राखेको । तरकारीमा मसला, पिरो र नुन कमै थियो । उनले खाना आए अनि छोरालाई हटकेसमा राखेर अस्पतालतिर लागे।

‘अरू बेला एक सय २० रुपैयाँ पर्थ्यो । आज २० रुपैयाँमै दुई जनालाई पुग्यो,’ खुसी हुँदै उनले भने, ‘भाग्यमानीको भूतै कमारो । गरिबदुःखीका लागि राम्रो काम हो।’

सातदोबाटोको प्रिमियर इन्टरनेसनल एकेडेमीले तीन सातादेखि लगनखेलमा १० रुपैयाँमा खाना खुवाइरहेको छ । ‘विद्यालयमा विद्यार्थीलाई जुन चामल खुवाउने हो, त्यही यहाँ पनि खुवाइरहेका छौं,’ प्रिमियर स्कुलकी प्रिन्सिपल पवित्रा लिम्बूले भनिन्, ‘कुक पनि उही हो । हामीले व्यवस्थापन मात्रै गरेका छौं।’

१० रुपैयाँमा खाना खान पाइने भएपछि साढे १० बजेअघि नै सर्वसाधारण आइसकेका थिए । नियमित खाना खानेमा अस्पतालका बिरामी मात्रै होइन, लगनखेल बस स्टप हुँदै गाडी चलाउने चालक, परिचालक र हेल्परसमेत थिए।

यस्तै अस्पतालका कर्मचारी, वरिपरि पसलमा काम गर्ने व्यक्ति पनि खान खान आइपुगेका थिए । यहाँ हरेक आइतबार साढे १० देखि साढे १२ बजेसम्म १० रुपैयाँमा खाना खुवाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad