छापा खबर


पुतलीबाट सर्ने सापु रोग, जसले यसरी नष्ट गर्छ आँखाको ज्योति

पुतलीबाट सर्ने सापु रोग, जसले यसरी नष्ट गर्छ आँखाको ज्योति

नेपालखबर
साउन ३२, २०७६ शनिबार ३:५६,

वर्ष बिराएर सयौं जनाको आँखाको ज्योति नष्ट गरिसकेको सापु रोगको मौसम आउनै लागेको छ। सतर्क हुनुहोस् है!

यस रोगको संक्रमणले आँखाको ज्योति पूरै गुम्न सक्छ। हरेक वर्ष बिराएर प्रकोपको रूप लिने यो रोग भदौदेखि सुरु हुने चिकित्सक बताउँछन्।

‘गत वर्ष सापु फैलिएन, यो वर्ष फैलिने वर्ष हो, बेलैमा सचेत हुन आवश्यक छ,’ तिलगंगा आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. अनु मानन्धरले भनिन्। डा. महर्जनका अनुसार यो रोग भदौदेखि कात्तिकसम्म बढी देखिन्छ भने अरू महिना फाट्टफुट्ट। यो रोग फैलिने वर्ष भएकाले अस्पताल उपचारका लागि तयारी अवस्थामा छ।

सापु संक्रमितमध्ये ५० प्रतिशतको आँखाको ज्योति गुम्ने गरेको छ। नेपालमा यस रोगले तीन सयजना भन्दा बढीलाई असर गरिसकेको छ। यो जानकारी आजको नागरिक दैनिकमा पवित्रा सुनारले प्रस्तुत गरेकी छन्।

‘हामी तयारी अवस्थामा छौं,’ उनले भनिन्। यस रोगले २०७४ सालमा प्रकोपको रूप लिएको थियो। यो रोग नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र काठमाडौंमा बढी मात्रामा देखिने गरेको उनी बताउँछिन्। खासगरी पहाडी क्षेत्रमा बढी, तराई र हिमाली जिल्लामा कम मात्रामा यो रोग देखिन्छ।

के हो सापु रोग?
सापु आँखाको ज्योति नै नष्ट गर्ने रोग हो। सेतो पुतली (मोथ) छोएको हात या अन्य कुराले आँखा छोए आँखाभित्र कीटाणु संक्रमण गर्छ। सो संक्रमित कीटाणुको छिटो उपचार नगरे आँखाको दृष्टि नै गुम्छ। खेतबारीमा पाइने सेतो रङमा कालो धर्सा मिसिएको पुतलीले यो रोग ल्याउँछ। पुतलीबाट सर्ने यो कीटाणु स्टटोकोसनिमोनी स्टाफओरियन्स हो। यही कीटाणु संक्रमण भयो भने आँखाको ज्योति गुम्छ। तर कतिपय अवस्थामा सो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने भएकाले हालसम्म यस रोगको खास कारण यही हो भनेर पत्ता नलागेको चिकित्सक बताउँछन्।

नेपालमा यस रोगको अवस्था
चिकित्सकका अनुसार नेपालमा यस रोगबारे जनचेतना नहुँदा हरेक वर्ष दर्जनौंको आँखाको दृष्टि गुम्ने स्थिति देखिन्छ। नेपालमा भदौदेखि कात्तिकसम्म सो पुतली देखिन्छ। तिलगंगामा दुई वर्षअघि यो रोग लागेका बिरामी ३५ जना आएका थिए। सो वर्ष प्रकोप थियो।

हरेक प्रकोपमा सापु संक्रमितमध्ये ५० प्रतिशतको आँखाको ज्योति गुम्ने गरेको डा. मानन्धर बताउँछिन्। सापुले नेपालमा हालसम्म तीन सयजना भन्दा बढीलाई असर गरिसकेको छ। संक्रमित कतिपय उपचारमा पुग्न सकेकै हुँदैनन्। यो रोग अन्यको तुलनामा बालबालिकामा बढी देखिन्छ। यो रोग ५० प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा देखिन्छ। नेपालमा यो रोग २०३२ सालदेखि देखा परेको हो।

यो रोग लागेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नपाए आँखाको दृष्टि गुम्ने सम्भावना बढी हुन्छ। रोग लागिसकेपछि आँखा रातो हुने तर चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसकिने, आँखा चिम्लेर बस्नु पर्नेजस्ता समस्या देखिन्छन्। ठूला मानिसमा संक्रमण भए आँखा दुख्ने र हेर्न नसकिने डा. मानन्धरको भनाइ छ। यो रोग लाग्दा एउटा मात्र आँखा रातो हुन्छ।

कसरी गुम्छ ज्योति?
आँखाको नानी (कर्निया), आइरिस या लेन्सभन्दा ठ्याक्कै पछि अड्किएको अवस्थामा थाहा हुन्छ। सापु कडा रूपमा संक्रमण भयो भने ज्योति गुम्छ। पुतलीको रौं आँखाभित्र छ या छैन भन्ने कुरा थाहा हुन्छ। रेटिनाको कुना काप्चामा छ भने देखिँदैन। यस्तो घटना कुल बिरामीमध्ये १० प्रतिशतमा देखिन्छ। बिरामीमध्ये कतिपयमा भने झुसिलकिराको झुस पनि परेको देखिन्छ। परीक्षणपछि मात्र चिकित्सकले झुसिलकिराको झुस हो या पुतलीको भनी पहिचान गर्छन्।
लक्षणहरू
एक्कासि एउटा आँखा रातो हुनु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्कालै कमी आउनु, आँखाको दुखाइ सामान्य या बढी हुनु, उपचारमा ढिलाइ भएमा नानीमा सेतो देखिनु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad