छापा खबर


नेपालमा तीव्र बनेको कोरोना भाइरस पुरानो हो कि नयाँ भेरियन्ट?

नेपालमा तीव्र बनेको कोरोना भाइरस पुरानो हो कि नयाँ भेरियन्ट?

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १:३९,

छिमेकी भारतसँगै नेपालमा कोभिड– १९ को संक्रमण तीव्र गतिमा फैलिएको छ । अहिले गत वर्षकै भाइरस फेरि फैलिएको हो कि यो नयाँ ‘भेरियन्ट’ हो भन्नेमा सर्वत्र जिज्ञासा छ ।

भेरियन्ट पहिचान गर्न सरकार, विश्वविद्यालय तथा गैरसरकारी संस्थासँग ६ मेसिन भए पनि उपयोग गरिएको छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

कोभिड– १९ को नयाँ भेरियन्ट हो कि होइन भनेर निश्चित गर्ने ‘जिनोम सिक्वेन्सिङ’ गर्न नेपालमा तीन मेसिन पहिले नै जडान भएका छन् । विधि विज्ञान प्रयोगशाला नास्टमा एक र सेन्टर फर डायनामिक नेपालसँग यस्ता दुई उपकरण थिए।

त्यस्तै जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुर र धुलिखेल अस्पतालमा नयाँ उपकरण आएको छ । त्यति मात्र होइन, विश्व स्वास्थ्य संगठनको अनुदानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि नयाँ ‘सिक्वेन्सिङ’ मेसिन आएको छ । तर आश्चर्य, यत्रो महामारीबीच पनि यी कुनै पनि उपरकण प्रयोग गरिएको छैन।

जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुरमा दाताको दुई करोड सहयोगमा एक महिनाअगाडि नै सिक्वेन्सिङ मेसिन जडान गरिएको छ । तर, जनशक्ति अभाव भन्दै मेसिन प्रयोगविहीन छ।

पछिल्लो तीन महिनामा तीन मेसिन ल्याइएको छ । तर, स्वदेशमै भएका उपकरण चलाउनुको सट्टा सरकारले नमुना हङकङ पठाउने गरेको छ । एक महिनाअघि पठाइएको नमुनाले नयाँ भेटियन्ट पुष्टि गरेको थियो । त्यसयता १५ नमुना पठाइएको रिपोर्ट अझै आएको छैन।

‘अहिले फैलिएको भाइरसको वास्तविक स्वरूप के हो, यो कति संक्रामक र घातक छ, अन्य देशको भाइरससँग मिल्छ वा मिल्दैन भन्ने जान्न र त्यहीअनुसार रणनीति बनाउन यी उपकरण अत्यावश्यक हुन्छन्,’ जनस्वास्थ्य वैज्ञानिक डा.समीरमणि दीक्षित भन्छन्, ‘तर, यसमा न सरकारको आफ्नै अग्रसरता छ, न गैरसरकारी क्षेत्रले गरेको प्रयासलाई हौसला छ।’

नेपालमा संक्रामक रोगको परीक्षण गर्ने सबैभन्दा ठूलो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु हो । नयाँ संक्रमण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले ६० लाख रुपैयाँको लगानीमा यो प्रयोगशालालाई जिन (आनुवंशिक) सिक्वेन्सिङ मेसिन दिएको हो, तर जनशक्ति नभएकाले उपकरण चलेको छैन ।

‘मेसिन त आइपुगेको छ, तर जिन सिक्वेन्सिङ गर्न सक्ने जनशक्ति अहिले छैन, त्यसैले उपकरण सञ्चालन गरिएको छैन,’ प्रयोगशालाकी निर्देशक डा। रुणा झाले नयाँ पत्रिकासँग भनिन् ।

यत्रो अन्तर्राष्ट्रिय आपत्मा पनि नयाँ जनशक्ति खोज्न, काममा लगाउन र सहयोग लिन सरकारले पहल गरेको छैन । ‘उपकरण चलाउने हो भने जनशक्ति भर्ना गर्न सकिन्छ, तर बजारमा पनि धेरै जनशक्ति छैन । तैपनि मान्छे खोजेर उपकरण चलाउने प्रयासमा छौँ,’ उनले भनिन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको उपकरण केही दिनमा सञ्चालनमा आउने दाबी गर्छन् । ‘अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि सिक्वेन्सिङ मेसिन आइसकेको छ । जडान गर्न बाँकी छ । केही दिनभित्रै सञ्चालनमा आउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .