भारतीय नागरिक भएको प्रमाणसहित महोत्तरीका एकजना वडाध्यक्षविरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको छ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको दाबीसहित कारबाही माग गर्दै स्थानीय हरिश्चन्द ठाकुरले जिल्ला प्रशासन कार्यालय (महोत्तरी)मा उजुरी दिएका हुन् ।

स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित चौधरी भारतको सीतामढी जिल्लाको सिरसिया बजारका बासिन्दा भएको उजुरीकर्ता ठाकुरकाे दाबी छ।
ठाकुरले प्रशासनमा पेस गरेका प्रमाणमा भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता सूचीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम छ।

फर्जी कागजात पेस गरेर नेपाली नागरिकतासमेत लिएका वडाध्यक्ष चौधरी सन् २०१९ मा सम्पन्न भारतकाे लोकसभा चुनावमा समेत भोट हालेकाे प्रमाणसमेत उजुरीकर्ताले ठाकुरले प्रशासनमा उपलब्ध गराएका छन्।
प्रशासनमा उजुरी दिएको झण्डै १ महिना हुँदा पनि कुनै कारबाही प्रक्रिया अघि नबढेको स्थानीय बासिन्दा ठाकुरको गुनासो छ। उजुरीकर्ता ठाकुर रामगोपालपुर नगरपालिका ८ का बासिन्दा हुन्।

यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रिले उजुरी परेको स्वीकार गर्दै त्यस विषयममा अनुसन्धान भइरहेकाे नेपालखबरलाई बताए।

यसअघि पनि वडाध्यक्ष भारतीय नागरिक रहेको भन्दै रामगोपालपुर नगरपालिका कार्यालयमा उजुरी परेको थियो।
नागरिकतासम्बन्धी कुनै प्रकारको अधिकार आफूसँग नभएकाले प्रशासनसँग अनुसन्धान गर्न आग्रह गरेको रामगोपालपुर नगरपालिकाका उपमेयर तथा न्यायिक समितिकी अध्यक्ष सीता साहले जानकारी दिइन्।

प्रतिक्रिया