छापा खबर


एलएलएम प्रवेश परीक्षाको नतिजा एक हप्तामै यसरी उल्ट्याइयाे

एलएलएम प्रवेश परीक्षाको नतिजा एक हप्तामै यसरी उल्ट्याइयाे

नेपालखबर
साउन २९, २०७६ बुधबार १:२०,

मास्टर अफ ल (एलएलएम) को प्रवेश परीक्षा दिएका साढे तीन सय विद्यार्थीको नतिजा एक हप्तामै उल्टिएको छ।

त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयले भर्नाको तयारी गरिरहेका विद्यार्थीको नतिजा उल्ट्याएको हो।

डिन कार्यालयले १८ साउनमा सार्वजनिक गरेको पहिलो नतिजामा ५९.८३ प्रतिशत ल्याएर १३४ नम्बरमा रहेकी प्रकृति मल्लको नाम २६ साउनको दोस्रो नतिजामा ८४.८३ प्रतिशतसहित १ नम्बरमा निस्किएको छ।

पहिले १ नम्बरमा नाम निकालेका गिरिराज अर्याल भने अहिले तेस्रो नम्बरमा पुगेका छन्। यो खबर आजको नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन्।

पहिलो नतिजामा ४६.३३ प्रतिशत प्राप्त गरी २९१ नम्बरमा रहेका विद्यार्थीको अहिले ८२‍‍.३३ प्रतिशतसहित २ नम्बरमा नाम निस्किएको छ । पहिलो सूचीमा ७७ प्रतिशत ल्याई ९ नम्बरमा नाम निकालेका सुरज सेजुवाल अहिले ७८ प्रतिशतसहित ८ नम्बरमा आएका छन्।

पहिलेको सूचीमा २९८ नम्बरमा रहेका सुवास भण्डारीको नाम दोस्रो सूचीमा २२ नम्बरमा छ । पहिले ६७ नम्बरमा रहेकी यमुना सिंखडा अहिले ५८ नम्बरमा छिन् । त्यस्तै, पहिले ७७ नम्बरमा रहेकी प्रवीणा कटुवालको नाम पछिल्लो सूचीमा ६७ नम्बरमा छ । ११० नम्बरमा रहेकी सुजना कोइरालाको नाम अहिले १०२ नम्बरमा निस्किएको छ । त्यस्तै पहिले ११२ नम्बरमा रहेका सबिन तामाङ अहिले १०७ मा तानिएका छन्।

नतिजा नै उल्टिँदा कतिपय विद्यार्थी भर्ना अभियानबाटै बाहिरिएका छन् । पहिलो सूचीमा ९७ नम्बरमा नाम निकालेकी श्वेता रानाभाट दोस्रो सूचीमा १८२ नम्बरमा धकेलिएकी छिन् । त्रिविको आंगिक नेपाल ल क्याम्पसमा ८५ जना र सम्बन्धनप्राप्त नेसनल कलेजमा ५० जनाले मात्र भर्ना पाउँछन् । मंगलबार नेपाल ल क्याम्पस पुगेकी रानाभाटले भर्ना तयारीमा लागिरहेका वेला नतिजा उल्ट्याउँदा अवसरबाटै वञ्चित भएको बताइन्।

अर्का विद्यार्थी सोहन श्रेष्ठको पनि उस्तै अवस्था छ । पहिलो सूचीमा ३८ नम्बरमा नाम निकालेका श्रेष्ठको नाम दोस्रो सूचीमा २९७ नम्बरमा पुगेको छ । पहिले १ नम्बरमा नाम निकालेर अहिले तेस्रो नम्बरमा धकेलिएका गिरिराज अर्यालले डिन कार्यालयबाट ठूलो धोका भएको भन्दै गुनासो गरे । एलएलएम प्रवेश परीक्षामा कोटाभित्रै नाम निस्किएपछि भर्ना अभियानमा लागेका विद्यार्थी निराशसँगै आक्रोशित पनि भएका छन् ।

डिन कार्यालयले भने पहिले सार्वजनिक सूचीमा चित्त नबुझेको भन्दै केही विद्यार्थीले उजुरी दिएपछि कम्प्युटरमा हेर्दा नतिजा नै फरक भेटिएको र त्यसैअनुसार दोस्रोपटक सूची सार्वजनिक गरेको दाबी गरेको छ । तर, विद्यार्थीले भने कम्प्युटरमा त्रुटि रहेको बहाना देखाएर अनियमितता भएको आरोप लगाएका छन्।

डिन कार्यालयमा ताला अख्तियारमा उजुरी
नतिजा उल्टिएपछि आक्रोशित विद्यार्थीले कानुन संकायको डिन कार्यालय र परीक्षा शाखामा ताला लगाएका छन् । प्रवेश परीक्षामा अनियमितता भएको र पारदर्शी नभएको भन्दै ताला लगाएका हुन् । अनेरास्ववियुका क्याम्पस कमिटी सहसचिव निश्चल वाग्लेले प्राविधिक त्रुटिभन्दा पनि धेरै फेरबदल भएकाले अनियमितताको आशंका भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad