छापा खबर


निदान अस्पतालमा यसरी चल्छ मिर्गौलाको कालो धन्दा

निदान अस्पतालमा यसरी चल्छ मिर्गौलाको कालो धन्दा

नेपालखबर
भदौ १८, २०७६ बुधबार १:१०,

निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ।

ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो।

मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।

डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन्। श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ।

गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयं चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने फरकफरक स्रोतहरूले बताएका छन्।

योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिए पनि मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो।

नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो। गैरकानुनी ढंगले झिकिएको मिर्गौला डा. श्रेष्ठको टोलीले योञ्जनको शरीरमा प्रत्यारोपण गरेको थियो।

अस्पतालले घटना गुपचुप पार्न खोजिरहेको ती बिरामीको भनाइ छ। निदानमा भेटिएका मिर्गौलाका बिरामीले अस्पताल प्रशासनले सत्यतथ्य बाहिर नल्याए प्रशासन गुहार्ने तयारी गरेका छन्। अस्पतालका कर्मचारीले समेत यो घटना छानबिन गर्न माग गरेका छन्।

दोरम्बा गाउँपालिकाले गत असार २० गते स्थानीय बासिन्दा शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गर्न उनका नातेदारको नाता प्रमाणित गरिदियो।

नाता प्रमाणित गरिएको कागजमा लामाका भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भए। तर निदान अस्पतालले घिसिङको मिर्गौला निकालेन।

नाटकीय र चलाखीपूर्ण ढंगले निदान अस्पतालका चिकित्सकले कलंकी बस्दै आएका मिर्गौला तस्करी गर्ने केदार नाम गरेका व्यक्तिले खोजेर ल्याएका एक युवकको मिर्गौला निकाले।

केदारले ती युवालाई आर्थिक प्रलोभनमा पारे। त्यसपछि ती युवाको मिर्गौला योञ्जनलाई प्रत्यारोपण गरियो।

निदानका चिकित्सकले मिर्गौला झिकिएका व्यक्ति र गाउँपालिकाले दिएको नाता प्रमाणपत्रमा उल्लेखित भान्जा नाताका घिसिङको फोटोसमेत भिडाएन।

मिर्गौला झिकिएका व्यक्ति र नाता प्रमाणित प्रमाणपत्रमा उल्लिखित व्यक्तिको फोटो नभिडाउनुले गैरकानुनी ढंगले मिर्गौला प्रत्यारोपण गरिएको पुष्टि हुन्छ। कार्कीले ५ लाख रुपैयाँ दिने सर्तमा ती युवालाई दाङबाट काठमाडौं ल्याएको स्रोतले बतायो।

आर्थिक चलखेलमा निदान अस्पतालले गैरकानुनी ढंगले मिर्गौला प्रत्यारोपण गरेको त्यहीं कार्यरत कर्मचारी बताउँछन्।

मिर्गौला तस्कर कार्की र निदान अस्पतालका केही चिकित्सक÷कर्मचारी नियमित सम्पर्कमा रहने स्रोतले बताएको छ। अस्पतालले अवैध तवरबाट मिर्गौला प्रत्यारोपण गरेको प्रमाण सुरक्षित छ।

नाता प्रमाणित लगायतका आवश्यक कागजपत्र बनाई लामाको टोली मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल पुगेका थिए। निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत बिपिन प्रधानको टोलीले लामाको कागजपत्र हेरी मिर्गौला प्रयारोपण गर्ने स्वीकृति दिएको थियो।

प्रत्यारोपण गर्नुअघि सबै कागजपत्र प्रधानको टोलीले प्रमाणीकरण गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad