छापा खबर


स्क्रब टाइफसबाट १६ को मृत्यु, २५ सय संक्रमित

स्क्रब टाइफसबाट १६ को मृत्यु, २५ सय संक्रमित

नेपालखबर
असोज ३, २०७६ शुक्रबार १:२७,

डेंगुबाट आक्रान्त भएको बेला घातक रोगका रूपमा रहेको स्क्रवटाइफसका कारण पछिल्लो तीन वर्षयता झन्डै २ हजार ५ सय जना संक्रमित भएका छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तीन वर्षमा २ हजार ३ सय २३ जनालाई संक्रमण भएको छ।

सन् २०१७ मा ६ सय ७०, सन् २०१८ मा १ हजार ९८ र सन् २०१९ मा ५ सय ५५ जनालाई संक्रमण भएको हो । यस्तै, महाशाखाका अनुसार तीन वर्षको अवधिमा १६ जनाको मृत्यु भएको छ।

यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

स्क्रवटाइफसका बिरामी ६३ जिल्लामा भेटिएका छन् । महाशाखाका निर्देशक डा. विवेककुमार लालले सरुवा रोग व्यवस्थापनअन्तर्गत अभिमुखीकरण तालिमलगायतमा केन्द्रमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए।

उनले भने, ‘परीक्षणका लागि बर्सेनि १० हजार कीट उपलब्ध हुन्छ । समयमा रोग पत्ता लगाउन सकिए यो पूर्ण रूपमा निको हुन्छ।’

स्क्रवटाइफस नेपालमा कुनै पनि बेला महामारीको रूप लिन सक्ने चिकित्सकहरूले बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. सेरबहादुर पुनका अनुसार मुसामा पाइने एक प्रकारको किर्नाको टोकाइबाट स्क्रवटाइफस हुने गर्छ।

सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सूक्ष्म कीरा (माइट) को टोकाइबाट फैलिन्छ । समयमै रोगको पहिचान गरिए पूर्ण रूपमा निको हुन्छ।’

चिकित्सकहरूका अनुसार, मुसा प्रजातिको जीवमा बस्ने माइट नामक किर्नुको टोकाइबाट स्क्रवटाइफस रोग लाग्छ । स्क्रवटाइफस संक्रमण गराउने माइट खासगरी खेत, झाडी र घाँसमा रहने मुसा प्रजातिमा रहन्छ।

संक्रमित व्यक्तिलाई अत्यधिक टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने, जिउ दुख्ने, आँखा हल्का रातो हुने, पसिना बढी आउनेलगायत लक्षण देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad