कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ।
सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको आवतजावत तथा तस्करी रोकिएपछि भारतीय नागरिक तथा तस्कर समूहद्वारा नेपाली पक्षमाथि विभिन्न बहानामा पटक पटक आक्रमण प्रयास गरिएको हो। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
गत आइतबार मात्रै झापाको सीमावर्ती क्षेत्र गौरीगन्जमा भारतीय तस्करको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो। गौरीगन्ज गाउँपालिका–५ मा रहेको १५२ नम्बरको सीमास्तम्भ पूर्व मल्हाटोलनजिकै सिमानामा आवतजावतको विषयलाई लिएर सुरक्षाकर्मीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरीले तस्करलाई भगाउन चार राउन्ड हवाई फायर गरेको थियो।
त्यसको अघिल्लो दिन (शनिबार) सोही स्थानमै सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास भएको थियो । सशस्त्र प्रहरीका उपरीक्षक रेशमकुमार थक्सुका अनुसार सो क्रममा भारतीय तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका थिए।
घटनापछि स्थिति नियन्त्रणमा लिन शनिबारसमेत सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो। घरेलु हतियारसहित आएका उनीहरू त्यसपछि भागेका थिए । झापामा सीमामा खटिएका सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण हुँदै गएपछि दुवै देशका सुरक्षा निकायका अधिकारीबीच अवस्था साम्य बनाउने विषयमा पटक पटक छलफल हुँदै आएको छ।
झापाकै कचनकवल घेराबारीमा ३ जेठमा सुरक्षा पोस्टमा भारतीयहरूले आक्रमण गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । दुई सय बढीको संख्यामा आएका भारतीयले नेपालतर्फ खेती गरेका कारण आउन पाउनुपर्ने भन्दै सुरक्षा पोस्टमै आक्रमण गर्न खोजेका थिए।
यसैगरी, झापा गाउँपालिका–४ सुकुमबासी बस्तीनजिकै रहेको सीमा क्षेत्रमा समेत २२ वैशाखमा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएको थियो । सीमास्तम्भ १३१ नजिकबाट भारतीयहरू नेपाल प्रवेश गर्न लाग्दा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई भगाएको थियो । वैशाख अन्तिम सातासमेत कचनकवल गाउँपालिकामा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच विवाद भएको थियो।
ठोरीको सीता गुफामा तनाव, नेपालीले बनाएको सडक भत्काइयो
पर्साको ठोरीस्थित सीता गुफाभन्दा आठ मिटर पर डाँडामा रहेको नेपाल–भारत सीमास्तम्भ ४३६ उखेलेर फ्याँकिएपछि शनिबार दिनभर ठोरीको अवस्था तनावग्रस्त बनेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा भगवान् रामको जन्म भएको भन्दै अभिव्यक्ति दिएपछि सो क्षेत्रमा भरतीय सुरक्षाकर्मी बाक्लो संख्यामा तैनाथ छन् । सीमा स्तम्भ ढालिएकै स्थाननजिकै भारतीय सुरक्षाकर्मीले अहिले विवाद समाधानपछि अस्थायी सुरक्षा पोस्ट नै खडा गरेर बसेका छन्।
शनिबार दिउँसो उखेलिएको सीमास्तम्भ राति दुवै देशका सुरक्षाकर्मी र जनप्रतिनिधिको रोहबरमा गाडिएपछि स्थिति सामान्य बनेको स्थानीय बुद्धिजीवी प्रकाश खनालले जानकारी दिए।
त्यसअघि समेत ठोरीमा लकडाउनकै समयमा नेपाली पक्षले हुलाकी सडकअन्तर्गत ठुटेखोला पुल जोड्न बनाइएको सडक भारतीय पक्षले भत्काइदिएका थिए । सो क्रममा नेपाली पक्षले भारतीय सुरक्षाकर्मीसहित भारतीय नागरिकलाई नाराबाजी गर्दै लखेटेका थिए ।
यस्तै, सर्लाहीको फेनहारामा समेत भारतीय नागरिकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । अवैध रूपमा हुने सामान ओसारपसार रोकेको भन्दै भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।
त्यसैगरी, सुनसरी, नवलपरासी, कञ्चनपुर लगायतका ठाउँमा पनि भारतीय तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका छन्।
सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बाक्लो हुँदा तथा केही स्थानमा गैरकानुनी कामका लागि भारतीयहरू प्रवेश गर्न लाग्दा रोक्ने क्रममा झडपको प्रयास भएको बताए।
‘केही स्थानमा गैरकानुनी कामका लागि जबर्जस्ती आउन खोज्दा असहज अवस्था बनेको देखिन्छ भने केही स्थानमा नाता सम्बन्ध तथा खेतीपातीका कारण आउन लाग्दा समेत स्थिति नियन्त्रणमा लिन गाह्रो परेको अवस्था छ,’ सशस्त्र प्रहरीका प्रवक्ता श्रेष्ठले भने।
सशस्त्र प्रहरीले हाल भारततर्फको दक्षिण र चीनतर्फको उत्तरी सीमा नाकामा गरी १ सय २९ स्थानमा बिओपी राखेको छ। त्यसबाहेक कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सशस्त्रका १ हजार २ सय १२ अस्थायी चेक पोस्ट राखिएका छन्।

प्रतिक्रिया