छापा खबर


राजावादीको भेलामा ज्ञानेन्द्रले भने- मलाई दलहरुले राजा बनाएको होइन, जनताले हटाएको पनि होइन

राजावादीको भेलामा ज्ञानेन्द्रले भने- मलाई दलहरुले राजा बनाएको होइन, जनताले हटाएको पनि होइन

नेपालखबर
पुस १, २०७७ बुधबार २:२,

‘मलाई दलहरुले राजा बनाएको होइन, जनताले हटाएको पनि होइन।’

निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुशमा जुट्न थालेका खबर आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकले छापेको छ।

राजतन्त्र पुनस्र्थापनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणालगायतका व्यक्तिहरु अहिले खुलेर अघि बढेको पाइन्छ।

गत शुक्रबार धवल समशेरहरुको भेटमा ज्ञानेन्द्रद्वारा आफूलाई दलहरुले राजा नबनाएको धारणाप्रति भने नेताहरुले कडा प्रतिक्रिया जनाएका छन्। दुई दशकअघि दरबार हत्याकाण्डपछिको राजसभा बैठकमा तत्कालिन एमाले र कांग्रेसले सदासयताकासाथ ज्ञानेन्द्रलाई नयाँ राजामा समर्थन गरेका थिए।

त्यतिबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव तथा विपक्षी दलका नेता माधवकुमार नेपालसमेतको उपस्थितिमा ज्ञानेन्द्रलाई राजा वीरेन्द्रको उत्तराधिकारी छनौट गर्ने प्रस्तावमा समर्थन जनाइएको थियो ।

राजसभामा कांग्रेसबाट सभामुख बनेका तारानाथ रानाभाटसमेतको सहभागिता थियो । त्यतिबेला दलहरूले सहमति नजनाएको भए उनी राजा हुनै नसक्ने विगततर्फ अलिकति ध्यान दिन दलहरूले पूर्व राजालाई सुझाएका छन् ।

दलका नेताहरू भन्छन् ‘४ वर्षअघि यौटा परिस्थितिमा दलहरूले राजा बनाएका थिए, जनताको चाहना र भावना यही हो भन्दै उनैद्वारा पुनस्र्थापित प्रतिनिधिसभाको बलमा फेरि दलहरूले राजाबाट हटाइदिए ।’ कसैले पनि जनसमर्थनको दुहाइ दिन नमिल्ने तीतो वास्तविकता के हो भने जनताको चाहनाबमोजिम सत्ता हातमा लिन बाध्य भएको दाबी गर्ने ज्ञानेन्द्रले छोरा पारशलाई युवराज घोषणा गर्दासमेत जनआक्रोशको डरका कारण दशैं बिदाको सहारा लिनुपरेको थियो । यसबाट पनि पुष्टि हुन्छ– जनमत कहिल्यै स्थायी हुँदैन ।

अहिले राजावादीहरू उग्र हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘युज एण्ड थ्रो’ को सिद्धान्तले समेत काम गरेको बताइन्छ । तीन वर्षअघिको आमनिर्वाचनमा झापामा राजेन्द्र लिङ्गदेनसँग तालमेल गरेर ओलीले आफ्नो जित सुनिश्चित गर्नुभएको थियो । त्यसअघिको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरको उपमेयरका निम्ति राप्रपाका राजाराम श्रेष्ठसँग तालमेल गरेर विद्यासुन्दर शाक्यलाई मेयरमा जिताइएकै हो । भलै, राजारामलाई हिस्स बनाएपछि त्यसको फाइदा काँग्रेसकी हरिप्रभा खड्गीले पाइन् ।

उतिबेला आफूमाथि घात भएपछि पनि राप्रपामा नै रहेका राजाराम उग्र कमल थापा बिरोधी हुन् । श्रेष्ठ राणाजस्तै ‘डाइहार्ड’ राजावादी बनेका छन् । नेपालगञ्जका मेयर धवलले यसबीच धेरैचोटी काठमाडौं आउँदै पूर्व राजा र उनी निकटस्थहरूसँग उठबस गरिसकेको बताइन्छ ।

राणा पछिल्ला दिनमा ज्ञानेन्द्रले पत्याएका थोरैमध्येको एक बनेका छन् । खुलेर कुरा गर्ने भएकाले पनि राजावादीहरूले धवल समशेरसँग बढी आशा गरेको बताइन्छ । पूर्व राजा ज्ञानेन्द्रले पनि चैतभित्र ठूलै उथलपथल हुने भएकाले धैर्यताका साथ आफ्नो कार्यक्रम अघि बढाउन राणालाई धाप मारेको कार्यकर्ताहरूको खासखुसमा सुनिन थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad