छापा खबर


एमसिसी पास गरेर अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई खुसी पार्ने दाउमा प्रधानमन्त्री

एमसिसी पास गरेर अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई खुसी पार्ने दाउमा प्रधानमन्त्री

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ३:१९,

प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन्।

ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई बिजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले बिजनेस नदिईकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ। यो खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेकी छन्।

संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लगायत विषयलाई सभामुखले अड्काएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा सभामुखले एमसिसी अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा पेस नगर्नु संविधानविपरीत भन्दै आलोचना गरे।

बैठकमा एमसिसी सदनबाट पास गर्नुपर्ने विषय आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले विरोध गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने उनीहरूले गरेको विरोधप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन राष्ट्रिय राजनीतिको मुख्य विषय बनेको विवादास्पद एमसिसीलाई पारित गर्ने तयारीमा देखिएका छन् । सर्वदलीय बैठकमा ओलीले एमसिसीलाई प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकको अजेण्डा बनाउनुपर्ने विषयमा विशेष जोड दिए।

संसद्बाट एमसिसी पास गराएर अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई खुसी पार्ने र सत्ता टिकाउने दाउमा प्रधानमन्त्री ओली रहेको स्रोतको दाबी छ।

‘अहिलेको राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको छ, त्यसबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ, सरकार राष्ट्रियताको सबालमा स्पष्ट छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता झलनाथ खनाल र माधव नेपाल, जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी भएनन्।

प्रधानमन्त्रीले सर्वदलीय बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन गर्नसमेत प्रस्ताव राखेका थिए । उपनिर्वाचनका विषयमा कांग्रेसले भदौमा पार्टीको महाधिवेशन हुने भएकाले त्यसअघि गर्ने विषयमा विचार गर्न आग्रह गरेको थियो।

बैठकपछि कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसिसी कांग्रेस नेतृत्वको तत्कालीन सरकारकै पालामा आएकाले यो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरूले राखेको बताए।

बैठकमा कांग्रेसबाट सभापति देउवा, नेता पौडेल, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनी, नेमकिपाबाट प्रेम सुवाल र जनमोर्चाबाट दुर्गा पौडेल सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .