भन्नेहरू भन्छन्, ‘एज इज जस्ट अ नम्बर।’ अर्थात् उमेर एउटा सङ्ख्या मात्रै हो, गन्न सजिलो होस् भनेर निर्धारण गरिएको। नभए त उमेरमा के छ र? अनि उमेरलाई लिएर चिन्ता गर्नुपर्ने पनि के नै छ र! जो जतिसुकै वर्ष होस्!
तर होइन नि, तपाईंको उमेरले तपाईं जीवनको कुन कालमा हुनुहुन्छ, त्यो निर्धारण गरिदिन्छ। जस्तो कि बालक, युवा, प्रौढ वा ज्येष्ठ नागरिक। तर यो त सामान्य कुरा भयो। मान्छे जन्मिएपछि उसको उमेर थपिँदै जान्छ। यस्तो सामान्य कुरामा लेखिरहनै पर्दैन। बहस गरिरहनै पर्दैन। बहस गर्नुपर्ने विषय त अर्कै छ, जुन उमेरसँगै जोडिएको छ। चर्चा गर्न खोजिएको विषय सङ्घीय निजामती सेवा विधेयक, २०८० मा समावेश निजामती सेवा प्रवेशमा लगाइएको उमेर हदको हो।
दफावार छलफलका लागि संसदीय समितिमा पुगेको सङ्घीय निजामती सेवा विधेयकमा निजामती सेवालाई व्यवस्थित मात्रै होइन, चुस्त, दुरुस्त र तन्दुरुस्त बनाउन भन्दै थुप्रै विषय समावेश गरिएका छन्। कतिपय प्रावधान निजामती सेवा ऐन २०४९ कै निरन्तरता छ। अरु विषयलाई छोडिदिऊँ, अहिले कुरा गरौँ सेवा प्रवेशको प्रस्तावित उमेरको बारेमा।
विधेयकमा गरिएको व्यवस्था अनुसार तपाईं पुरुष हुनुहुन्छ, तपाईंलाई निजामती सेवामा प्रवेश गर्न मन छ, शैक्षिक योग्यता पुग्छ, पढ्नुभएको छ, बुझ्नुभएको छ, सबै कुराले योग्य र क्षमतावान् पनि हुनुहुन्छ तर बत्तीस वर्ष कटेर एक दिन मात्रै अघि बढ्नुभएको छ भने तपाईं अयोग्य ठहरिनुहुन्छ। अनि, महिलाको हकमा पनि सेवा प्रवेशको उमेर घटाइएको छ। तपाईं महिला हुनुहुन्छ र ३७ वर्ष पार गरिसक्नुभयो भने तपाईंले सरकारी सेवामा प्रवेश गर्ने सपना त्यागिदिनुपर्छ।
विधेयकको दफा १८ मा उम्मेदवार हुनको लागि योग्यता निर्धारण गरिएको छ। १८ (१) (ग) मा पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष पूरा नभएको नेपाली नागरिक सङ्घीय निजामती सेवाको पदमा उम्मेदवार हुन सक्ने उल्लेख छ। हुन त यसमा विभिन्न राजनीतिक दलका सांसदले संशोधन हालेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिले सबैको राय बुझेपछि विधेयकलाई कसरी अघि बढाउँछ, हेर्न बाँकी नै छ। तर निजामती सेवा प्रवेशका लागि उमेर घटाउनु व्यावहारिक त छैन नै, अन्यायपूर्ण पनि छ। ्
निजामती सेवा ऐन २०४९ को पहिलो संसशोधन, जुन २०५५ सालमा भएको थियो, त्यसबाट निजामती सेवा प्रवेशको लागि पुरुषको उमेर ३५ र महिलाको लागि ४० वर्ष तोकिएको थियो। यसअघि दुवैको हकमा सेवा प्रवेशको उमेर ३५ नै थियो। त्यतिबेला पनि पर्याप्त छलफल गरेरै यो व्यवस्था लागू गरिएको हुनुपर्छ।
नेपाली समाजको सामाजिक अवस्था र परिवेश अनुसार पनि उमेरको यो अधिकतम हद ठिकठाक जस्तो देखिन्छ। फेरि किन उमेर घटाउन प्रस्ताब गरियो? सेवा प्रवेशको लागि हालको भन्दा ३ वर्ष उमेर घटाउँदैमा निजामती सेवामा उत्कृष्ट र योग्य कर्मचारी मात्रै प्रवेश गर्ने हुन् र? कि ३३ पुगेका पुरुष र ३७ कटेका महिला योग्य हुँदैनन्? कोही कति योग्य छ भन्ने कुरा उसको उमेरले निर्धारण गर्ने होइन नि! उम्मेदवारको उमेर होइन उसको पढाइ, लगनशीलता, विषयप्रतिको बुझाइ, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा बदल्न सक्ने सीप, आत्मविश्वास, सरकार मातहत रहेर नागरिकको सेवा गर्ने अठोट। यस्तै यस्तै कुराले निजामती कर्मचारी हुन योग्य ठहर्याउनुपर्छ।
फेरि कसैले सरकारी संयन्त्रमा रहेर नागरिकको सेवा गर्ने चाहना देखाउँछ भने उसलाई किन उमेरको लक्ष्मण रेखा कोरिदिने? यसै पनि नेपाली समाजमा महिलाले पढ्न मात्रै र जागिर खान मात्रै पाउने अवस्था छैन। कसैले सानैमा पढाइ पूरा गर्न सक्लान्, कोही पारिवारिक जिम्मेवारीमा अल्झिएलान्। कोही बीस, बाइसको उमेरमा पारिवारिक सुख भोग गर्दै होलान् त्यसपछि उच्च शिक्षा पढ्न थाल्लान्। कसैलाई तीस, पैँतीसको उमेरसम्म प्राइभेट जागिर खान मन लाग्ला। त्यसपछि अचानक सरकारी सेवामा प्रवेश गर्न रहर जाग्ला।
कसैले बिहे गरेर, छोराछोरी हुर्काएर, पारिवारिक जिम्मेवारी पूरा गरेर अब आफ्नो लागि सोच्छु भन्लान्। अनि त्यसपछि कस्सिएर पढेर सरकारी जागिरमा नाम निकाल्लान्। कोही हुन सक्लान्, तरुन जीवनका पहिला वर्षहरूमा आफ्नै व्यापारव्यवसाय गर्ने चाहना भएका, अनि त्यसपछि निजामती सेवामा प्रवेश गर्न मन लाग्ने। कोही हुन सक्लान् प्लस टु सकेर वैदेशिक रोजगारीमा हानिएका। आठदस वर्ष उतै दुःख गरेर अलिअलि दाम कमाएर, त्यो भन्दा धेरै दुःख भोगेर, वैदेशिक रोजगारीको अनुभव र ज्ञान लिएर, नयाँनयाँ काम र ठाम देखेर आएका। फर्किएर थप अध्ययन गरेर, आफूलाई अब्बल साबित गरेर आफ्नो बाँकी समय निजामती सेवा मार्फत आफ्नै देश र नागरिकको सेवा गरौँ भन्ने चाहना पालेका।
कोही होलान् गैरसरकारी क्षेत्रको अनुभव बटुलेका। एउटा उमेरसम्म निजी, गैह्रसरकारी जागिर गरेका, वा व्यापार, व्यवसायतिरको अनुभव बटुलेर, हण्डरठक्कर खाएर, निखारिएर, तिखारिएर अघि बढेका। अनि, आफूले सिकेको सीप, ज्ञान, योग्यता र क्षमताको प्रयोग मार्फत सरकारी सेवा गर्छु भनेर सोचेका।
यस्ता सोच भएका तमामलाई सरकारी सेवामा हाँसीहाँसी स्वागत गर्ने खुला हृृदय ऐनले देखाउनुपर्छ। हुन त ४० को उमेर हद घटाएर ३७ बनाउने प्रस्ताव गर्नुको पनि कारण छ। हाम्रो वर्तमान ऐनले अनिवार्य अवकाशको उमेर ५८ लाई मानेको छ। कोही ४० मा निजामती सेवामा प्रवेश गरेको खण्डमा उसले अवकाश लिँदा सरकारी सेवामा १८ वर्ष मात्रै बिताउन पाउँछ। जबकि पेन्सन सहितको सुविधा पाउन २० वर्ष सेवा गर्नुपर्ने हुन्छ। यसले अवकाशको समयमा व्यावहारिक र नीतिगत कठिनाइ उत्पन्न गराउने देखिएपछि उमेर हद घटाउन खोजिएको होला।
तर यसको समाधानको लागि सेवा प्रवेशको उमेर घटाउने होइन बरू अवकाशको उमेर दुई वा तीन वर्ष बढाउन सकिन्छ। यसै पनि विधेयकमा अवकाशको उमेर हद दुई वर्ष बढाएर ६० बनाइएको छ। यति हुँदाहुँदै पनि फेरि किन सेवा प्रवेशको अधिकतम उमेर हद चाहिँ घटाइयो?
अहिले हाम्रो देशको औसत आयु लगभग ७२ पुगिसकेको अवस्था छ। ६०–६५ वर्षको उमेरसम्म त तपाईं हाम्रा अभिभावक मज्जाले कार्यालयको काम गरेर हिँडिरहेको देखिरहेकै छौँ। फेरि कसैलाई केही समस्या परेर समय अगावै सेवाबाट निस्किन चाहे त्यो उसको स्वेच्छाको कुरा पनि हो।
अर्को कुरा निजामती सेवामा ज्ञान, बुद्धि र सीपले काम गर्ने हो। कुनै बलको काम गर्नुपर्ने होइन। बलको काम गर्नुपर्ने सेवातर्फ सेवा प्रवेशको उमेरको हद अलग्गै राख्नुपर्ला त्यो जायज कुरा हो। जस्तो कि, सेनाप्रहरी लगायतका सुरक्षा निकायहरूमा प्रवेश गर्नुपर्दा उमेरहदको व्यवस्था अलग्गै छ।
पुरुष हुन् वा महिला दुवैको हकमा तीनतीन वर्ष घटाउनेगरी गरिएको प्रस्ताव अन्यायपूर्ण छ। नेपाली समाज र परिवेश हेर्दा महिलाको तुलनामा पुरुषलाई पढ्न लेख्न र जागिर गर्न केही सहजता र स्वतन्त्रता होला। तर त्यसो भन्दैमा बत्तीसको उमेर हद तोकिदिनु न्यायपूर्ण छैन। किनकि सबैले समयमा नै पढेर सक्छन् भन्ने छैन। कसैको पढाइ बीचमै रोकिएला, कोही स्नातक तह पूरा गर्दैमा पच्चीसको होला। कसैलाई स्नातकोत्तर तह सकेर मात्रै जागिर गर्ने इच्छा होला। अनि पढ्दा पढ्दै स्नातकोत्तर सक्दा उमेरले तीस छोला। अनि दुई वर्षको तयारीमा उसलाई निजामती सेवामा प्रवेश गर्न कत्तिको सम्भव होला?
अझै महिलाहरूको स्थिति त्यो भन्दा असहज हुन सक्छ। हुन त अठार वर्ष पार गर्नेबित्तिकै राजपत्र अनङ्कित वा सहायक तहको पदमा सेवा प्रवेश गर्नेहरू पनि छन्। चालीसमै पेन्सन खानेहरू पनि छन्। तर सबैको अवस्था एउटै हुँदैन नि! अब कतिले जागिरमा प्रवेश गर्नको लागि पनि चालीसको हद राख्नुपर्छ त? क्षमता भएको मानिस पच्चिसमै पास भइहाल्छ नि! पनि भन्न सक्लान्। अर्कोतिर तर्क त यो पनि गर्लान् कि यो देशमा राजनीतिक नियुक्तिको लागि अधिकतम उमेर हद तोकिँदैन। जति उमेरसम्म पनि राजनितिक नियुक्ति लिन सकिन्छ। जति वर्षसम्म पनि नेता/सांसद पदमा उठ्न सकिन्छ। न्यूनतम उमेर तोकिएको भए पनि अधिकतम उमेर हद निर्धारण गरिँदैन, अनि निजामतीमा मात्रै किन? जे होस्, यतातिर धेरै टाउको नदुखाऊँ। निजामती विधेयकतिर फर्किऊँ।
अघिल्लो आर्थिक वर्षको तथ्याङ्क हेर्दा देशमा रहेका ८५ हजारभन्दा धेरै कर्मचारीमध्ये २८ प्रतिशतभन्दा केही बढी अर्थात् २४ हजार हाराहरीमा महिला कर्मचारी छन्। जबकि, दशकअघि महिलाको प्रतिनिधित्व लगभग १६ प्रतिशत मात्रै थियो। अब उमेरहद घटाउने हो भने महिलाहरू निजामती सेवामा प्रवेश गर्ने दर पनि घट्न जान्छ।
त्यसैले सरकारले विधेयक बनाउँदा एकदुईको होइन, बहुसङ्ख्यक नागरिकको चाहना र अवस्था हेरेर बनाउनुपर्छ। फेरि उमेर हद यो भन्दा पनि बढाउने भनेको पनि होइन, भइरहेको व्यवस्थाबाट किन घटाउने भनेको हो। जागिर प्रवेशको उमेर हद बढाउँदै लगेर पचासै पुर्याउने भन्न खोजिएको पनि होइन। बुढेसकालले छुँदासम्म कामै गरिरहन पाउनुपर्छ भन्ने पनि होइन। भइरहेको व्यवस्थालाई के गरेर कायमै राख्न सकिन्छ, त्यतातर्फ सांसदहरूले सोच्नुपर्छ मात्रै भन्न खोजेको।
हुन सक्छ यसरी विधेयक ल्याउनुको उद्देश्य हाम्रो निजामती संरचना युवा र उर्जावान् होस्। जोसिलो होस्। सैँतीसमा प्रवेश, साठीमा अवकाश। तर के यसो गर्दैमा निजामती सेवा प्रवाह चुस्त होला? बरू निजामती सेवा चुस्त बनाउन कर्मचारीहरूलाई सेवा प्रवेशको समयमा जस्तै पढ्न लेख्न र अध्ययनशील बन्नमा प्रेरित गरिरहनुपर्छ। उनीहरूले रोजेको विभाग, सेवा र पदको लागि पर्याप्त तालिम दिनुपर्छ। देश विदेशको पछिल्लो अवस्थाको बारेमा सिकाउनु, बुझाउनु पर्छ। अनि सेवा वर्षको आधारमा होइन, क्षमताको आधारमा बढुवा हुने प्रणाली स्थापित गराउनुपर्छ। एकपटक मात्रै होइन, ज्ञान, सीपको परीक्षण समय समयमा गर्न पनि सकिन्छ। तर यसरी उमेर घटाउँदैमा सेवा प्रवाह सोचेझैँ रफ्तारको हुँदैन।
निजामती सेवा बाहेकका अन्य क्षेत्रमा त हामी भन्छौँ– युवा जोस र जाँगर उमेरमा होइन, सोचमा हुन्छ। किनकि उमेर त गणनामा आउने सङ्ख्या मात्रै हो। निजामती मात्रै होइन, जुनसुकै सेवा प्रभावकारी हुन इच्छाशक्ति चाहिने हो, युवा शक्ति मात्रै होइन।
(पन्ध्र वर्षदेखि पत्रकारितामा क्रियाशील शोबिता रिसाल नेपालखबरमा समसामयिक विषयमा लेख्छिन्)
Shares

प्रतिक्रिया