छापा खबर


यस्तो छ विप्लवको भूमिगत सञ्जाल

यस्तो छ विप्लवको भूमिगत सञ्जाल

नेपालखबर
साउन ५, २०७६ आइतबार १:२,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ।

सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ।

अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ।

२८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा संरचनामा चलेको विप्लव समूह अहिले अलग संरचनाका आधारमा चलेको छ।

‘समयानुकूल समूह संरचना हेरफेर गरी अनुकूलताका आधारमा संगठन निर्माण गरी हामी अगाडि बढिरहेका छौं’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ‘प्रतिबन्धपछि पार्टीले केही संरचना हेरफेर गरेको छ।’

उनका अनुसार देशभित्र ४ वटा कमान्ड, १२ वटा ब्युरोमार्फत समूहको गतिविधि चलेको खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन्।

समूहको माथिल्लो निकायमा ५ सदस्यीय स्थायी समिति छ। यो केन्द्रीय समिति रोल्पाको थवाङमा २०७३ फागुनमा सम्पन्न आठौं महाधिवेशनले चयन गरेको हो।

‘केन्द्रीय समितिको संख्या केही घटेको छ। केही नेता कार्यकर्ताले यस बीचमा समूह छोडेपछि जिम्मेवारी हेरफेर भएको हो’, ती नेताले भने।

सरकारले प्रतिबन्ध लगाउनुअघि १६ वटा ब्युरो थियो। तर सरकारी प्रतिबन्धपछि ब्युरो इन्चार्ज रहेका केही नेता निष्क्रिय र केही नेता पक्राउ परेपछि चैतको स्थायी समिति बैठकबाट ब्युरो संरचनामा हेरफेर गरेको हो।

त्यसबेलाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली (सुदर्शन) पक्राउ परेपछि बसेको स्थायी समिति बैठकले समूहको संरचनामा हेरफेर गर्दै युद्धकालीन संरचना निर्माण गरेको हो।

१६ बाट ४ वटा ब्युरोलाई अन्य ब्युरोमा गाभेर विप्लव समूहले १२ वटा ब्युरो बनाएको छ। यो संरचना गोप्य छ। प्रतिबन्धित समूहका कतिपय नेता–कार्यकर्तालाई देशभरका आन्तरिक संरचनाका विषयमा जानकारीसमेत छैन।

५ सदस्यीय स्थायी समितिमध्ये १ जना स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुर्दशन) जेलमा छन्।

अन्य ४ नेतामध्ये महासचिव विप्लवले सिंगो पार्टीको कमान्ड गरेका छन् भने अन्य तीन नेताले क्षेत्रीय कमान्डको जिम्मेवारी सम्हालेका छन्।

केन्द्रीय तहमै नेतृत्व (समूह महासचिव), स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति गरी चार तहको संरचना छ। त्यसपछि कमान्ड, कमान्डअन्तर्गत ब्युरो र ब्युरोअन्तर्गत जिल्ला कमिटी रहने गरी संरचना बनाइएको छ। विगतमा माओवादीले जस्तै युद्धकालीन संरचना बनाएर विप्लव समूहले गतिविधि अगाडि बढाएको छ।

पूर्वी कमान्डमा सन्तोष बुढामगर (विषम), मध्यकमान्डमा प्रवक्ताको जिम्मेवारीमा समेत रहेका खडकबहादुर विश्वकर्मा (प्रकाण्ड), मध्यपश्चिम कमान्डमा चन्द्रबहादुर चन्द (वीरजंग) र पश्चिम कमान्डमा धर्मेन्द्र बास्तोला (कञ्चन) ले जिम्मेवारी पाएका छन्।

यीमध्ये बुढा, विश्वकर्मा र बास्तोला समूह स्थायी समिति सदस्य हुन्। चन्द भने पोलिटब्युरो सदस्य हुन्। उनी महासचिव विप्लवका दाजु हुन्। यसअगाडि उनी लुम्बिनी ब्युरो इन्चार्ज थिए।

प्रत्येक कमान्डमा तीन–तीन वटा ब्युरो रहने गरी संरचना बनाइएको छ। पूर्वी कमान्डअन्तर्गत मेची–कोसी ब्युरो, सगरमाथा र जनकपुर ब्युरो छन्। मेची–कोसीमा अनु (उमा भुजेल), सगरमाथामा अधिकार (दीपेश राई) र जनकपुरमा सन्देश (सन्देश पौडेल) इन्चार्ज छन्। भुजेल पोलिटब्युरो सदस्य हुन् भने राई र पौडेल केन्द्रीय सदस्य।

प्रतिबन्धअघिसम्म विप्लव समूहले मेची–कोसीलाई अलग–अलग ब्युरो बनाएको थियो। कोसीका किरण राई (निसान) र मेचीका सुमन लिम्बू (पाथाङवा) दुवै निष्क्रिय भएपछि विप्लवले दुवै ब्युरोलाई एउटै बनाएर पोलिटब्युरो सदस्य भुजेललाई जिम्मा दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad