प्राचीन कालदेखिको परम्पराका कारण भारतीय सिनेमामा यदाकदा आध्यात्मिक चेतना मुखर भएर आएको देख्न सकिन्छ। गौरी शिन्डेले निर्देशन गरेको ‘डियर जिन्दगी’ नामको चलचित्रमा भर्खर कलेजको शिक्षा पूरा गरेका युवायुवतीले आ–आफ्नो रुचि अनुसारको पेशा या व्यवसाय रोज्छन्। तीमध्ये एउटी युवतीले आफ्नो मनको कुरा यसरी खुलासा गर्छे– साथी हो, मैले त आफैंमाथि काम गर्ने निश्चय गरें। यस्तो अनपेक्षित निर्णय सुनेर उसका अधिकांश साथीहरू चकित हुन्छन् तर एउटी साथीले उसलाई हौस्याउँदै भन्छे– त्यो त यो शताब्दीको बहुत ठूलो काम हो, गर!
आध्यात्मिक परम्परामा आफैंमाथि काम गर्नुलाई साधना भनिन्छ। आफ्नो मनका रहस्य र क्षमता बोध गर्नु, आफ्नो व्यक्तित्त्वका सम्भावनाहरू पहिल्याउन जागरुक हुनु आफैंमाथि काम गर्न उत्सुक हुनु हो। अध्यात्ममा स्वस्थ हुनु भनेको ‘स्व’ आफूमा ‘स्थ’ स्थित हुनु हो। शरीर एवं मन दुवै स्वस्थ र शुद्ध भए मात्र बुद्धत्त्वको खोजी सम्भव हुन्छ। मानिसका इच्छा आकांक्षा देश, काल, परिस्थिति र संस्कारले दश तिर छरिएका छन् तर बुद्धत्त्व जत्तिकै पाउन लायक या खोजी गर्न लायक अर्थोक अस्तित्त्वमा सायदै केही होला।
स्वस्थ हुनु भनेको रोगमुक्त हुनु मात्र होइन। स्वास्थ्य केही बृहत्तर उद्देश्यका लागि हो भन्ने हेक्का राख्न सके मात्र मानिसले अस्वस्थ आहारविहार र सोचविचारबाट परहेज गर्न सक्छ। अन्यथा वर्षौं या दशकौंदेखि लागेको अस्वस्थकर बानी व्यवहार छुटाउन असम्भवप्रायः हुन्छ। स्वस्थ रहनु हाम्रो जन्मजात स्वभाव हो, यावत् रोगहरू आयातीत हुन्। यदि विजातीय पदार्थको सेवन नगर्ने हो र शरीरलाई अधिकांश समय सक्रिय राख्ने हो भने शरीर स्वस्थ रहन्छ। अधिकांश रोगहरूको कारण टक्सिनयुक्त खानपान र अकर्मण्य जीवनशैली नै हो। अनावश्यक या अनपेक्षित सामाजिक संसर्गले सरुवा रोगहरूबाट संक्रमित हुने जोखिम बढाउँछ। वर्तमान महामारीले अत्यावश्यक बाहेक हरेक प्रकारका सामाजिक संसर्गहरू त्याज्य छन् भन्ने सुझाएको छ।
स्वस्थ आहारविहारद्वारा शरीरलाई स्वस्थ राख्नु जति महत्त्वपूर्ण हुन्छ त्योभन्दा अधिक मनलाई स्वस्थ एवं शुद्ध राख्नु अत्यावश्यक हुन्छ। गलत संगत र संस्कारले मनलाई अशुद्ध बनाउँछ। मनमा पैदा हुने राग, द्वेष र वेहोशीले मनलाई अस्वस्थ बनाउँछ। व्यक्ति, वस्तु या विचारप्रति मनमा अनायासै राग या द्वेष पैदा हुन्छ। जति आसक्ति बढ्छ त्यति अकुशल कर्ममा मानिस प्रवृत्त हुन्छ। अकुशल कर्मको अनुपातमा मन अशुद्ध हुन्छ। बारीमा झारपात सजिलै उम्रन्छन् तर फलफूलको विरुवा हुर्काउन यथोचित मलजल गर्नुपर्छ। आफैंमाथि काम गर्नुको अर्थ मनमा उम्रेका झारपात रूपी कुविचार गोडमेल गर्नु र शान्ति, प्रज्ञा एवं करुणाका विचारलाई मलजल गर्नु हो। धर्मको अभ्यासमा गरिने शील पालना मनलाई शुद्धीकरण गर्ने उपाय हो।
भनिन्छ, एउटा बच्चालाई एकाध वर्षको हुँदासम्म बोल्न सिकाउन मुस्किल हुन्छ, त्यसपछि जीवनभर उसलाई चुप रहन सिकाउन हम्मे पर्छ। मानव सभ्यताको आदि कालमा आपसी संवादका लागि भाषा विकसित गर्न मुस्किल परेको थियो, अहिले त्यसको अतिप्रयोग समस्या बन्दै गएको छ। मानिस एक्लै जन्मन्छ र एक्लै मर्छ। जीवनको अन्तरालमा सामाजिक सम्बन्धहरू विकसित हुन्छन्। कालक्रममा मानिसले सामाजिक सम्बन्धहरूको सीमा छ र निजत्त्व उसको निम्ति अधिक महत्त्वपूर्ण हो भन्ने बिर्सिदिन्छ। बृहत्तर समाजको हिस्सा भए पनि मानिस स्वयंमा एउटा पूर्ण अस्तित्त्व हो। यतिखेर महामारीले सृजना गरेको विषम परिस्थितिले मानिसलाई आफ्नै बारेमा बुझ्न, आफूभित्र डुब्न र अन्तर्यात्रा गर्न अवसर दिएको छ।
देशको, समाजको, अर्थव्यवस्थाको, राजनीतिको, धर्मको, अरूको बारेमा चिन्ता र चिन्तन गरिरहँदा मानिसले आफ्नै बारेमा चिन्तन मनन गर्ने उछार पाएको हुँदैन। कतिपय मानिसलाई जीवनभन्दा जीवनको हिसाबकिताव महत्त्वपूर्ण लाग्न थालेको छ, खुशीभन्दा खुशीका साधनहरू प्रिय लाग्न थालेका छन्। आफ्नो मनभित्र पीडा र व्यथाको जति हुण्डरी मच्चिरहोस्, बाहिरबाट देख्नेले शान र मान बढेको नै देखून् भन्ने अभिलाषा हावी भएको छ। मानिसले आफ्नो अन्तःप्रवृत्ति र रुचिलाई प्राथमिकता दिन छाडेको छ। कुन प्रकृतिको काम गर्दा या कुन विषयको अध्ययन गर्दा अधिक अर्थोपार्जन हुन्छ, पद र प्रतिष्ठा प्राप्त हुन्छ भन्ने सोच प्रमुख भएको छ र त्यसका निम्ति घुँडोमुन्टो जोडेर काम गर्दागर्दा मानिसको अन्तरात्मा मृतप्राय बनिसकेको छ।
परिवार, जागिर, सामाजिक स्ट्याटस आदिको पछि दौडंदा मानिसले जीवनका खुशीहरू महसुस गर्नै भ्याउँदैन। तीव्र गतिमा कुदिरहेको सवारीबाट हेर्दा वरपरका दृश्यावली धुमिल देखिन्छन्। जीवनको गति तीव्र हुँदा सुख, शान्ति र खुशीहरू देख्नै नपाई ओझेल पर्छन्। सुख, शान्ति र खुशी लक्ष्य हुन् तर यी कुरा पाउन दौडने उपक्रममा दौड आदत बन्छ, सुख शान्ति गौण हुन थाल्छन्। खुशीको क्षण आउँदा पनि खुशी मिल्दैन, दौडनुमै खुशी मिलेजस्तो हुन्छ। त्यो बेला मानिस गुनगुनाउन थाल्छः
इससे बढकर बेवशी दुनिया में नहीं होती।
जब खुशी के मिलने पर भी खुशी नहीं होती।।
महामारीको संगीन घडी महत्त्वाकांक्षालाई केही विश्राम दिएर शरीर र मन स्वस्थ बनाउने विकल्पहरू प्रयोग गरी हेर्ने उपयुक्त समय हो। हामीसँग विकल्पहरू यथेष्ट छन्। पूर्वीय सभ्यताले विकसित गरेको आध्यात्मिक दर्शन एवं अभ्यासको धरोहर हामीले उपयोग गर्न सक्छौं। आफैंमाथि काम गर्नु भनेको स्वस्थ भएर आफू को हुँ, आफ्ना सम्भावना के हुन् त्यसको सही पहिचान गर्नु हो। त्यसका लागि स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर बारे जानौं। पञ्चकोश अर्थात् अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोशका बारेमा जानौं। नेती, धौती, नौली, वस्ती, कपालभाती र त्राटकजस्ता षट्कर्मको अभ्यास गरेर शरीर शुद्धि गरौं। योगासनको अभ्यास गरेर शरीरबाट विजातीय पदार्थलाई विरेचन गरौं। शरीरलाई पुष्ट, लचक र फूर्तिलो बनाइराखौं। नास्ति योग समं बलम् अर्थात् शरीरलाई बलियो बनाउन योगाभ्यास समान उपाय अर्थोक केही छैन।
प्राणायामको अभ्यास गरेर स्वासलाई लामो र गहिरो बनाउन सकिन्छ। नाडी शोधन प्राणायाम, कपालभाती, भस्त्रिका, भ्रामरी, पूरक, रेचक, कुम्भक लगायत प्राणायामले स्वासप्रश्वास प्रणालीका ब्लकेज अर्थात् अवरोधहरू शुद्ध बनाइदिन्छ र यो प्रणाली स्वस्थ एवं सक्रिय हुन थाल्छ। भाइरसले कमजोर स्वासप्रश्वास प्रणाली भएका मानिसमा छिटो आक्रमण गर्न सक्छ भन्ने अनुसन्धानहरूबाट प्रष्ट भइसकेको छ। अतः प्राणायाम नियमित अभ्यास गरेर यो प्रणालीलाई चुस्त राख्नु बुद्धिमानी हुनेछ। अर्कोतर्फ प्राणायामले मनलाई स्थिर बनाउन मद्दत गर्छ। भनिन्छ– चले वातं चलं चित्तं निश्चले निश्चलं मतम् अर्थात् स्वासप्रश्वास अस्थिर छ भने मन पनि अस्थिर हुन्छ, स्वासप्रश्वास स्थिर छ भने मन पनि स्थिर हुन्छ। मन वर्तमान अस्थामा स्थिर र शान्त रहनु आफैंमा अद्भुत अनुभूति हो। अन्ततः ध्यान र समाधिको द्वार खुल्छ, साधकले बुद्धत्त्वको आभास पाउन थाल्छ।
शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात् स्वस्थ शरीर नै साधनाको आधार हो। शरीरको आफ्नो प्रतिरक्षा प्रणाली छ। यो प्रणाली जत्तिकै प्रभावशाली सुरक्षा कवच मानिसका लागि अर्थोक केही हुन सक्दैन। जीवको क्रमबद्ध विकासको लाखौं वर्षको दौरानमा शरीरमा यो प्रणाली विकसित भएको थियो। यो प्रणालीलाई सक्रिय बनाउन केही सचेत प्रयत्न आवश्यक हुन्छ। यसका लागि हामीले सर्वप्रथम शरीरका स्थूल अंशहरू जस्तो प्रणालीहरू, अङ्गप्रत्यङ्ग, तन्तुहरू र जीवकोशहरूलाई परिशुद्ध बनाउनु पर्छ। यसरी स्थूल शरीरलाई परिशुद्ध बनाइसकेपछि पदार्थ र चेतनाको सन्धिस्थल बोध हुन्छ। यही विन्दुको बोध भएको बेला चेतनाले पदार्थलाई स्याहार गर्न थाल्छ, उपचार गर्न थाल्छ। हामी जति सचेत हुन्छौं त्यही अनुपातमा हाम्रो प्रतिरक्षा प्रणाली मजबुत हुन्छ। सचेत हुँदा शरीरका हरेक कोशहरू जागरुक हुन्छन्। शरीरले हाम्रो माया अपेक्षा गर्छ, हेरचाह खोज्छ। हामीले हर्दम शरीरको स्वास्थ्य र पुष्टतालाई हेक्का राखिरहौं भन्ने यसको गहिरो अभीप्सा हुन्छ। हाम्रो ‘एटेन्सन’ ले शरीर परिपोषित हुन्छ। पोषित शरीरले रोगव्याधिले आक्रमण गर्न खोज्दा प्रतिरक्षा गर्छ र रोग लागिहालेमा स्वचिकित्सा पनि गर्छ।
मानिस सदा पशुत्त्व र देवत्त्वको सन्धिस्थलमा बाँचिरहेको हुन्छ। उसका हरेक सोच, विचार र व्यवहारले या त उसलाई पशुत्त्वतिर अधोगमन गराउँछन् या देवत्त्वतिर उर्ध्वगमन गराउँछन्। देवत्त्वतिरको यात्राका लागि शरीर, मन, बुद्धि र चेतनालाई एउटै दिशामा अभिमुख गर्नु अत्यावश्यक हुन्छ। शरीर र मनको स्वास्थ्य बुद्धि र चेतनालाई देवत्त्वको आयामतिर अग्रसर बनाउने हेतु हो। पदार्थ या शरीरको सीमाबाट माथि उठेर दिव्यताको खोजी गर्ने उत्सुकता मनमा पैदा हुँदा मानिसले आफैंमाथि काम गर्ने संकल्प गर्छ। मानिस खानपान, आचारविचार र बोलीव्यवहारमा सचेत हुन थाल्छ। ऊ हर्दम स्वस्थ एवं फुर्तिलो रहन थाल्छ। स्वस्थे चित्ते बुद्धयोः सम्भवन्ति। अस्तु।
(नेत्र आचार्य धर्म-संस्कृति विषयका अध्येता हुन्)

प्रतिक्रिया