विचार


आत्ममुग्ध ओली-दाहाल-देउवा र एसम्यानहरूको ताँती

आत्ममुग्ध ओली-दाहाल-देउवा र एसम्यानहरूको ताँती

नरेन्द्र थापा
पुस २२, २०८१ सोमबार १८:५१, काठमाडौँ

श्रेणीबद्ध शक्ति संरचनाको शीर्षमा रहने नेतृत्वले मानव विकासमा ठूलो प्रभाव पार्दै आएको छ। नेताले संगठनलाई मात्र होइन व्यापक सामाजिक, राजनीतिक र आर्थिक परिदृश्यलाई नै बदलिदिन सक्छ। सत्तामा पुग्नका लागि कुनै पनि नेतालाई लचिलोपन, बुद्धिमत्ता र रणनीतिक चेत आवश्यक पर्दछ। ती गुण आफूमा कायम राखिराख्न राजनीतिज्ञको चरित्र, मूल्यमान्यता र प्राथमिकताले भूमिका खेलेको हुन्छ।

निजी स्वभाव एवं विशेषता, परिस्थितिजन्य कारकहरू र सामाजिक गतिशीलताको उपयुक्त संयोजन भयो भने एउटा व्यक्ति नेता बन्न सक्छ। नेता बन्ने प्रक्रिया भने उसको क्षमताको पहिचानबाट सुरू हुन्छ। जब उसले प्रभावशाली व्यक्तित्व वा निर्णय क्षमता देखाउँछ, तब उसका ती गुणले जनसाधारणको ध्यान अनि समर्थन पनि आकर्षित गर्दछ।

त्यसपश्चात् उसले राजनीतिक सञ्जाल बनाएर सो श्रेणीभित्रका प्रभावशाली व्यक्ति वा समूहहरूको समर्थन प्राप्त गरेर गठबन्धनहरू निर्माण गर्दछ। नेतृत्वको अवसरहरू प्राय: संकटको क्षणमा वा शक्ति शून्यताको स्थितिमा उत्पन्न हुने गर्दछन्। यद्यपि, यो प्रक्रिया चुनौतीविहीन भने छैन।

सामाजिक-आर्थिक स्थिति, लैंगिक, धार्मिक र जातीय तत्त्वहरूजस्ता संरचनात्मक अवरोधहरूले कहिलेकाहीँ वास्तविक योग्यतालाई समेत ओझेलमा पारेको हुन्छ।

पार्टीगत राजनीतिमा जसरी कुनै व्यक्ति साधारण सदस्य, जिल्ला तह, प्रदेश हुँदै  केन्द्रीय समितिमा निर्णायक भूमिका निर्वाह गर्दै पार्टी अध्यक्षसम्म बन्छ, त्यसैगरी संसदीय राजनीतिमा स्थानीय तहमा नेतृत्व, सांसद, मन्त्री, संसदीय दलको नेता हुँदै देशको कार्यकारी प्रमुखसम्म बन्छ।

असाधारण स्थितिमा भने यो पदानुक्रम लागू हुन्छ नै भन्ने छैन। जस्तो कि, छापामार लडाकु कमान्डर हुँदादेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीको अध्यक्ष पदमा आसीन छन्, जुन पद उनले अझै पनि छाड्न चाहेको देखिँदैन। यस लेखमा एउटा व्यक्ति जब शक्ति संरचनाको उच्चतम् विन्दुमा पुग्दा उत्पन्न हुने शासकीय स्वाभावमाथि आलोचनात्मक दृष्टिकोणबाट विश्लेषण प्रस्तुत गरिएको छ।

व्यक्ति जब पार्टीगत राजनीतिका साथै संसदीय राजनीतिका विभिन्न चरणहरू पार गर्दै शीर्ष स्थानमा आसीन हुन्छ, प्रथमतः उसको समानान्तर प्रतिस्पर्धी अत्यन्तै सीमित व्यक्ति मात्रै हुन्छन्। नेपालको समकालीन राष्ट्रिय राजनीतिमा केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मात्रै एकअर्काको प्रतिस्पर्धीका रूपमा देखिँदै आएका छन्।

झण्डै एक दशकदेखि यिनीहरूबीच नै संख्यागणित र राजनीतिक स्वार्थको मेल भएको खण्डमा आपसी समझदारीमा दुइटा मिलेर तेस्रोलाई पछार्ने क्रम चल्दै आएको छ। नेतृत्वको शीर्ष स्थानमा पुग्दा व्यक्तिभित्र केही गुणहरू विकसित हुँदै जान्छन्। जसमध्ये एक हो, बोलीचालीको भाषामा प्रचलित मपाईँत्व अथवा आत्ममुग्ध व्यक्तित्वको विकास। जसले गर्दा उसले आफूअनुकूल बाहेक फरक विचार र विपरीत राय सहँदैन, चाहे त्यो व्यक्ति आफ्नो पार्टीको वा शासकीय संरचनाको हिस्सा नै किन नहोस्।

उनीहरूले आलोचनात्मक विचार राख्ने व्यक्ति र संस्थाहरूलाई ठेगान लगाउन आफ्नो पद र राज्यका संरचनाहरूको सहजै दुरुपयोग गरिरहेका हुन्छन्। हालै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाही, भारतमा नरेद्र मोदीको सरकारले विपक्षी नेता र सरकारको आलोचना गर्ने मिडिया हाउसविरुद्ध प्रवर्तन निर्देशनालय र केन्द्रीय जाँच ब्युरोको प्रतिशोधयुक्त प्रयोगदेखि बंगलादेशमा शेख हसिनाले विरोधीलाई निमिट्यान्न पार्न गरेको न्यायालय, प्रहरी र भ्रष्टाचार नियन्त्रक संस्थाको दुरूपयोग यसका केही ज्वलन्त उदाहरण हुन्।

शासकीय संरचनाको उत्कर्षमा पुग्दा शासकले आफूलाई नै उक्त पदको लागि सबैभन्दा योग्य पात्र सम्झिन्छ र आफूबाहेक अरूले त्यो भूमिका कुशलतापूर्वक निर्वाह गर्न सक्दैन भन्ने पूर्वाग्रह पाल्छ। किनकि आफूले विभिन्न राजनीतिक खुड्किलाहरू संघर्षपूर्ण ढङ्गले पार गर्दै लामो समय राजनीतिमा व्यतीत गरेकोले उसभित्रको ‘मपाईंत्व’ मौलाउँदै गइरहेको हुन्छ। शीर्ष कहलिएका नेताहरूले नवागन्तुक राजनीतिज्ञलाई ‘केटाकेटी’ भनेर गर्ने सम्बोधन र बारम्बार ‘हामीले जेलनेल सहेका हौँ’ भन्ने अभिव्यक्तिबाट यो प्रष्ट हुन्छ।

आफूले जेलनेल भोगेर गरेको राजनीतिक संघर्षको फल आफैले चाख्न पाउनुपर्छ भन्ने मानसिकताका कारण उनीहरूले आफ्नो समानान्तर नेतृत्व नै विकास हुन दिँदैनन्। परिणामः हँ मा हँ मिलाउने एसम्यानहरूको ताँती पैदा हुँदै जान्छ। उच्च पदमा आसीन नेतृत्वले आफूप्रति सबैभन्दा वफादार र अनुगृहित एसम्यानलाई राजनीतिक स्थान प्रदान गर्छन्। एसम्यानले कुनै दिन नेतृत्वलाई चुनौती दिन थालेछ भने फेरि उसलाई भित्तामा पुर्‍याउने खेल सुरू हुन्छ।

यो प्रवृत्ति आफूलाई नयाँ र वैकल्पिक धार दाबी गर्ने दलमा पनि देखिन्छ। मुकुल ढकालको भूमिकाले राष्ट्रिय स्वतन्त्र पार्टीमा तबसम्म सार्थकता पायो, जबसम्म उनी सभापति रवि लामिछानेका एसम्यान रहे। दक्षिण एसियाली मुलुकहरूमा ‘एसम्यान पोलिटिक्स’ व्यापक रूपले फैलिएको छ। घनश्याम भुसाल, भीम रावलहरूलाई आम निर्वाचनमा सांसदको टिकट नै नदिएर किनारामा धकेल्ने, अनि महेश बर्तौला, सूर्य थापा, विष्णु रिमालहरू च्याप्ने ओली प्रवृत्ति हामी दक्षिण एसियालीका लागि न नयाँ हो न त अनौठो नै। बरु यो त आफूभन्दा राजनीतिक हिसाबले सिनियर राजस्थानको राजनीतिमा अद्वितीय छवि बनाएकी वरिष्ठ नेतृ वसुन्धारा राजे सिंधिया र चारपटकसम्म मध्य प्रदेशको मुख्यमन्त्री भई सफलतापूर्वक नेतृत्व गर्दै सन् २०२३ को विधानसभा चुनावमा अभूतपूर्व जित दिलाएका शिवराजसिंह चौहानहरूलाई किनारा लगाएर पछाडिको वृत्तका भजनलाल शर्मा र मोहन यादवहरूलाई मुख्यमन्त्री पद सुम्पिने मोदी प्रवृत्तिकै नेपाली संस्करण हो। यसबाट उनीहरूले आफ्नो समानान्तर नेतृत्व विकास हुनै दिँदैनन् भन्ने युक्ति नै प्रमाणित हुन्छ।

यस प्रकृतिको शासकीय स्वभाव र यसद्वारा विकसित पदानुक्रम चिरस्थायी भने नरहन सक्छ। कहिलेकाहीँ स्वत: उत्पन्न भिडले पनि छिन्नभिन्न पारिदिन सक्छ, जसलाई परिचालन हुन कुनै दुई तिहाइ बहुमतको आवश्यकता पर्दैन।

विसं २००७ सालको राणाविरोधी आन्दोलन, विसं २०४६ सालको जनआन्दोलन र विसं २०६२/२०६३ सालको जनआन्दोलनका दृष्टान्तहरूलाई केलाउँदा त्यतिखेरका शासकहरूमा पनि अत्यन्तै प्रतिरोधक स्वभाव देखिँदादेखिँदै पनि यस्ता ऐतिहासिक घटनाहरू घटित भए। श्रीलंकामा सन् २०२२ मा गोटाबाया राजापाक्षे र बंगलादेशमा सन् २०२४ मा शेख हसिनाको विस्थापन यसका थप साक्ष्य हुन्।

अन्तत: शक्ति संरचनाको शीर्ष तहमा शासकमा उत्पन्न हुने मपाईंत्व वा आत्ममुग्धताको भावना र आफ्नो समानान्तर नेतृत्व विकास हुनै नदिने प्रवृत्तिलाई समृद्ध प्रजातान्त्रिक माहोल, पार्टीहरूमा आन्तरिक प्रजातन्त्रको विकास र राज्यका संरचनाहरूको स्वायत्ततापूर्वक सञ्चालनले न्यूनीकरण गर्न सक्छ।

(नरेन्द्र थापाले भारतको नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर गरेका छन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad