नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुलमा आज (बुधबार) बिहान ४ बजे ट्रक ठोक्किँदा भाँचिएकाे हो।
पुल भाँचिएकाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुल करिब दुई मिटर तल लच्किएको छ।
यसले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको प्रहरी निरीक्षक अधिकारीले बताए।
‘ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको छ,’ उनले भने, ‘ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुनेछ।’
बिहान पुलमा क्षति पुगेपछि अहिले यात्रुवाहक बससमेत रोकिएका छन्। प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई पनि यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटो निर्माण गर्न भनिएको छ।
बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ। साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।

प्रतिक्रिया