छापा खबर


गैरसांसदको रूपमा मन्त्री भएकाहरू यसरी गर्दैछन् शाही मन्त्रीकै शैलीमा स्वागत ग्रहण

गैरसांसदको रूपमा मन्त्री भएकाहरू यसरी गर्दैछन् शाही मन्त्रीकै शैलीमा स्वागत ग्रहण

नेपालखबर
पुस २६, २०७७ आइतबार ०:४८,

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गठन गरेको सरकारका ‘शाही मन्त्री’हरू स्वागत थाप्न र राजाको कमदको पक्षमा जनमत बनाउन देश दौडाहामा निस्केका थिए ।

उस्तै, झल्को दिनेगरी अहिले काम चलाउ सरकारका मन्त्रीहरू पनि देश दौडाहामा निस्केका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ भने केही नयाँ मन्त्रीहरू नियुक्त भएका छन् । कतिपय विघटित संसद्का सदस्य पनि छैनन् । उनीहरू अहिले देश दौडाहामा निस्केर शाहीमन्त्रीहरूजस्तै जिल्ला–जिल्लामा स्वागत थापिरहेका छन् । सँग–सँगै प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदमको बचाउ गर्दै भाषणा दिइरहेका छन्।

सिन्धुपाल्चोक २ ‘ख’ बाट प्रदेश सभाको चुनाव हारेका दावा तामाङ काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री बनेका छन् । उनले पनि शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा फूलमाला र खादाले स्वागत पाएका छन् ।

केही नेता र कार्यकर्ताको स्वागत थापे पनि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई लिएर गृहजिल्ला पुगेका तामाङलाई युवा संघ र अनेरास्ववियुले कालो झन्डा देखाएर विरोध जनायो। कोठेदेखि खाडीचौरसम्म मन्त्रीद्वयविरुद्ध नाराबाजी भएपछि बाटोमा कर्ही ओर्लेनन् ।

महिला, बालबालिका तथा ज्येष्ट नागरिकमन्त्री जुलीकुमारी महतो केही दिनदेखि गृहजिल्ला धनुषामा छिन् । २१ पुसमा जनकपुर आएकी मन्त्री महतोको स्वागतमा उनका श्रीमान् रघुवीर महासेठसहित कार्यकर्ताहरू जनकपुर विमानस्थल पुगेका थिए।

विमानस्थलमै एक सय एक किलोको फूलको मालाको स्वागत पाएर महतो दंग थिइन् । त्यसपछि उनी ओली समूहले जनकपुरस्थित प्रादेशिक कार्यालयमा आयोजना गरेको बृहत् जिल्ला कार्यकर्ता भेलामा सहभागी भइन् । त्यहाँ पनि उनलाई फूलमालाले स्वागत गरियो।

त्यसयता उनी आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको पुलको शिलान्यास, उद्घाटन तथा पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेकी छिन् । पाँच दिनमा मन्त्री महतोले धनुषा र महोत्तरीका ६ वटा पुलको शिलान्यास र चारवटा पुलको उद्घाटन गरेकी छिन्।

सहरी विकासमन्त्री भएपछि गृहजिल्ला पुगेका प्रभु साहलाई फूलमालाले स्वागत गरिएको छ । केही दिनयता जिल्लाका विभिन्न कार्यक्रममा सह भागी भइरहेका उनी स्वागत थाप्नमै व्यस्त छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएपछि गृहजिल्ला अर्घाखाँची पुगेका टोपबहादुर रायमाझीलाई नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । उनले अन्य मन्त्रीले जस्तो विरोधको सामना गर्नु परेको छैन।

नेकपा ओली समूहको राम्रो प्रभाव रहेको अर्घाखाँचीमा मन्त्री रायमाझीको स्वागत गर्न मोटरसाइकल ¥याली निकालिएको थियो । उनी जिल्लाका ६ वटै स्थानीय तहमा पुगेका छन् । स्थानीय तहमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनको भव्य स्वागत गरिएको छ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले मन्त्री नियुक्त भएपछि पहिलोपटक गत १७ पुसमा गृहजिल्ला डोटी पुगे। सिलगढी पुग्दा मन्त्री आलेको गाडीको पछाडि दर्जनभन्दा बढी गाडीको लस्कर थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी पनि यतिवेला गृहजिल्लामा छन् । उनी जिल्लाका विभिन्न कार्यक्रममा स्वागत थापिरहेका छन् ।

बुधबारबार भने उनकै निर्वाचन क्षेत्रमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालोझन्डा देखाएका छन् । भजनी नगरपालिका जाने क्रममा पूर्व–पश्चिम राजमार्गको घोडाघोडी नगरपालिकास्थित सुक्खड बजारमा कालोझन्डा देखाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad