नाबालिग (१८ वर्षभन्दा मुनि) लाई जबर्जस्ती करणी (बलात्कार) गरेको अभियोगमा अभिनेता पल शाह पक्राउ परेयता नेपाली समाजमा सम्भवतः पहिलोपटक बलात्कारबारे व्यापक बहस भइरहेको छ। त्यसो त देशमा यो नै पहिलो बलात्कार घटना भने होइन, यसअघि पनि कैयौं यो भन्दा क्रूर र जघन्य अपराध भएका छन्, भइरहेका छन्।
तर पल शाह प्रकरणले एकैचोटि धेरै मानिसको ध्यान तान्नुको कारण उनी सेलिब्रिटी भएकाले हो। त्यसमा पनि चलचित्रमा गुन्डाहरूले महिलालाई गर्ने हिंसा र बलात्कारविरुद्ध लड्ने/भिड्ने एउटा नायक– जब वास्तविक जीवनमा ‘खलनायक’ भएर देखापरे, तब धेरै सर्वसाधारणलाई अचम्म पनि लाग्यो सायद। ‘रिल’मा सकारात्मक भूमिका निर्वाह गरिरहेका पात्र जब ‘रियल’मा एकाएक विपरीत (नकारात्मक) चरित्रमा देखिए/सुनिए, तब त्यस्तो लाग्नु स्वाभाविकै हो।
तर उनी सेलिब्रिटी भएका कारण मात्रै बलात्कारको बहस यति व्यापक बनेको होइन। बरु ‘बलात्कार’लाई नेपाली समाजले चलचित्रकै दृष्टिकोणबाट जसरी बुझिरहेको थियो, पल प्रकरणमा त्यस्तो पाएन। अर्थात् बलात्कार भन्नासाथ हाम्रो मन-मस्तिष्कमा फिल्ममा गुन्डाले हिरोइनलाई गरेजस्तो जबर्जस्तीका दृश्य आउँछन्।
जसले गर्दा पल शाहले यौन सम्बन्ध गरेकै भए पनि (हो/होइन, अदालतमा विचाराधीन मुद्दाको यथार्थ आउला) दुवैको ‘राजीखुसी’मा भएको कामकुरालाई कसरी बलात्कार भन्ने! धेरैलाई लागेको यही हुनुपर्छ।
यस प्रकरणले यो पाटो पनि उजागर गरेको छ– फकाईफुल्याई गरिएका सबै यौन सम्पर्क बलात्कार होइन भन्ने ठानिरहेको छ- समाज।
तर पल प्रकरणसँगै जब १८ वर्षभन्दा मुनिका बालिका (कानुनले बालिका भनेको छ) सँग ‘सहमति’मै यौन सम्बन्ध राखे पनि कानुनका दृष्टिमा त्यो बलात्कार ठहर्ने कुरा थाहा भयो, तब सम्भवतः धेरै मानिस आश्चर्यमा परे।
यसमाथि भर्खरै अछाममा ‘सहमतिमा सम्पर्क गरेर पनि’ बलात्कार भनी मुद्दा दिने किशोरीलाई अदालतले उल्टै ३ वर्ष जेल तोकेको घटनाले बलात्कार बहसलाई अरू बढाएको छ। सम्भवतः यो फैसलाले ‘मन मिलुन्जेल चमत्कार, छुटेपछि बलात्कार’ सिद्धान्तवालाहरूलाई हौस्याएको हुनुपर्छ। तर अछाम फैसला ‘अस्वाभाविक’ भएको दाबीसहित उच्च अदालतमा पुनरावेदन परेको छ।
प्रस्तुत घटना समसामयिक भएकाले सुरुवातमा उल्लेख गरिएको हो। यो आलेखको मूल उद्देश्य भने तिनको व्याख्या/विश्लेषण गर्नु होइन, बलात्कारको अर्थ र परिभाषा खाेतल्नु हो।
बलात्कारको शाब्दिक अर्थ
नेपाली बृहत् शब्दकोशका अनुसार बलात्कारको अर्थ– १. जबर्जस्ती गर्ने काम; अन्याय; अत्याचार। २. कुनै स्त्रीलाई उसको इच्छाविपरीत जबर्जस्तीसँग सम्भोग गर्ने काम; बलपूर्वक सतीत्व नष्ट गर्ने काम।
यसले के प्रस्ट पार्छ भने ‘बलात्कार’ शब्द यौनसँग मात्र सम्बन्धित छैन। जबर्जस्ती गरिने कुनै पनि काम बलात्कार हो। यो कुरा नबुझ्दा कसैले यौनबाहेकका प्रसंगमा यो (बलात्कार) शब्द प्रयोग गर्दा कतिपयले आपत्ति जनाउने गरेको पनि पाइन्छ।
शब्दकोशमा पहिलो नम्बरमा उल्लेख अर्थले अर्काे कुरा पनि स्पष्ट पार्छ– कुनै अन्याय, अत्याचार गर्नु पनि बलात्कार हो।
शब्दकोशले दोस्रो नम्बरमा दिएको अर्थबारे त हाम्रो समाज जानकारै छ। बरु समाजले अहिलेसम्म बलात्कारको अर्थ यही रूपमा मात्र बुझ्नाले समस्या भइरहेको छ भन्दा अत्युक्ति नहोला।
तर यसैमा पनि गहिरिएर सोच्न जरुरी छ। जबर्जस्ती भनेको फिल्ममा गुन्डाले हिरोइनलाई गरेजस्तै बल प्रयोग मात्र होइन, स्त्रीको सामान्य असहमति वा अनिच्छामा सम्पर्क गर्नु पनि बलात्कार हो। त्यसैले त आफ्नै पत्नी भए पनि उनको इच्छाविपरीत मैथुन गरियो भने मुद्दा लाग्छ।
कानुनी परिभाषामा बलात्कार
हाम्रो कानुनमा कतै पनि ‘बलात्कार’ शब्द प्रयोग गरिएको छैन। ‘जबर्जस्ती करणी’ भनिएको छ। यसैलाई बलात्कार भनेर बुझ्नुपर्ने हुन्छ।
मुलुकी अपराध संहिता, २०७४ दफा २१९ उपदफा २ मा लेखिएको छ : कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएको भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ।
यही उपदफाको स्पष्टीकरणमा भनिएको छ : (क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी, शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, (ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, (ग) गुदद्वार वा मुखमा लिंग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिंग केही मात्र पसेको भएमा, लिंगबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिनेछ।
उपदफा ३ अनुसार करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी ७, १०, १२, १८, २० वर्ष कैददेखि जन्मकैदसम्म सजाय हुने व्यवस्था छ। सोही संहिताको दफा ४ अनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा भने पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा ५ वर्षसम्म कैद हुनेछ।
बलात्कारको विरोध, यौनको विरोध हो?
कतिपयलाई के पनि भ्रम परिरहेको हुनसक्छ भने बलात्कारको विरोध यौनकै विरोध/बहिष्कार हो। तर त्यसो होइन। बलात्कारको विरोध प्रकृतिको अनुपम उपहार, प्राणी निरन्तरताका लागि अनिवार्य प्रक्रिया यौनप्रतिकै घृणा कदापि होइन, हुनु हुँदैन।
यौनको विरोध गर्नु भनेको त आफ्नै जन्मप्रति विरोध, बहिष्कार र घृणा गर्नु हो। सोचौं– हाम्रा आमा-बुबाबीच सम्भोग नभएको भए हाम्रो जन्म सम्भव थियो?
यसर्थ बलात्कार र यौन सम्बन्धको गम्भीर भिन्नतालाई गम्भीरतापूर्वक मनन गर्न जरुरी छ। तर कतिपयले बलात्कारको विरोध गर्ने नाममा जानेर/नजानेर स्त्री–पुरुष सम्बन्ध तथा यौनप्रति नै वितृष्णा र घृणा उत्पन्न गराउने काम गरिरहेका छन्।
बलात्कारको विरोध न पुरुषको विरोध हो, न महिला-पुरुषबीचको सुन्दर सम्बन्धको। विरोध त अपमान, अत्याचार, हिंसा र दुर्व्यहारको पाे हो।
के बिर्सन हुँदैन भने सहमतिको अवस्थामा जुन व्यवहार यौन व्यवहार र मायाप्रेम हुन्छ, त्यही व्यवहार असहमतिको अवस्थामा यौन दुर्व्यवहार र हिंसा हुन्छ।
तर ‘सहमति’का सवालमा कानुनी बन्देजको पनि ख्याल गर्नुपर्ने हुन्छ।
त्यसैले यौन दुर्व्यवहार वा बलात्कारको चर्काे विरोध गर्ने नारीलाई कसैले यौन वा प्रेमकै विरोधी ठान्छ भने त्यो अज्ञानता हो; महामूर्खता हो। अनि कुनै पुरुषले बलात्कार गर्यो भन्दैमा सबै पुरुषलाई बलात्कारी र सबै किसिमका यौन सम्बन्धलाई बलात्कार देख्नु अर्काे मनोविकार हो।
बलात्कारी पुरुषका नाममा
एउटा स्वस्थ मानिस निरपेक्ष रूपमा कहिले यौनको विरोधी हुन सक्दैन; बरु हरेक व्यक्ति यौनप्रति लालायित नै हुन्छ। यति सरल काम पनि वैधानिक बाटाेबाट गर्न नसक्ने पुरुषजत्तिको नालायक यो दुनियाँमा अरू को होला? एउटी स्त्रीलाई प्रेमले पगालेर स्वतःस्फूर्त रूपमा आफ्नो अँगालोमा आउने वातावरण बनाउन नसक्ने पुरुषजत्तिको हुतिहारा यो संसारमा अरू को हुन सक्ला?
एउटा स्वस्थ पुरुषले बलात्कार गर्नु त परको कुरा, सोच्न पनि सक्दैन। जसले यौनलाई सही अर्थमा बुझेको छ, उसले कहिले बलात्कार गर्न सक्दैन। बलात्कार त तिनले गर्छन्, जो मानसिक रूपमा रोगी छन्।
यौनविज्ञका अनुसार सम्भोग शारीरिक प्रक्रिया मात्र नभएर मानसिकता र भावनासँग पनि गम्भीर रूपले जोडिएको विषय हो। किनकि चरम सन्तुष्टिको अनुभूति आफैंमा मानसिक कुरा हो। एकअर्काप्रति आकर्षण, सम्मान, प्रेम र आलिंगनका साथ गरिएको सम्भोगमा जुन सन्तुष्टि र आनन्द प्राप्त हुन्छ, जबर्जस्ती, लडाइँ–झगडा/अपराध गरेर गरिने ‘सेक्स’बाट त्यो पाइन्छ र?
स्त्रीको अनिच्छा र विरोधबीच गरिने मैथुन यौनकै दृष्टिले पनि हस्तमैथुन वा कुनै निर्जीव वस्तु प्रयोग गरेर वीर्य पतन गराउनुभन्दा बढी हो र? मलाई लाग्छ, अझ कम हो। यौन प्यासकै कारण हामी छटपटिएका हौं र यति ठूलो संसारमा एउटी स्त्रीको प्रेम प्राप्त गर्ने हुती नभएकै हो भने त्यति ठूलो अपराध (बलात्कार) गरिरहनुपर्छ र? वीर्य पतनकै लागि त वैकल्पिक विधि कति छन् कति।
होइन, स्त्रीको स्नेह र प्रेमसहितको सम्भोगको अपेक्षा गरेका हौं भने त उनको इच्छा र इज्जतको सम्मान गर्नु पर्दैन र? यत्ति कुरा नबुझेर महिलालाई जबर्जस्ती करणी गर्ने पुरुषहरू पशुभन्दा पनि निम्न चेतनाका लाग्छन्। किनकि पशुले पनि बलात्कार गर्दैन।
बलात्कारवादी, प्रेमविरोधी समाज
खासमा हाम्रो समाज नै बलात्कारी उत्पादन गर्ने कारखाना हो। जसले पुरुषलाई प्रेम गर्न होइन, बलात्कार गर्न सिकाउँछ। त्यसको एउटा साक्षी म आफैं हुँ। भर्खर भर्खर जवानी चढेका बेला साथीभाइले भन्थे– केटीले त ‘हुँदैन’ भनिहाल्छन् नि ! अलि जबर्जस्ती पो गर्नुपर्छ त ! अहिले पनि हाम्रो समाजकाे ‘स्कुलिङ’ यो भन्दा फरक होला र!
यस मामिलामा हालै आफ्नो पहिलो राष्ट्रिय भेला सम्पन्न गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले पारित गरेको समसामयिक प्रस्तावअन्तर्गत यो बुँदा मनपर्यो : देशमा व्याप्त बेथिति, विकृति र विससंगतिपूर्ण अवस्थामा महिला हिंसा र बलात्कारजन्य घटनाहरूको कारक तत्व पितृसत्तात्मक संरचना र सामाजिक व्यवस्था रहेको ठहर गर्दै यस्ता हिंसात्मक घटनाहरूको अन्त्य गर्न हरेक घरघरमा बलात्कारी पुरुष चेतना जन्माउने पितृसत्ताका विरुद्ध प्रहार केन्द्रित गर्न आम सचेत जनसमुदायलाई हार्दिक अपिल गर्दछ, साथै सिंगो पार्टी पंक्ति पितृसत्ताका विरुद्ध दृढतापूर्वक उभिने प्रण गर्दछ।
हो, वास्तवमा बलात्कारी सोच उत्पादन गर्ने काम पुरुषवादले गरिरहेको छ। अनि यसलाई जातिवादले दुरुत्साहन गरिरहेको छ।
एउटी दलित महिलालाई कथित उच्च जातका पुरुषले शानका साथ बलात्कार गर्न सक्छ, तर त्यही स्त्रीलाई ऊ प्रेम र विवाह गर्न सक्तैन। यसैकारण तथाकथित उपल्लो जातका पुरुषबाट कैयौं दलित चेली बलात्कारमा परेका छन्, मारिएका छन्। दलित स्त्रीलाई बलात्कार गर्दा उसको जात जाँदैन, तर त्यही स्त्री जिम्मा लिनुपर्यो भने जात जान्छ! यो भनेको बलात्कार चल्ने, प्रेम वा विवाह नचल्ने भनेको होइन र! आजसम्म कुनै बलात्कारीको जात खसाइएको छ त?
बरु प्रेम गर्ने दलित युवकहरूको हत्या गरिएको छ। किनकि यो पुरुषवादी–जातिवादी समाज बरु बलात्कारलाई उति अपराध मान्दैन, जति प्रेम गर्नुलाई महाअपराध ठान्छ। त्यसैले त यहाँ पल शाहहरूका पक्षमा नारा-जुलुस लाग्छ, प्रेम गर्ने अजित मिजार-नवराज विकहरूलाई लखेटीलखेटी मारिन्छ।
प्रतिक्रिया