छापा खबर


नेताहरुले आश्वासन मात्रै दिए, नेकपामा नवप्रवेशी भूमिकाविहीन

नेताहरुले आश्वासन मात्रै दिए, नेकपामा नवप्रवेशी भूमिकाविहीन

नेपालखबर
साउन २९, २०७६ बुधबार २:५३,

झन्डै दुईतिहाइ बहुमतका साथ चुनाव जितेको नेकपामा अरू पार्टीबाट प्रवेश गर्नेको ताँती चलिरहेकै छ।

एकता भएको एक वर्ष भइसक्दा पनि नेकपाले आन्तरिक सांगठनिक व्यवस्थापन गर्न सकेको छैन।

नवप्रवेशीलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरिरहेका छन्।

पछिल्लो समयमा भने नवप्रवेशीहरूले भूमिका नपाएको गुनासो गर्न थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन्।

प्रतिबन्धित नेकपाको पोलिटब्युरो छाडेर सत्तारुढ दल प्रवेश गरेका पदम राईले नयाँ दलमा कुनै जिम्मेवारी पाएका छैनन् । १९ जेठमा नेकपा प्रवेश गरेका राईले पोलिटब्युरो सदस्य र प्रदेश नम्बर एकको सह–इन्चार्जको आश्वासन पाएका थिए । प्रचण्डले राईलाई भूमिका दिनेमा कुनै कन्जुस्याइँ नगरिने अमूर्त वाचा गरेका थिए।

‘प्रवेश गर्दा एकसरो दुवै अध्यक्षसँग भेटेको थिएँ, दोहोर्याएर भेटेको छैन,’ राईले भने, ‘मेरो बानी नै दबाब दिने खालको छैन । खै, अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन।’

राई ०६४ सालमा अन्तरिम व्यवस्थापिकामा पनि सांसद थिए भने गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भौतिक योजना राज्यमन्त्री भएका थिए।

२० असारमा नवगठित समाजवादी पार्टी त्यागेर सत्तारुढ नेकपा प्रवेश गरेका कल्पना धमला र देवेन्द्र पराजुलीले पनि केन्द्रीय समिति सदस्यको आश्वासन पाएका थिए । उनीहरू ६० जना नेता–कार्यकर्तासहित नेकपा प्रवेश गरेको घोषणा गरिएको थियो।

‘अध्यक्ष प्रचण्डले तपाईंसरहका साथीको जत्तिको भूमिका दिइन्छ भन्नुभएको थियो,’ पराजुलीले भने, ‘तर अहिलेसम्म भूमिका पाएको छैन।’ पराजुली जनयुद्धकालीन अखिल (क्रान्तिकारी) को अध्यक्ष हुन् भने धमला डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा विज्ञान प्रविधिमन्त्री थिइन्।

७ माघमा कांग्रेसबाट नेकपा प्रवेश गरेका पूर्वसांसद तथा चितवन जिल्लाका पूर्वसभापति तीर्थ भुसाललाई प्रदेश कमिटीमा राख्ने आश्वासन अध्यक्ष प्रचण्डले नै दिएका थिए, तर पार्टी प्रवेश गरेको ६ महिनासम्म पनि उनी भूमिकाविहीन छन्।

‘भुसालजीलाई प्रदेश कमिटीमा राख्न सकेनौँ,’ नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारले भने, ‘अब प्रदेश परिषद् वा सल्लाहकार समितिमा राख्न सिफारिस गरेका छौँ।’

भुसाल ०५१ सालको निर्वाचनमा कांग्रेसबाट चितवनमा निर्वाचित भएका थिए । १३ साउनमा नेकपा प्रवेश गर्ने कांग्रेस पूर्वसांसद ओमदेवी मल्ल पनि अहिले जिम्मेवारीविहीन छिन्।

नेकपा महासचिव विष्णु पौडेल पनि विभिन्न पार्टीबाट आउने नेता–कार्यकर्तालाई जिम्मेवारी दिन नसकेको स्विकार्छन् । ‘पार्टीभित्रैका साथीले पनि भूमिका पाउनु भएको छैन’ पौडेलले भने, ‘नवप्रवेशीलाई पार्टीभित्र उचित भूमिका दिइनेछ, त्यसमा कन्जुस्याइँ हुँदैन।

केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नेको मात्रै नेकपाले रेकर्ड राखेको छ । पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भएयता मात्रै ३ हजार ५ सयदेखि ४ हजारसम्म नेता कार्यकर्ता प्रवेश गरेको नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए। ‘हामीले केन्द्रीय कार्यालयबाट प्रवेश गर्नेको मात्रै रेकर्ड राखेका छौँ, अध्यक्षद्वयनिवास र जिल्लाबाट प्रवेश गर्नेको तथ्यांक हामीसँग छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad