छापा खबर


जननिर्वाचित संसदको हुर्मत लिने प्रधानमन्त्री ओलीको प्रवृत्ति मुख्यमन्त्री गुरुङले पनि दोहोर्‍याए

जननिर्वाचित संसदको हुर्मत लिने प्रधानमन्त्री ओलीको प्रवृत्ति मुख्यमन्त्री गुरुङले पनि दोहोर्‍याए

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार १:१०,

प्रदेश सभामा अल्पमतमा परेपछि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि ‘ओली प्रवृत्ति’ पछ्याएका छन् । अविश्वासको प्रस्ताव आउने पक्का भएपछि उनले जारी संसद् अधिवेशन बुधबार रातारात अन्त्य गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि गत ५ पुसमा संविधानविपरीत संसद् विघटन गरेका थिए । आलोचना खेप्नुपर्ने त्रासमा उनले २६ पुसमा राष्ट्रिय सभाको चालू अधिवेशन पनि दुई दिनमै अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । त्यसअघि गत असारमा पनि उनले पद धरापमा पर्ने आशंकाकै आधारमा हठात् प्रतिनिधिसभाको बर्खे अधिवेशन अन्त्य गरेका थिए ।

प्रधानमन्त्री ओलीकै पदचाप पछ्याउँदै मुख्यमन्त्री गुरुङले प्रदेश सभामुख, विपक्षी दलका नेता, संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरूलाई पत्तै नदिई रातारात संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

 प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका छन्।

कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने समझदारी बुधबार नै गरिसकेका थिए । बिहीबार प्रस्ताव दर्ता गर्ने तयारी थियो । सरकार ढल्ने पक्का भएपछि मुख्यमन्त्री गुरुङले हठात् संसद् अधिवेशन अन्त्य गरे।

अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयको पत्र भने बिहीबार बिहान १०ः३० बजे मात्रै प्रदेश सभा सचिवालयमा पुगेको थियो । प्रदेश सभाको हिउँदे अधिवेशन गत २५ चैतदेखि सुरु भएको थियो । यसअघि ६ वैशाखमा बस्ने गरी २७ चैतको बैठक सकिएको थियो।

अविश्वासको प्रस्ताव छल्न सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि विपक्षी गठबन्धनले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन गरेका छन् । जसमा कांग्रेसका १५, माओवादीका ११ र जसपाका दुई गरी २८ सांसदको हस्ताक्षर छ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेश सभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले प्रदेश प्रमुखसमक्ष लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

यस्तो माग भएको कति दिनभित्र अधिवेशन बोलाउने भन्ने संविधानमा स्पष्ट उल्लेख नभए पनि १५ दिनभित्र बोलाउने प्रचलन छ । संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सांसदहरू विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

प्रदेश सभाको चालू अधिवेशन हठात् अन्त्य गर्ने कदम ‘ओली प्रवृत्ति’कै पुनरावृत्ति भएको टिप्पणी गर्दै एमालेबाहेकका दलहरूले जालझेल र षड्यन्त्रलाई परास्त गर्ने प्रतिक्रिया दिएका छन्।

‘लोकतान्त्रिक मूल्य–मान्यतालाई मिचेर रातारात प्रदेश सभाको अधिवेशन अन्त्य गर्नु कायरताको पनि पराकाष्ठा हो । यो कदम भत्र्सनायोग्य छ,’ कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, ‘मुख्य कुरा केपी ओली र उहाँका मान्छेहरूमा आफू जसरी पनि सत्तामा टिकिरहनुपर्छ भन्ने मानसिकता देखिन्छ । सत्ता छोड्ने कुरामा कुनै पनि हालतमा उहाँहरू तयार नभएको यसले पुष्टि गर्छ।’

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले गण्डकी प्रदेशमा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको टिप्पणी गरे । ‘अविश्वासको प्रस्ताव आउने भएपछि अधिवेशन नै अन्त्य गर्ने कुरा कुनै पनि कोणबाट तर्कसंगत र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूपको होइन । यो केपी प्रवृत्तिबाट प्रशिक्षित मानिसहरूले अपनाएको जालझेलको बाटो हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .