छापा खबर


सेनाको उदाहरणीय काम : कोरोना संक्रमितको शव व्यवस्थापनमा सैनिक महिला

सेनाको उदाहरणीय काम : कोरोना संक्रमितको शव व्यवस्थापनमा सैनिक महिला

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ०:४९,

नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला परिचालन गरेको छ । त्यसका लागि उनीहरूलाई विशेष तालिम पनि दिइएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शव दहनमा अभ्यस्त गराउन सेनाले उपत्यका पृतनामा कार्यरत सैनिक महिलालाई एक साताको तालिम दिइएको थियो । तालिममा सिपाही दर्जाका १० जना सहभागी थिए।

उनीहरूले ६ वटा शव दहन गरिसकेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

‘महिला सशक्तीकरणका लागि सेनाले गरेको यो एउटा नौलो प्रयोग हो,’ पौडेलले भने, ‘राष्ट्रका लागि आवश्यक हरेक क्षेत्रमा महिलाले उत्तिकै योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न खोजेका हौँ । यही कदमअन्तर्गत शव दहनमा महिला सैनिक प्रयोग गरिएको हो।’

नेपाली समाजमा व्याप्त अन्धविश्वासका कारण महिलालाई शव दाहसंस्कारमा कमै सहभागी गराइन्छ । सैनिक प्रवक्ता पौडेलले भने, ‘महिला र पुरुष बराबरी हुन् । शव दहनमा महिलाको प्रयोग यसैको एउटा विम्ब हो । नेपाली सेना यसरी नै प्रत्येक क्षेत्रमा सैनिक महिलालाई सशक्त बनाउन चाहन्छ।’

सातदिने तालिमका सहभागीलाई शव दहनका समुदायगत प्रक्रिया र संक्रमणबाट बच्ने सबै उपाय सिकाइएको छ । हिन्दू धर्ममा आस्था राख्ने समुदायका मृतकको शव पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शव दहन केन्द्रमा दाहसंस्कार गर्ने गरिएको छ।

यस्तै, बौद्ध धर्मावलम्बीहरूको शव स्वयम्भूस्थित घाटमा समाधिस्थ गरिन्छ । त्यसबाहेक इसाई, मुस्लिमलगायत धर्मावलम्बी समुदायका मृतकको शव उनीहरूकै परम्पराअनुसार दहन गर्न सैनिक महिलाले सघाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad