वैकल्पिक राजनीतिको कुरा गर्दा म चार नेताहरूको नाम लिने गर्छु– उज्जवल थापा, रवीन्द्र मिश्र, बालेन्द्र साह र रवि लामिछाने। उसो त बाबुराम भट्टराईले पनि नयाँ शक्तिको प्रयास गरेका हुन् तर उनको प्रयासलाई वैकल्पिक राजनीतिको श्रेणीमा राख्न उचित ठान्दिनँ। उनको प्रयास केवल अर्को नरम माओवादी दल खोलेर त्यसको नेतृत्व गर्नु थियो। स्वतन्त्ररूपमा चुनाव लड्ने सबैलाई वैकल्पिक राजनीतिको योद्धा भन्नु पनि अतिशयोक्ति हुन जान्छ। वैकल्पिक राजनीतिको प्रयास अरु धेरैले पनि गरे होलान् र गरिरहेका होलान् तर नेतृत्वको केन्द्रबिन्दुमा भने यी चारै आउँछन्।
यी चारमा आफ्नै शैली छ, थियो। उज्जवल थापा व्यक्तिगतरूपमा पनि शालीन र राजनीतिक रूपमा पनि उदार व्यक्ति थिए। राजनीतिमा व्यक्तिगत आचरण राम्रो भएर मात्र पनि हुँदैन, राजनीतिक चरित्र पनि चाहिन्छ। सायद त्यही भएर संगठनमा लडेर विवेकशीललाई अघि बढाउनभन्दा पार्टीबाट रिटायर हुने बाटो उनले रोजे।
त्यसपछि आएका रवीन्द्र मिश्र व्यक्तिगत आचरणमा असल मान्छे भए पनि राजनीतिक रूपमा उनी अस्थिर रहे। सायद त्यही अस्थिरपन र बुवाको विरासतमा राजाका सचिवहरूले खेल्ने मौका पाए। उनी पहिले नै राजाको पक्षमा माहोल बनाउने सोचका साथ राजनीतिमा आएका हुन् कि होइनन्, यसै भन्न सकिने कुरा भने होइन। तर, उनी राजनीतिक रूपमा अस्थिर हुन् भन्ने विषयमा दुई राय भने रहेन।
बालेन र रवि लामिछानेको राजनीतिक उदय करिब एकै समयमा भएको हो। रवि लामिछानेमाथि उठेका नागरिकता, पासपोर्ट र सहकारीसँग सम्बन्धित र अरु प्रश्नहरूबाट उनको व्यक्तिगत आचरणमा प्रश्न गर्ने ठाउँ रहन्छ। राजनीतिकरूपमा पनि उनी अस्थिर मात्रै होइन, एकदमै महत्वाकांक्षी पनि साबित भए। आफै मन्त्री हुनुपर्ने, त्यो पनि स्वार्थको बझान हुने गृहमा नै। राजनीतिक चरित्र र स्थिरता हुने नेतृत्व हुन्थे भने त उनी अहिले सत्ताको खेलभन्दा पनि पार्टीको महाधिवेशन र पार्टीको दस्ताबेज लेख्न केन्द्रित हुन्थे।
अर्का पात्र हुन् काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह उर्फ बालेन। उनको व्यक्तिगत आचरणमा तथ्यगत पुष्टि गर्ने आधार नहुँदा टिप्पणी गर्न चाहिनँ तर राजनीतिक चरित्र भने फासीवादसँग मिल्न जान्छ। टिममा काम नगर्ने चरित्र मात्र होइन कि स्थानीय स्तरको मेयर भएर पनि स्थानीयसँग नभेट्ने, छलफल र जवाफदेहिताबाट पर बस्ने किसिमका उनका अराजनीतिक आचरण विभिन्न कालखण्डमा पुष्टि भइसकेको छ। रास्वपाले अधोगति लिएसँगै कतिपयलाई बालेन अबको वैकल्पिक राजनीतिको नेतृत्वकर्ता हो भन्ने लागेको छ। तर एउटा राजनीतिक दल भनेको त अनेकतामा एकता हो र लोकतन्त्रको अभ्यास हो। मुकुल ढकालको ‘म’ भन्ने चरित्रले जुन अवस्था सिर्जना भयो बालेनले पार्टी खोल्दा त्योभन्दा बढी फासिस्ट अवस्था सिर्जना गर्न सक्छ।
यी त देखिएका नेतृत्वका विषय भए। नयाँ नेतृत्वका साथ पनि त विकल्प दिन सकिन्छ भन्ने तर्कहरू आउन सक्छन्। लोकतन्त्रमा विकल्प खोज्नु र विकल्प दिनु एकदमै सामान्य विषय हो। तर जुन किसिमको वैकल्पिक राजनीतिको हामी कुरा गरिरहेका छौँ त्यो सम्भव नरहनुमा माथिका साथै निम्न बुँदाहरूलाई मैले आधार मानेको छु।
१) संगठन निर्माणमा उदासीनता
नेपालमा वैकल्पिक राजनीति गर्न चाहनेहरू संगठन निर्माणप्रति सधैँ उदासीन रहे। यसको पछाडिको कारण के हो भने उनीहरूलाई न विचारले निर्देशित गर्यो, न त अभावले। संगठन कि त निश्चित विचारको वरिपरि निर्माण हुन्छ कि त अभावपूर्तिका लागि संगठित भइन्छ। जसरी मुख्य पार्टीहरू विशेषतः कांग्रेस र एमालेले भुुइँ तहसम्म गएर आफ्नो विचार प्रतिपादन गरे, त्यसले एक किसिमको भावनात्मक सम्बन्ध विस्तार भएको छ। पूर्ण लोकतन्त्रतर्फको यात्रामा कतिपय असन्तुष्टि रह्यो होला। त्यसको फाइदा विकल्प दिन्छु भन्नेहरूले ‘ग्रासरुट लेभलमा’ गएर आफ्नो संगठन निर्माण गर्न सक्नु पथ्र्यो।
त्यही संगठनको बलमा महाधिवेशनबाट नेतृत्व चयन गरेर जनताको पार्टी बन्न सक्नुपर्ने हो। तर सहरको वातानुकुलित कोठामा बसेर निराशा र अराजकताको आडमा संगठन निर्माण हुन सक्दैन। त्यसले त केवल अराजक र असन्तुष्टहरूको जमातमात्र खडा गर्दछ। सामाजिक सञ्जालका ‘लाइक र लभ रियाक्ट’ जनताले परिवर्तन खोजेको सांकेतिक तथ्यांक मात्र हो, संगठन निर्माणका लागि पर्याप्त आधार होइन।
२) विचारको अभाव
राजनीतिमा नीति, सिद्धान्त र विचारको विशेष महत्व हुन्छ। बलियो राजनीतिक शक्ति भएर स्थापित हुन संगठनको शक्ति अत्यावश्यक हो भने संगठन विचारकै जगमा बन्ने हो। राजनीतिक दलहरू वर्गीय हुन्छन् र उनीहरूले निश्चित वर्गको प्रतिनिधित्व गर्छन्। सबैको गर्छन् भन्ने हुँदैन। त्यसकारण दलहरू फरकफरक हुन्छन् र आफूले प्रतिनिधित्व गर्ने वर्गको विषय उठाउँछन्। मुलरूपमा उदार पुँजीवाद र समाजवादले समग्र राजनीतिक विचारलाई समेट्छ। दुवैको प्रतिनिधित्व गर्ने बलिया दल कांग्रेस र एमाले नेपाली राजनीतिमा स्थापित छन्। त्यसभित्र समुदाय र भूगोल विशेषका मुद्दा बोकेका ससाना दलहरूको सम्भावना हुने त भयो तर उनीहरू मुख्य शक्ति हुने सम्भावना न्यून रहन्छ।
नेपालमा वैकल्पिक भनेर आउन चाहने शक्तिहरूले आफू स्थापित हुने हो भने कांग्रेस–एमालेमध्ये कुनै एकको राजनीतिक स्पेस खोस्नुपर्ने हुन्छ। तर चाँडो स्थापित हुने रहरले यस्ता शक्तिहरूले आफ्नो विचार स्पष्ट गर्न सक्दैनन् र एजेन्डामा आधारित पो राजनीति गर्ने हो भनेर वितृष्णाको जनमत बटुल्छन्। विचारको अभावमा केही समयमै यो कुन वर्गको पार्टी भन्नेमा अन्योल छाउन थाल्छ। पार्टीका नेता कार्यकर्तामा पनि दुई फरक ध्रुवको वैचारिक लडाइँ हुन थाल्छ, जसको कुनै निकासै हुन्न। अन्तमा पार्टीको अवसान हुन्छ। विवेकशील साझामा भएकै यही हो।
३) राजनीतिक चरित्रको कमी
राजनीति सबैको वशको कुरा होइन। यसका लागि राजनीतिक चरित्र चाहिन्छ। मैले सबथोक जानेको छु, तसर्थ मैले भने अनुसार भए ठिक नभए म सामाजिक सञ्जालदेखि आम सञ्चारमा तथानाम बोल्ने लेख्ने गर्छु भन्ने सोचले राजनीतिक दलजस्तो सार्वजनिक संस्था चल्न सक्दैन। राजनीतिमा लागिरहँदा आफूले भनेजस्तो नहुन सक्छ, आज आफ्नो विचारलाई साथ दिनेहरू भोलि फरक प्रसंगमा साथ नदिन सक्छन्, षडयन्त्र हुन्छ। यस्ता अनेकन प्रतिकूलतालाई चिरेर खुट्टा दरिलो तवरले टिकाउन सक्नेले मात्र लामो समयसम्म राजनीति गर्न सक्छन्।
यो चरित्र केहीमा जन्मजात भए पनि धेरैले लामो समय विद्यार्थी र युवा राजनीतिमा जोडिएर प्राप्त गरेको अनुभवको आधारमा विकास भएको हुन्छ। अनुभवको कमी र लहडको भरमा वैकल्पिक राजनीतिको आन्दोलन सम्भव हुन सक्दैन। विद्यार्थी राजनीति, युवा राजनीति, ट्रेड युनियन आन्दोलनमा केही परिमार्जन आवश्यक हो भने बरु परिमार्जन सहितको आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा वैकल्पिक राजनीति भन्नेहरूले केवल लोकप्रिय हुन यस्ता आन्दोलनहरूको विरोधमात्रै गर्ने गरेका छन्। एकातर्फ यसले राजनीतिक अनुभव र विचार साटासाट गर्ने थलोको विकास गर्न नसक्ने भयो भने अर्कोतर्फ वैकल्पिक राजनीति कसका लागि भन्ने स्पष्ट नहुने भयो।
४) आदर्शको परिकल्पना
वैकल्पिक राजनीतिमा आकर्षित हुने धेरैले आदर्शको परिकल्पना गरिरहेका हुन्छन्। उनीहरूले के विचार गरेका हुँदैनन् भने राजनीतिक दल भनेको समाजकै प्रतिबिम्ब हो। समाजमा जति थरीका मानिस छन्, ती सबै प्रकारका मानिस हामी राजनीतिक दलभित्र पनि पाउँछौँ। वैकल्पिक पार्टीका नेताहरू पनि यही समाजका हुन् र मानिस नै हुन् भन्ने कुरा यसप्रति झुकाव राख्नेहरूले बेवास्ता गरिरहेका हुन्छन्।
आदर्शको परिकल्पना व्यावहारिक परिस्थितिमा कहाँ काम गर्दछ र! राजनीतिक दल भनेका वर्गीय हुन्छन् र उनीहरूले निश्चित वर्गलाई प्रतिनिधित्व गर्छन् भन्ने सत्यबाट टाढा रहँदा विकल्पको राजनीति फस्टाउन सक्दैन। एउटा कुनै दलले सबैको विचार प्रतिनिधित्व गर्न सक्दैन तर आदर्शको परिकल्पनामा वैकल्पिक राजनीति गर्छु भन्नेहरू अनुकूल अवस्थाबाट सुरु हुँदा पनि दिगो हुन सकेका छैनन्।
५) अप्राकृतिक संगम
वैकल्पिक राजनीतिमा जोडिन खोज्नेहरूको संगम दुई किसिमले अप्राकृतिक देखिन्छ। पहिलो, पार्टी निर्माण गर्ने चरणमा विचारको ख्याल नगरी सबै किसिमका मानिसहरू जोड्ने गल्ती वैकल्पिक राजनीतिले बारम्बार गरिरहन्छ। संख्या धेरै देखाउने लहडमा वामपन्थी, पुँजीवादी, राजावादी, सम्वद्र्धनवादी लगायत सबै एकै ठाउँमा आउँछन्। तर, जब पार्टीले आफ्नो विचार प्रष्ट गर्ने बेला आउँछ, तब यी सबै एकै ठाउँमा आउने सम्भावनै रहँदैन। यसले राजनीतिक दस्ताबेजहरू थाती राख्नुपर्ने अवस्था सिर्जना मात्र गर्दैन असन्तुष्टि विकास हुँदै त्यसले पार्टी निर्माणमा पनि रोक लगाउँछ।
दोस्रो, वैकल्पिक राजनीतिका नाममा ठूला पार्टीमा अवसर नपाएकाहरू जोडिएका छन्। कोही कसैको स्वकीय सचिव बन्न नपाएको रिसले, कोही चुनावमा टिकट नपाएको झोँकले असन्तुष्टिको पोका बोकेर वैकल्पिक राजनीतिको नाममा आफ्ना लागि अवसर खोज्ने थलो मात्र बनाउन खोजेको देखिन्छ। एक त व्यक्तिगत अवसर खोज्नेहरूलाई पार्टी निर्माणमा कुनै ध्यान नरहने भयो, अर्को उनीहरूको फरकफरक पृष्ठभूमिले पनि समस्या निम्त्याउने नै भयो।
लोकतन्त्र नभएका बेला लोकतन्त्र प्राप्तिका लागि विकल्पका रूपमा स–साना धेरै समूह हुनु सामान्य विषय हो। तर लोकतन्त्र प्राप्तिपश्चात् राज्य शत्रु होइन। राज्यलाई बलियो बनाउँदै जानुपर्छ र जनतामा राज्य शत्रु होइन भन्ने विचार प्रवल बनाउँदै लग्नुपर्छ। परिवर्तनको चाहना हरेक समाजमा हुन्छ। तसर्थ लोकतन्त्रमा विकल्प खोज्नु यसको अन्तर्निहित विषय हो। तर लोकप्रियताको आडमा वैकल्पिक राजनीति भनेर समाजमा अराजकता फैलाएर राजनीतिक फड्को मार्ने रणनीति अन्तर्गत वैकल्पिक राजनीति नेपालमा सम्भव छैन।
(आशीष रेग्मी नेकपा एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख हुन्)
Shares
प्रतिक्रिया