छापा खबर


नयाँ मोडमा महरा प्रकरण

नयाँ मोडमा महरा प्रकरण

नेपालखबर
असोज १७, २०७६ शुक्रबार १:३७,

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड देखिएको छ।

प्रहरीले उक्त घटनालाई अनुसन्धान प्रक्रियामा नल्याउँदै पीडित भनिएकी रोशनीले प्रहरी कार्यालयमा पुगेर आफूमाथि दुव्र्यवहार नभएको जानकारी दिँदै पतिसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेबाट त्यसमा नयाँ मोड देखिएको हो।

पति–पत्नीले नै सम्बन्ध विच्छेदको घोषणा गरे पनि अदालती प्रक्रिया भने सुरु भएको छैन। अदालतबाट कानुनी प्रक्रिया पूरा नहुँदासम्म सम्बन्ध विच्छेद भएको नमानिने खबर आजको नागरिक दैनिकले छापेको छ।

उक्त प्रकरणलाई लिएर प्रहरीले सबुद प्रमाण संकलन गरिरहेका बेला रोशनीले आफू डिप्रेसनको बिरामी भएको तथा आवेशमा आएर महरालाई आरोप लगाएको बताएकी थिइन्।

महरासम्बद्ध दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई अनुशासनको कारबाही गर्ने संकेत गरे पनि प्रक्रिया अघि बढाइसकेको छैन। उनको चरित्रमा दाग लागेपछि बसेको नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिए पनि महराले सभामुख पदबाट मात्रै राजीनामा दिएका छन्।

उनले पार्टीको निर्देशनसमेत उल्लंघन गरेका कारण उनीमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे कार्यकर्ताले चासोसमेत राखेका छन्।

यसैबीच, यौन दुव्र्यवहारको आरोप लगाउने महिलाको अन्तर्वार्ता तथा त्यससम्बन्धी समाचार प्रकाशन गर्ने सञ्चारकर्मी अजयबाबु शिवाकोटीले असुरक्षाको महसुस गरेका छन्।

शिवाकोटीमाथि गम्भीर धम्की आएको उनी सम्पादक रहेको सञ्चार संस्था हाम्राकुरा डटकमले जनाएको छ। सम्पादक शिवाकोटीलाई पहिचान नखुलेका नम्बरबाट फोन गरेर धम्की दिने क्रम बढेकाले सुरक्षा सतर्कताका लागि प्रहरीलाई जानकारी गराएको सो डटकमले जनाएको छ।

‘समाचार सार्वजनिक भएकै दिनदेखि सम्पादक शिवाकोटीलाई पछ्याउने र निगरानी गर्दै आएका केही समूहले अस्वाभाविक गतिविधिसमेत बढाउँदै गएको हाम्राकुरा डटकमले अनुभूति गरिरहेको छ,’ सो डटकमको समाचारमा लेखिएको छ, ‘हाम्राकुरालाई ठीक लगाउनुपर्छ भन्ने केही समूह आपराधिक नियतका साथ सक्रिय भएको जानकारी पनि हामीले पाएका छौं।’

आफूहरूले प्रहरीमा जानकारी गराएको र सुरक्षा बढाउने प्रत्याभूति पाएको हाम्राकुरा डटकमले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad