छापा खबर


किसानको साथी गाइने किरा यसकारण पर्दैछ सङ्कटमा

किसानको साथी गाइने किरा यसकारण पर्दैछ सङ्कटमा

नेपालखबर
साउन २९, २०७६ बुधबार २:१८,

पानीका स्रोत र मुहान प्रदूषित हुँदा दुर्लभ गाइने किरा सङ्कटमा परेको छ।

विशेषगरी काठमाडौँ उपत्यकाको उत्तरी भेग र नेपालको पूर्वी भेगमा पाइने ‘रिलिक्ट हिमालयन ड्र्यागनफ्लार्ई’ नामक गाइने किरा सङ्कटमा परेको हो।

यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

“कालो शरीरमा पहेँला थोप्ला र सुनौला पखेटा भएको यो दुर्लभ किरा हो तर पानी दूषित हुँदै जाँदा सङ्कटमा परेको छ,” अध्ययनकर्ता भैया खनालले भने, “यो किरा प्रदूषणको सिकार भएको हो।”

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको अमूल्य सम्पत्ति भए पनि यसको संरक्षण र अध्ययनमा त्यति ध्यान नगएको उनले बताए।

स्वच्छ पानीमा हुर्कने यस जीवको अस्तित्वमा मानव उत्पादित फोहोरले असर पारेको खनालको भनाई छ।

“नदीमा सीधै फ्याँकिने मानवनिर्मित ढल र फोहोरका कारण नदी प्रदूषित भएसँगै मुहानसमेत प्रदूषित हुन थालेकाले यसको प्रजननसँगै हुर्काइमा सीधा असर परेको छ,” खनालले भने।

पानी प्रदूषित भएकै कारण किरा सफा पानीको खोजी गर्दै अन्यत्र पलायन हुन्छ । यतिमात्र होइन, बढ्दो मानव जनसङ्ख्याको चाप, वन अतिक्रमण, माटोको गुणस्तरमा ह्रास, सहरीकरण, धुलो र धुवाँले यसको बासस्थानमा असर गर्दै गएकाले संरक्षणका लागि थप अध्ययन र सचेतना जरुरी रहेको खनालको भनाइ छ।

वातावरणविद्का अनुसार पोथी ड्र्यागनफ्लाईले पानी नजिकका बिरुवामा फुल पार्छ र फुलबाट बच्चा निस्केपछि सोझै पानीमा झरेपछि थप विकास हुन्छ । करिब छ वर्षको हुर्काइमा झन्डै चार–पाँच वर्ष यसले पानीमा बिताउँछ ।

हुर्किएको लार्भा बिरुवाको पातमा बस्छ र केही समयमा ड्र्यागनफ्लाई बनेर उड्छ । “हुकाईको समय लामो भए पनि वयष्क भएपछि भने यो जम्मा दुई महिना बाँच्छ, अहिलेको समय वयष्क ड्र्यागनफ्लाई देखिने समय हो,” खनालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad