विचार


चुनाव त रविले फेरि जित्लान्, तर नैतिक प्रश्नले उनलाई छाड्ने छैन

चुनाव त रविले फेरि जित्लान्, तर नैतिक प्रश्नले उनलाई छाड्ने छैन

वाशुदेव मिश्र
माघ १३, २०७९ शुक्रबार २२:२२, पोखरा

रवि लामिछाने कुनै समय टेलिभिजनमा मनोरञ्जनात्मक कार्यक्रम चलाउँथे। उनी एकाएक हराए। अमेरिका पुगेका रहेछन्। फर्केर आएसँगै पुनः टेलिभिजनको पर्दामा देखिए। प्रधानमन्त्रीसँग सिधा प्रश्न सोध्ने त्यो कार्यक्रमबाट बहिष्कृत भएसँगै उनी जनतासँग सिधा कुरा गर्ने भए। एकाएक लोकप्रियताको शिखरमा पुगे। 

भ्रष्ट नेता र प्रशासन, कुशासन र ढिलासुस्तीले सताइएका जनताको पक्षमा उनले केही नगरेका भने पक्कै हैनन्। खाडीमा पसिना बगाउने नागरिकको पक्षमा, म्यानपावरबाट ठगिएका निमुखाहरुको लागि उनी ‘देवता’जस्तै बने। उनकै कारण केहीले न्याय पाए, कयौं क्षेत्रमा सुधारको थालनी पनि भयो। 

आफैं न्यायाधीश बनेर कतिपय मुद्दाहरुमा एकतर्फी विचार निर्माण गरिदिए। आरोपितलाई प्रश्नकै भाटाले हानेर शिथिल बनाउने उनको कृत्यहरुमाथि प्रश्न नउठेका हैनन् तर उनले आफ्नो कर्म अनि रवैया छाडेनन्। पत्रकारिताको सामान्य सिद्धान्त पालना नगरेको भन्ने उजुरीको क्रममा उनले आफू पत्रकार नभई सञ्चारकर्मी रहेको प्रतिक्रिया दिएका थिए। प्रेस काउन्सिललाई जवाफ दिँदा नै रविले मौकापरस्त छवि प्रस्तुत गरेका थिए। लाग्थ्यो– उनी कानुनी छिद्र पहिल्याउने र त्यसबाट उम्कने बाटोबारे पहिल्यै जानकार छन्। 

उनले न्युज २४ च्यानल छाडे। ग्यालेक्सी फोरके नामक टेलिभिजन स्थापना गरे। रविको चर्चा चुलिँदो थियो। राजनीतिक परिदृश्यबाट वाक्क भएका जनताको साथ र समर्थनसँगै रविको महत्वाकांक्षा बढ्दै गयो। स्थानीय चुनावी नतिजाले देशमा ‘स्वतन्त्र’हरुको उदय गराएकै थियो। उनले त्यसलाई अवसर ठाने। असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी देश दौडाहा सुरु गरे। उनको समर्थनमा देशव्यापी उभार आयो। 

चितवन २ बाट संघीय सांसदमा उम्मेदवारी दिए। चितवन २ मा अनुभवी कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठको प्रतिष्पर्धी बनिरहँदा जनताले रविको नारालाई खुबै मन पराइदिए। स्वतन्त्र पार्टीको ‘अब जान्नेलाई छान्ने’ भन्ने नारा सहजै अनुमोदन गरिदिए। उनको पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिटसहित रास्वपा राष्ट्रिय राजनीतिको प्रमुख शक्तिमा दरियो। 

संसदमा कुनै पनि दलको बहुमत नआउँदा ‘मंसिर ४ : रास्वपा सरकार’ भन्ने अर्को नारा पनि सत्यमा बदलियो। गएको पुस ११ गते प्रचण्ड नेतृत्वको सरकार बन्दा रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बने। तीन सातापछि मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाको तर्फबाट डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि र डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीको पद पाए। सोही पार्टीकी इन्दिरा राना उपसभामुख निर्वाचित भइन्।

यसअघि नै रवि लामिछानेको नागरिकता विवाद सतहमा आइसकेको थियो। उनले नेपाली नागरिकता त्यागेको, अमेरिकी पासपोर्टमा नेपाल आएको, अमेरिकी नागरिकता र पासपोर्ट त्यागे पनि नेपालको कानुन अनुसार नयाँ नागरिकता नलिएको भन्दै सर्वोच्च गुहारिसकिएको थियो। तर, रविले त्यसको वास्ता गरेनन्। अनुमान लगाउन सकिन्छ– ‘जन अनुमोदित’ भएपछि त्यसको आवश्यकता देखेनन्। वा यो खड्कोलाई सहजै पार लगाउने ठाने। कतिसम्म भने, सर्वोच्चमा मुद्दा विचाराधीन हुँदा उनले स्वार्थ बाझिने गृह मन्त्रालयको कमान्ड सम्हाले। महान्यायाधिवक्तालाई आफ्नो पक्षको बहसमा उतारे। 

रवि र रास्वपाप्रतिको जनलहर सुशासन, न्याय र परिवर्तनको पक्षमा थियो। पुरानाप्रतिको आक्रोशका कारण जनता रास्वपाप्रति झुकेका थिए। रास्वपाको नीति तथा कार्यक्रमप्रति पनि आम नागरिकको उतिसारो चासो देखिएको थिएन। तर, रवि स्वयं पहिलो पाइलामै कानुन मिच्ने ‘पुरानै’को लाइनमा उभिए। 

जनताले उनको क्षमताको परख गर्नै बाँकी थियो। नागरिकहरुले उनी परीक्षामा खरो उत्रिउन् भन्ने चाहेकै थिए। मसिनो स्वरमा सुनिएको आलोचना उनको समर्थकको आवाजले झन् मसिनो बनेको थियो। तर, यही बेला आएको सर्वोच्चको फैसलासँगै उनको उप्रधान र गृहमन्त्री, सांसद र रास्वपा अध्यक्षको पद गएको छ। सर्वोच्चले उनलाई पुनः नागरिकता प्राप्तिको बाटोमा लाग्ने ठाउँ भने खुलै राखिदिएको छ। 

भन्नु र गर्नुमा फरक हुन्छ भन्ने बुझ्न नपाउँदै रवि पदबाट तल झरेका छन्। हिजो टेलिभिजन कार्यक्रम चलाउँदा अरुलाई कानुन सिकाउने रवि अहिले स्वयं कानुन नजान्ने व्यक्ति प्रमाणित भएका छन्। राजनीति र सम्भवतः उनको व्यक्तिगत जीवनमा समेत यो उनले बेहोरेको सबैभन्दा ठूलो झट्का हुनसक्छ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आउन बाँकी छ। रवि नेपाली भएको र नागरिकता प्राप्त गर्नसक्ने अवस्था पनि छँदैछ। नागरिकता प्राप्तिपछि पुनः चुनाव लड्ने अवसर पनि सायद उनलाई आउनेवाला छ। तर, उनीमाथिको नैतिक प्रश्नले भने सायद उनलाई अब छाड्नेवाला छैन। रविले किन विधिको शासनमाथि धावा बोले? किन गृह मन्त्रालय नै रोजे? किन धैर्य गर्दै लामो राजनीतिक यात्रा तय गर्ने बाटो रोजेनन्? भन्नेजस्ता प्रश्न उनी वरपर घुमिरहनेछन्। राज्यलाई गुमराहमा राख्नु पनि अपराध नै हो।

नेपालको परम्परागत राजनीतिक शक्ति रवि र रास्वपाजस्ता शक्तिको अवसान चाहन्छ। सत्ता गठबन्धनको शक्तिशाली दल नै सही! रास्वपामाथि गठबन्धनमै रहेका नेताहरुबाट त्यस्ता आक्षेपहरु आउन थालिसकेका छन्। ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्ने उखान एकातिर छ, रवि त स्वयंका कारण ओरालो यात्रामा छन्। राज्यलाई गुमराहमा राखेको भन्दै उनीविरुद्ध अर्को उजुरी परे आश्चर्य मान्ने ठाउँ छैन। 

तर, एउटा सत्य के हो भने, पुरानाबाट धमिलिएको राजनीति सङ्लो हुन्छ भन्ने विश्वास आम नागरिकमा छैन। यसैले रविप्रति तत्काल जनभरोसा टुटिहाल्यो भन्ने अवस्था देखिँदैन। कानुन पालनाको चूकको मूल्य भने उनले तिर्नु नै पर्ने देखिन्छ। उनकै एक समर्थकको भनाइ सापट लिने हो भने, ‘लड्नु, धूलो टक्टक्याउँदै उठ्नु र फेरि हिँड्नुको मजा छुट्टै हुन्छ।’ रवि त्यो मजा लिन समर्थ हुन्छन् कि हुँदैनन्? त्यसको लागि भने केही समय कुर्नैपर्छ। यो जिज्ञासाको सामु रास्वपा, सत्ता गठबन्धन र देशको राजनीतिक भविष्यका कुराहरु कम्तिमा तत्कालको लागि गौण देखिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .