ad ad

छापा खबर


एमालेलाई सग्लै राख्ने कि फुटाउने? बल ओलीको कोर्टमा

 एमालेलाई सग्लै राख्ने कि फुटाउने? बल ओलीको कोर्टमा

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १:३१,

नेकपा एमाले माधव नेपाल समूहका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन्।

बिहीबार समूहका केन्द्रीय सदस्यको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले उनलाई विश्वास गर्न नसकिने बताए। उनीहरूले विश्वासिलो आधार तयार पारी विवाद सुल्झाउन ओली नै अग्रसर हुनुपर्नेमा जोड दिएका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

नेता माधव नेपाल निकटका केन्द्रीय सदस्य विरोध खतिवडाका अनुसार बैठकमा ओलीले जालझेल गरेको, २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउछु भनेर पाँचचोटि भनेको तर नफर्काएको, जसले गर्दा विश्वास गर्ने आधार नभएको धारणा आएको थियो। ‘आज चारपाँचथरी विषय उठेका छन्। मुख्यगरी ओलीले विश्वास गुमाएको कुरा उठेको छ। नेताहरूलाई कारबाही गर्ने अनि वार्ताको कुरा गरेर अलमल्याउने कुरा उठेको छ। संविधानविपरीत कार्य गरेको कुरा उठेको छ। तर पनि सम्मानजनक एकताको विषयमा साथीहरू एकमत हुनुभएको छ। सम्मानजनक एकता नभए विकल्पको विषय पनि तदारुकताका साथ उठेको छ’, उनले भने।

खतिवडाका अनुसार अहिले नै सबै विषय टुंग्याउने भन्दा पनि संवादको नाममा अलमल्याउने काम गर्न नहुने धारणा अधिकांशले राखेका थिए। ‘ओलीले धेरैजसो समय संकटका बेला मात्रै जेठ २ मा फर्कन्छु भन्ने संकट टरेपछि पुरानै अवस्थामा फर्कने गरेका कारण विश्वास गर्ने आधार नभएको हो। यो विषय टड्कारो रूपमा उठेको छ’, खतिवडाले भने।

केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार बैठकमा मुख्यगरी ६ वटा विषय उठेका छन्। २०७५ जेठ २ गतेको सांगठनिक संरचनामा फर्कन सबैजसो नेता सहमत छन्। त्यसका लागि ओलीले विश्वासको वातावरण बनाउनुपर्ने, पार्टी विभाजन गर्नुहुँदैन भन्नेमा सबैको सहमति तर माथिदेखि तलसम्म विचार समूहको आधारमा सम्मानजनक एकता नभए विकल्प दिनुपर्ने, नेताहरूमाथि भएको कारबाही फिर्ता गर्नुपर्ने, अध्यादेशलगायत संसद् विघटनजस्ता प्रकरणमा भएका कमजोरी स्वीकार गर्नुपर्ने विषयले बैठकमा प्राथमिकता पाएका थिए। ‘पार्टी २०७५ जेठ २ को अवस्थामा फर्काउँछु मात्र भनेर हुँदैन। सबै संरचनालाई जेठ २ मै फर्काउनुपर्छ भन्नेमा सबै नेताको एउटै धारणा रहेको छ।

एमाले माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले उनलाई विश्वास गर्न नसकिने बताएका छन्। उनीहरूले विश्वासिलो आधार तयार पारी विवाद सुल्झाउन ओली नै अग्रसर हुनुपर्नेमा जोड दिए।

नेता नेपालले एकताका लागि भइरहेका संवादलाई औपचारिकता दिएर अन्तिम टुंगोमा पु¥याउन प्रतिबद्धता, योजना, कार्यक्रम केही पनि नआएकाले विश्वास गर्न नसकिने बताएका थिए। ‘त्यसैले उनीहरूले हाम्रा साथीहरूसँग अनौपचारिक कुराकानी गरे भन्दैमा सहमति भइहाल्यो भनेर बाहिर आए पनि त्यो गलत हो। ओली सच्चिए त कम्युनिस्ट आन्दोलनलाई पनि राम्रै हुन्थ्यो’, नेता नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

भर्चुअल रूपमा आयोजित बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित ४० जनाजतिले बोलेका थिए। खनालले आफूहरूको उमेर घर्कंदै गरेको कारण अब युवा पुस्ताले पार्टी निर्माणमा अग्रसरता लिनुपर्ने धारणा राखेका थिए।

पाण्डे र भुसालले वरिष्ठ नेता नेपाल र खनालको जानकारीमै वार्ता चलिरहेको र त्यहाँ भइरहेका सबै विषयमा नियमितरूपमै जानकारी गराएको बताएका थिए। उनीहरूले पार्टी एकता जोगाउने कि नजोगाउने, बल अध्यक्ष ओलीको कोर्टमा रहेको ‘ब्रिफिङ’ गरेका थिए। उनीहरूले संस्थापन पक्षका दोस्रो तहका नेतासँगको संवाद सकारात्मक रहेको जानकारी गराउँदै आफूहरूका मागमा ओली सहमत भए कुरा मिल्न सक्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .