छापा खबर


टिचिङ अस्पतालको १८ करोड बैंक खाताबाटै गायब, हिनामिना भएको आशंका

टिचिङ अस्पतालको १८ करोड बैंक खाताबाटै गायब, हिनामिना भएको आशंका

नेपालखबर
साउन २९, २०७७ बिहिबार १:४४,

सर्वसाधारणको उपचारबापत त्रिवि शिक्षण अस्पताल महाराजगन्जले उठाएको १८ करोड रुपैयाँ बैंकबाटै गायब भएको छ ।

अस्पतालको बैंक मौज्दातमा १८ करोड नभेटिएको भन्दै महालेखाले प्रश्न उठाएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन सुरु गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

शिक्षण अस्पतालले तीन वर्षसम्म लेखापरीक्षण गराएको थिएन। आर्थिक वर्ष ०७३/७४ देखि ०७५र७६ सम्मको शिक्षण अस्पतालको लेखापरीक्षण एकैपटक भएको थियो ।

अस्पतालले विभिन्न बैंकका खातामा रहेको भनेको १७ करोड ९४ लाख ५८ हजार बैंकमा नभेटिएको महालेखाको ५७औँ प्रतिवेदनमा उल्लेख छ । तीन–तीन वर्षसम्म लेखापरीक्षण नगरिएकाले पनि रकम हिनामिना भएको हुन सक्ने आशंका त्रिभुवन विश्वविद्यालयका अधिकारीहरूको छ।

अस्पतालको अभिलेखमा हिमालय बैंकलगायतका बैंकहरूमा ९८ करोड २७ लाख ७५ हजार मौज्दात रहेको उल्लेख भए पनि महालेखाले ८१ करोड ८३ लाख ६७ हजार मात्रै फेलापारेको छ, १६ करोड ४४ लाख आठ हजार गायब छ ।

त्यस्तै, नेपाल बैंक लिमिटेडमा रहेका पाँचवटा खाता, नबिल बैंक लिमिटेड र हिमालय बैंकमा रहेका एक–एक खातामा पनि अस्पतालले भनेअनुसार रकम मौज्दात नभेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अस्पतालको स्रेस्ताअनुसार एक करोड ६२ लाख २० हजार बैंक मौज्दात हुनुपर्नेमा ११ लाख ७० हजार मात्र छ । एक करोड ५० लाख ५० हजार गायब छ ।

अस्पतालको १८ करोड गायब भएको विषयमा त्रिभुवन विश्वविद्यालयका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् । अस्पतालको रेकर्डमा बैंकमा जम्मा गरेको उल्लेख गरेर अनियमितता गरिएको हो वा कर्मचारीमा लेखाको ज्ञान नभएर समस्या देखिएको हो भन्ने विषयमा त्रिविले छानबिन गर्ने तयारी गरेको छ।

त्रिविले शिक्षण अस्पताललाई यस विषयमा स्पष्टीकरण सोधिसकेको छ । ‘बैंकमै रकम जम्मा नभएको विषयमा विस्तृत छानबिन नगरी वास्तविकता थाहा हुँदैन,’ त्रिविको आर्थिक प्रशासन महाशाखा प्रमुख कुमार हुमागाईंले भने, ‘अहिले प्रारम्भिक रूपमा स्पष्टीकरण सोधेका हौँ, अब समिति बनाएर विस्तृत छानबिन हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad