छापा खबर


कांग्रेसमा यसरी चर्किंदैछ हिन्दु धर्मको पक्षमा बहस

कांग्रेसमा यसरी चर्किंदैछ हिन्दु धर्मको पक्षमा बहस

नेपालखबर
भदौ १८, २०७६ बुधबार ०:५२,

कांग्रेसमा धार्मिक स्वतन्त्रताका पक्षमा बहस भएको छ। केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धर्मनिरपेक्षताको विरोध गर्दै धार्मिक स्वतन्त्रता वा हिन्दु राष्ट्रका पक्षमा आवाज उठाएका हुन्।

बैठकमा शीर्ष नेताहरूले भने यस विषयमा जबाफ दिएका छैनन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन्।

सहमहामन्त्री प्रकाशशरण महत तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, शेखर कोइराला, शंकरभण्डारीलगायतले धर्मका बारेमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका थिए।

सहमहामन्त्री डा. प्रकाशशरण महतले धर्मनिरपेक्षता नभई धार्मिक स्वतन्त्रता हुुनुपर्नेमा जोड दिएका थिए। उनले सनातन धर्मको रक्षा र अन्य धर्मको सम्मान गर्नुपर्ने बताएका थिए।

पार्टी सभापति शेरबहादुर देउवाले धर्मका विषयमा केन्द्रीय सदस्यले उठाएका विषयमा कुनै जबाफ दिएनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले हिन्दु राष्ट्रको मुद्दामा असहमति जनाएको एक केन्द्रीय सदस्यले बताए। पार्टीको महासमिति बैठकमा आठ सयभन्दा बढी सदस्यले हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए।

दुई महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार सकिएको छ। बैठकले नेपालगन्जबाट दैलेख लैजाने क्रममा भीरबाट दर्जनौं गाईको सामूहिक हत्या भएको घटनाको विरोधमा प्रस्ताव पारित गरेको छ।

असार २२ गतेदेखि सुरु बैठक पटक पटक गरी १६ दिन बसेको थियो। महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका १४ वटा एजेन्डामा सर्वसम्मतिले निर्णय गर्दै केन्द्रीय समिति बैठक सकिएको हो।

पार्टीको नियमावली संशोधन, अन्तरिम संरचना गठनसम्बन्धी निर्देशिका, अनुशासनसमितिको प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, भातृसंस्थालगायत सबै एजेन्डा सर्वसम्मत पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad