छापा खबर


जहाँ चल्छ छुट्टै सरकार !

जहाँ चल्छ छुट्टै सरकार !

नेपालखबर
साउन २१, २०७६ मंगलबार २:५९,

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकास्थित मैकोटमा साधारण काम गर्ने मजदुरले खानपानसहित दिनको ३ सय ५० रुपैयाँ ज्याला पाउने भएका छन्।

सुक्खा काम गरेमा दैनिक ५ सय रुपैयाँ ज्याला निर्धारण गरिएको छ। त्यसभन्दा कडा काम गर्नेले खानपानसहित ५ सय रुपैयाँ पाउनेछन्।

मैकोटमा खाद्यान्न खरिदबिक्रीको पनि मूल्य निर्धारण गरिएको छ । प्रतिमाना मकै २५, गहुँ ४५ र जौ २५ रुपैयाँका दरले बिक्री गर्नुपर्ने नियम बनाइएको छ।

लोकल कुखुरा प्रतिकिलो १ हजार २ सय, राँगा, भैंसी र बंगुरको मासु प्रतिकिलो ५ सय, खसी, बोका र भेडाकोमासु प्रतिकिलो १ हजार रुपैयाँमाकिनबेच गर्नुपर्नेछ।

पुथा उत्तरगंगा–१ र २ वडाको मैकोटमा जुवातास खेलेमा जरिवाना गर्नेदेखि विकास निर्माण के कसरी गर्ने भन्ने निर्णय पनि गाउँलेले गरेका छन् । यस्तो निर्णयमा गाउँपालिका र वडाको कुनै भूमिका छैन।

यहाँ गाउँलेको दुईदिने बर्खे अधिवेशनले हिउँदेसम्मका लागि हरेक क्षेत्रको दर कायम गरेको हो।

अधिवेशनले विकास निर्माण र शान्ति सुरक्षा कायम गराउन विभिन्न २३ वटा निर्णय पारित गरेको छ। यो खबर आजको कान्तिपुरमा हरि गौतमले लेखेका छन्।

वडा र गाउँपालिकासभा सम्पन्न भएको झन्डै दुई सातापछि गाउँलेको छुट्टै बर्खे अधिवेशन सञ्चालन भएको थियो । मैकोटमा बर्खे र हिउँदे अधिवेशन आयोजना गर्ने पुरानै चलन हो । उनीहरूले यो चलनलाई निरन्तरता दिँदै आएका छन्।

यस पटकको अधिवेशनले परम्परादेखि चल्दै आएका रीतिरिवाज, चालचलनलाई निरन्तरता र परिमार्जन गर्ने निर्णय गरेको छ।

गाउँमा कसैको मृत्यु भएपछि मलामी जाँदा वा बसी लाग्न जाँदा बाहिरबाट जाँडरक्सी लिन नपाइने तथा गाउँमा कुकुर छाडा छाडेपछि जसले पनि मार्न पाउने निर्णय अधिवेशनबाट गराइएको छ।

‘यहाँ बर्खे र हिउँदे अधिवेशन सञ्चालन हुन्छन् । हामीले भर्खरै बर्खे सकेका छौं,’ स्थानीय अमरधन पुन मगरले भने, ‘पुस्तौंदेखि चल्दै आएको रीतिथितिअनुसार अधिवेशन गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad