छापा खबर


विज्ञ भन्छन् : नेपालमा कोभिडकै कारण मृत्यु हुने चार जना मात्रै, अन्य ४४ मा विविध समस्या

विज्ञ भन्छन् : नेपालमा कोभिडकै कारण मृत्यु हुने चार जना मात्रै, अन्य ४४ मा विविध समस्या

नेपालखबर
साउन १२, २०७७ सोमबार २३:५३,

कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म नेपालमा ४८ जनाको मृत्यु भएको छ।

उनीहरूमध्ये २७ जना दीर्घरोगी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जेठमा सिन्धुपाल्चोककी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा ३ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसयता ७२ दिनमा कोरोनाबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार साँझसम्म मृत्यु भएका ४८ जना कोरोना संक्रमितमध्ये २२ जना ५० वर्षभन्दा माथिका छन् । त्यस्तै, २६ जना ५० वर्षभन्दा कम उमेरका छन् । जसमा तीन बालबालिका पनि छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मृत्यु भएकामध्ये २७ जना गम्भीर प्रकारका दीर्घरोगी हुन् । उनीहरूमा मिर्गौलाको समस्या, क्यान्सर, अंग प्रत्यारोपित, फोक्सोको क्यान्सर, क्षयरोग, मधुमेह, उच्च रक्तचापजस्ता समस्या रहेको पाइएको हो।

मृत्यु भएकामध्ये सातजनामा श्वास–प्रश्वासको समस्या देखिएको छ । त्यस्तै, कोभिड–१९ बाट मात्रै चारजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु भएका १० जनामा कोरोना पुष्टि भए पनि कारण खुलेको छैन।

स्वास्थ्य मन्त्रालयका अनुसार औसत प्रत्येक दुई दिनमा एकजनाको मृत्यु भएको छ । मृतक व्यक्तिमा कोरोना पुष्टि भएपछि उनीहरूको मृत्युको प्रमुख कारक कोरोना हो वा अरू नै त्यसबारे कुनै गहन अध्ययन भएको छैन।

नेपालमा ४८ जनाको कोरोनाबाट मृत्यु भएको भनिए पनि प्रमुख कारण कोरोना नै हो भन्ने विषयमा गम्भीर प्रश्न खडा भएको अनुसन्धान वैज्ञानिक डा.सन्तोष दुलालले बताए । उनका अनुसार कोरोनाबाट मृत्यु भएकामध्ये ७३ प्रतिशतमा कुनै न कुनै प्रकारको ‘को–मोर्बिडिटिज’ देखिएको छ।

त्यस्तै, दीर्घरोगी नभए पनि हप्तौँ लगाएर भारतबाट हिँडेर आउँदा खाना, पानी र थकानको कारणले गर्दा उनीहरू पनि दीर्घरोगी जस्तै हुन पुगेका डा. दुलालको भनाइ छ। यस्तो अवस्थामा क्वारेन्टाइनमा बस्दा उनीहरूले ज्यान गुमाउनुपरेको उनले बताए।

‘मृत्युको कारक कोरोना नहुन सक्छ, मुख्य कारकतत्व दीर्र्घरोग र बढी थकान हुन सक्छ । दीर्र्घरोगले उनीहरू गम्भीर अवस्थामा थिए, थप कोरोनाले अझ बढी गम्भीर बनाइदियो । जसका कारण उनीहरूको मृत्यु भयो,’ डा. दुलाल भन्छन्, ‘यसले गर्दा सबैको मृत्यु कोरोनाले भएको भनेर दाबी गर्न सकिँदैन । कोरोना र अन्य रोगले मृत्यु गराउने सम्भावना के छ, त्यसलाई राम्रोसँग केलाउनुपर्छ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ५० वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिमा अन्य समस्या पाइएको छ । जसमध्ये २२ प्रतिशतमा मिर्गौलाको समस्या र अन्यलाई क्षयरोग, मुटु, मधुमेह, क्यान्सरको समस्या देखिएको छ।

त्यस्तै, ५० वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा ५५ प्रतिशत मात्र अन्य समस्या भएको पाइएको छ । डा.दुलालका अनुसार कोरोनाको पुष्टि भएका ५० वर्षभन्दा कम उमेरका व्यक्तिभन्दा ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा मृत्युको जोखिम करिब १२ गुणा बढी देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad