ad ad

विचार


पुष्पकमल दाहालमाथि कांग्रेसको आश्चर्यजनक कल्पना

पुष्पकमल दाहालमाथि कांग्रेसको आश्चर्यजनक कल्पना

विष्णु रिजाल
माघ ११, २०७९ बुधबार १४:३३, काठमाडौँ

सरकार बनेकै दिनदेखि ढाल्नका लागि कांग्रेस उद्यत छ। सरकारलाई विश्वासको मतै लिन नदिन कम प्रयत्न गरेन। घर–घरमा प्रधानमन्त्री पद बाँड्दा पनि विकेन। अनेक गर्दा पनि नसकेपछि सरकारकै पक्षमा मतदान गरेर यसलाई कमजोर बनाउने र भत्काउने कांग्रेसको प्रयास जारी छ। त्यसका लागि सत्ता गठबन्धनका बीचमा अविश्वास सिर्जना गर्ने, फुट ल्याउने र आफ्नो गुमेको स्वर्ग फर्काउने योजनामा कांग्रेस छ। 

कांग्रेसको रबैया हेर्दा सत्ताबिनाको कांग्रेस र पानीबिनाको माछा छुट्याउन मुश्किल भइरहेको छ। एकातिर केही हातमा लागिहाल्छ कि भनेर राष्ट्रिय सहमतिको नारा फलाक्ने अनि अर्कातिर प्रतिनिधिसभामा सर्वसम्मत रुपमा सभामुख निर्वाचित हुँदै आएको परम्परालाई पनि भत्काउने काम कांग्रेसले गरेको छ। प्रदेशमा समेत गठबन्धनका मुख्यमन्त्रीलाई दल हेरेर विश्वासको मत दिने काम गरेर कांग्रेसले सुँढ घुसाउन बाँकी राखेको छैन।

गठबन्धनका दलहरुहरु कांग्रेसको यस अवसरवादी नीतिसँग अपरिचित छैनन्। पक्कै पनि कांग्रेसको यस रबैयाबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही राहत भएजस्तो महसुुस भएको होला तर बुझ्नुपर्ने कुरा के छ भने कांग्रेसको यो प्रयास शिकार गर्नुअघि ब्याँसोले गाइवस्तुलाई कन्याए जस्तो मात्रै हो। आफैँले प्रधानमन्त्री बनाउँदा, ठूलो दल बनाइदिँदा र सहमति भइसक्दा पनि अन्तिम क्षणमा प्रधानमन्त्री नदिएर बालुवाटारबाट बालकोट लखेटेको धेरै भएको छैन। 

सत्तारुढ गठबन्धनको ठूलो दलको हिसाबले यसको नेतृत्व नेकपा (एमाले) ले गरिरहेको छ र बचाउनु पनि एमालेले आफ्नो दायित्व बुझेको छ। राष्ट्रपति, सभामुख र चार प्रदेशको नेतृत्व एमाले अनि प्रधानमन्त्री र उपराष्ट्रपति माओवादीले पाउने सहमति अनुसार नै गठबन्धन अघि बढिरहेको छ। त्यसका लागि गठबन्धनमा सहभागी अरु दलहरुलाई पनि समेटेर लगिएको छ। आफ्नो शक्ति खिइसक्दा पनि पहिलेझैँ सम्झिने उपेन्द्र यादव र भर्खर राजनीतिमा आएका सीके राउतलाई यथार्थ बुझाउने कोसिस गर्दै गठबन्धनलाई अघि बढाउने अध्यक्ष केपी ओली स्वयम्ले अग्रसरता लिइरहनुभएको छ।

निश्चिय नै एमाले ठूलो पार्टी छ, गठबन्धनको नेता एमाले नै हो। र, यतिबेला मुुलुकको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरिरहनुभएको छ र सम्पूर्ण कार्यकारी अधिकारको प्रयोग उहाँले गरिरहनुभएको छ। यस सरकारलाई सफल बनाउने कुरासँग एमाले र यसको नेतृत्वको क्षमता अनन्य रुपमा गाँसिएको छ भन्ने कुरा एमालेले राम्ररी बुझेको छ। एमालेले प्रधानमन्त्री दाहाललाई सहज र सरकारलाई सफल बनाउनुका पछाडि राजनीतिक रुपमा ठूलो अर्थ रहेको छ। 

वर्तमान गठबन्धन र सरकारको आयु केपी ओली र पुष्पकमल दाहालबीचको सम्बन्धमा निर्भर छ। विगतको तिक्त र कटाक्षपूर्ण पृष्ठभूमिलाई आधार बनाएर उठ्ने आशंकालाई व्यवहारबाटै जवाफ दिन दुई नेताले चालेका कदमहरु महत्वपूर्ण छन्। आकस्मिक रुपमा सहमति बनाउनुपरेका कारण तत्कालै नीति कार्यक्रम बनाउन सम्भव नभए पनि सरकार बन्नेवित्तिकै ओली आफैँले नेतृत्व गरेर न्यूनतम साझा कार्यक्रम निर्माण भएको छ।

प्रधानमन्त्री दाहाललाई कसरी सजिलो हुन्छ, सहज वातावरण बनाइदिने काममा अध्यक्ष ओलीले संवेदनशीलता देखाउनुभएको छ। उदाहरणका रुपमा मन्त्रालयको बाँडफाँट र मन्त्रीहरुको चयनलाई लिन सकिन्छ। यदि संख्यात्मक कुरा गर्ने हो माओवादीले भन्दा साढे दुई गुणा मन्त्रालय एमालेले पाउने सहज अवस्था छ। तर, माओवादीलाई पाँच मन्त्रालय र आफूलाई आठ मन्त्रालय गर्न एमाले तयार हुनु लचकताको परिणाम हो। त्यसैगरी, सरकारमा पुराना, अनुभवी र हिजो नेकपाकालमा दाहालसँग आमने–सामने भएका नेताहरुको साटो ओलीले नयाँ र युवाहरुलाई पठाएर मन्त्रिपरिषद्लाई सहज बनाइदिनुभएको छ। 

सत्तारुढ दलहरु साततिर फर्केका छन्। नीतिहरुमा भिन्नता छ, आ–आफ्नो राजनीति छ। यी सबैलाई एक ठाउँमा लिएर जानु पक्कै पनि सहज छैन। हिजो चुनावमा सँगै जिउने, सँगै मर्ने कसमसहित मोर्चाबन्दीमा सामेल दलहरुका बीचमा त सहमति कायम रहन सकेन भने अहिलेका सत्तारुढ दलहरुबीच घाम–जून रहेसम्म समीकरण रहिरहन्छ भन्ने होइन। तर, एउटा कुरा पक्का के छ भने यदि यो समीकरण भत्केछ भने पनि कांग्रेसले गरेका प्रयत्नका कारणले होइन, यसैभित्र देखा परेका संकटका कारण भत्किन सक्ला। त्यसका लागिक कांग्रेसले झर्ला र खाउँला भनेर मुख नमिठ्याए हुन्छ।

सबैसँग विकल्प सीमित छन्। पुष्पकमल दाहालले सहज त कांग्रेससँगै मान्नुभएको थियो। तर, बाध्य बनाएर अपमानजनक रुपमा पुस १० मा बालुवाटारबाट लखेटिएपछि संकटका बेला बनेको समीकरण नै उहाँका लागि सुविधाजनक छ। किनभने, प्रधानमन्त्री उहाँ हुनुभएकै छ, आधा कार्यकालको सहमति भएकै छ। कांग्रेससँग जाँदा पनि यसभन्दा बढी पाउने के नै हुन्छ र?

एमालेले पनि माओवादीसँग निहुँ खोज्नुपर्ने खास कारण छैन। एक्लै सरकार बन्दैन, प्रमुख प्रतिस्पर्धी कांग्रेससँग मिलेर जानै हुँदैन। यसो हुँदा प्राप्त विकल्पमध्ये माओवादीलाई साथमा लिएर जाँदा नै अर्को चुनावसम्म सुरक्षित हुन्छ। सकभर चुनावसम्म एकता नै होला। यदि भएनछ भने पनि तालमेल हुने त निश्चित नै छ। कांग्रेसलाई माओवादीसँग मिल्न मात्र नदिने हो भने कांग्रेसभन्दा एमाले दोब्बर स्थानमा जित्छ भन्ने त अहिलेकै निर्वाचन परिणामले पनि देखाइसकेको छ। त्यसैले फुकी–फुकी अहिलेकै गठबन्धनलाई इमानका साथ अघि बढाउनु र साढे दुई बर्षपछि सहज रुपमा नेतृत्व प्राप्त गर्नु नै एमालेको हितमा छ।

जब राजनीतिमा यति स्पष्ट मार्गचित्र र हिसाबकिताब छ भने सत्ता गठबन्धनका प्रमुख दल हड्बडाउनुपर्ने केही जरुरी छैन। यी दुई दल मिल्दा बाँकी दलले त स्वतः सहज महसुस गरेकै छन्।

कांग्रेस निरन्तर ओरालो लागिरहेको छ। बढ्ता रिसायो भने विरालोले खाँबो चिथोर्छ भनेझैँ सत्ता गुमेको झोक र प्राप्तिको भोकमा कांग्रेसले जेमा पनि मुख हालिरहेको छ। तर, यस कालखण्डमा जति बल गरे पनि कांग्रेसको हातमा हारबाहेक केही पनि लाग्नेवाला छैन। प्रधानमन्त्रीमा लड्नै नपाई हार्यो, सभामुखमा हार्यो, उपसभामुखमा हार्यो। अब राष्ट्रियसभाको उपाध्यक्षमा हार्छ। अनि राजनीतिलाई अन्योलग्रस्त बनाउनका लागि राष्ट्रपतिमा मिठ्याइरहेको मुख पनि अमिलो पार्नुपर्ने दिन नजिकै आइरहेको छ। 

कांग्रेस आफैँ बनाउन सक्दैन र भत्काउन मात्र उद्यत छ। सरकार भर्खरै गठन भएको, त्यसले अब गति लिन्छ भन्ने विश्वास पलाइरहेको र त्यसको सकारात्मक प्रभाव आर्थिक बजारमा परिरहेको बेला कांग्रेसले खेलेको खेलले जसरी शेयर बजार प्रभावित भएको छ, बाँकी राज्यसंयन्त्र त्यसरी तरंगित हुने अवस्था आज छैन। सरकार बनेकै दिनबाट भत्काउनका लागि गरेको कोसिस काम नलागेपछि कथित विश्वासको मत हालेर गठबन्धन र सरकारलाई कमजोर बनाउने खेलमा कांग्रेस नराम्ररी फसेको छ। त्यही भएर कांग्रेसभित्रै दाहाललाई अनावश्यक रुपमा मत दिनु गलत थियो भन्ने आवाज प्रखर भइरहेको छ। 

भइरहेको सत्तारुढ गठबन्धलाई कमजोर बनाएर, भत्काउने दिशामा लगेर र आफ्नो विश्वसनीयतालाई आफैँ लात हालेर पुष्पकमल दाहालले दुई महिनाभित्रै बाटो मोड्नुहुन्छ भन्ने कांग्रेसको कल्पना आश्चर्यजनक छ। राष्ट्रपति निर्वाचनमा माओवादीले मत दिन्छ र जितिन्छ भन्ने कांग्रेसको कल्पना आजको दिनमा शोम शर्माको सातुभन्दा बढी केही पनि होइन। राजनीतिमा उम्मेदवारी दिन पाइन्छ, प्रतिस्पर्धा गर्न पनि पाइन्छ, आफ्नो मत राख्न पनि पाइन्छ। तर, त्यसका लागि आफू कहाँ उभिने हो, प्रस्ट हुनुपर्छ। सरकारलाई विश्वासको मत दिएर सरकारका पक्षमा उभिने अर्थात् स्वेच्छाले स्वतः सत्तापक्ष हुने अनि प्रमुख विपक्षी दलको नेताको सेवा–सुविधा माग्ने कुरा संवैधानिक, राजनीतिक र नैतिक तीनै हिसाबले मिल्दै मिल्दैन। आज संकटको त्रिवेणीमा कांग्रेस नराम्ररी फसेको छ।

शेरबहादुर देउवालाई ज्योतिषीहरुप्रति जत्तिको विश्वास छ, त्यसभन्दा ठूलो विश्वास सीमाबाहिरका राजनीतिक ज्योतिषीहरुप्रति देखिन्छ। त्यस प्रतिपस्पर्धामा शेखर कोइराला पनि कम देखिएका छैनन्। कूल मिलाएर कांग्रेसलाई आजको दयनीय अवस्थामा पुर्याउनका लागि प्रतिस्पर्धारत यी नेताहरुले अझै कुन भड्खालोमा जाक्ने हुन् भन्ने त्रास कांग्रेसमा बढेको पाइन्छ। एउटा पुरानो दलमा देखा परेको यस प्रकारको राजनीतिक र नैतिक विचलन मुलुकको लोकतन्त्रका लागि सुखद होइन।

जसले हिजो कम्युनिस्टलाई राष्ट्रपति र प्रधानमन्त्री दिनै सकिन्न भन्ने भाष्य निर्माण गरे, आज राष्ट्रपति हात पार्न सकिन्छ कि भनेर तिनैले माओवादीलाई कन्याइरहेका छन्। देश–विदेशबाट हुने यस्ता कुत्सित योजनाहरुलाई मिलेर परास्त गर्न सक्दा मात्रै गठबन्धन सफल हुन्छ, देशले राजनीतिक स्थिरता पाउँछ र कालान्तरमा नेपालको कम्युनिस्ट आन्दोलनको एकतामा बल पुग्छ।

(विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .