समाज


टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ सुरु

टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ सुरु

नेपालखबर
फागुन १९, २०७६ सोमबार ३:१९,

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ सुरु भएको छ।

टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ।

बौडेश्वर माध्यमिक विद्यालय झोरबाट शुरु भएको कार्यक्रम टोखाका आठवटै सामुदायिक विद्यालयमा लागू हुने नगरपालिकाले जनाएको छ।

टोखाभित्र झोर महाँकाल मावि, बौडेश्वर मावि, चण्डेश्वरी मावि, धापासी मावि, तिलिङ्गाटार मावि, सरस्वती मावि, जालपा मावि र मनोहर मावि रहेका छन्। यी सामुदायिक विद्यालयमा चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन्।

खाजा कार्यक्रम शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन सुरु गरिएको बताए।

‘पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको छ, त्यसलाई बढाउनका लागि हामीले उक्त कार्यक्रम सञ्चालनमा ल्याएका हौँ,’ उनले भने।

टोखा नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिए।

‘दैनिक एक विद्यार्थी बराबर २५ रुपैयाँको खाजा वितरण गर्दै छौँ, दिवा खाजाका लागि नगरपालिकाले छुटाएको बजेट अपुग भए थप्दै लैजाने योजना छ,’ गौतमले भने।

टोखा नगरपालिकामा हाल आठ सामुदायिक विद्यालय, ८१ निजी विद्यालय, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad