छापा खबर


बलुवाटारमा संयुक्त बैठकः नेताहरुले जनाए संविधान रक्षामा एक्यबद्धता

बलुवाटारमा संयुक्त बैठकः नेताहरुले जनाए संविधान रक्षामा एक्यबद्धता

नेपालखबर
भदौ ४, २०७६ बुधबार १:६,

संसद्मा रहेका प्रमुख राजनीतिक पार्टीहरूको सर्वदलीय बैठकमा नेताहरूले गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका विषयमा आफूहरू एकताबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार सम्पन्न बैठकमा नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै भने, “गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एउटा वा अर्को कोणबाट प्रहार भइराखेको स्थितिमा लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताका लागि सङ्घर्ष गर्ने सबै राजनीतिक पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। ”

नेता श्रेष्ठका अनुसार संसद्मा रहेका प्रमुख राजनीतिक दलका नेताहरूले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि कहीँकतैबाट प्रहार भएमा सहन गर्न नसकिने धारणा बैठकमा राखेको बताए।

यो खबर आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन्।

बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेका शक्तिहरूबीच दूरी कम गर्न तथा समझदारी र सहकार्यको प्रक्रियालाई फेरि अगाडि बढाउन बैठक राखिएको बताएका थिए।

“देशमा हिंसात्मक गतिविधि हुन नदिन पनि सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ”, प्रधानमन्त्रीको उद्धृत गर्दै नेता श्रेष्ठले भने, “लामो द्वन्द्वपछि देशमा शान्ति स्थापना भइसकेको छ । यस्तो स्थितिमा मुलुकलाई कुनै पनि कोणबाट फेरि हिंसाको बाटोमा लैजान दिनु हुँदैन । त्यसैले हिंसालाई कसैले पनि प्रोत्साहित गर्ने गतिविधि गर्नु हुँदैन।”

बैठकमा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने, कुनै पनि प्रकारको हिंसात्मक गतिविधि हुन नदिने, संविधान र कानुनविरोधी गतिविधि नियन्त्रण गर्ने तथा आवश्यक परे वार्ताबाट पनि समाधान खोजिनुपर्नेमा नेताहरू एकमत देखिएका छन्।

आन्दोलनबाट विस्थापित शक्तिबाट हुनसक्ने कुनै न कुनै प्रकारको चलखेलप्रति सचेत हुन खोजिएको श्रेष्ठले बताए।

नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्रीबाट भएको पहललाई काँग्रेसले सकारात्मक रूपमा लिएको बताए । “प्रधानमन्त्रीले गम्भीर र लचिलो भएर प्रतिपक्षको सहयोगको अपेक्षा राख्नुभएको छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । व्यवस्थाको पक्षमा हामी सधैँ एकसाथ छौँ,” उनले भने।

सिटौलाका अनुसार बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनसहित शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सम्बन्धमा छलफल भएको थियो। शान्ति प्रक्रियालाई छिटै टुङ्गोमा पु¥याउनुपर्छ भन्नेमा सबैको एक मत देखियो।

बैठकमा सहभागी राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले बैठक राष्ट्रिय सरोकार र राष्ट्रिय कार्यभारका विषयमा संसद्भित्र रहेका दलहरूबीच सहकार्य बढाउनेबारे केन्द्रित भएको बताए।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, राजपाका नेता महन्थ ठाकुर, समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईलगायत नेताहरूको उपस्थिति थियो।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे समेत जानकारी गराउनुभएको थियो । बैठक बुधबार पुनः बस्ने नेता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad