‘इजरायल–इरान युद्धमा पूर्ण सहभागिताका लागि जजसले अमेरिकालाई उक्साइरहेको छन्, तिनीहरू अमेरिका फर्स्ट पक्षधर होइनन्। हामी विदेशी युद्ध लड्दालड्दा वाक्क भइसक्यौँ।’
यी शब्द हुन् सांसद मार्जोरी टेलर ग्रिनको। जो डोनाल्ड ट्रम्पको वफादार अनुयायी मानिन्छिन्।
यसले देखाउँछ, ट्रम्प इरान युद्धमा सहभागी हुने निर्णयको नजिक पुग्दै गर्दा रिपब्लिकन पार्टी र मेक अमेरिका ग्रेट अगेन अर्थात् मागा आन्दोलनमा फुट देखिएको छ।
इरानसँगको लडाइँमा अमेरिका सहभागी हुनु ट्रम्पका कयौँ कट्टर समर्थकका लागि निकै ठूलो धोका हुनेछ। किनकि ‘सधैँको युद्ध’बाट छुटकारा दिलाउनु ट्रम्पको सुरुदेखिको चुनावी नारा थियो। २०१९ मा उनले एकपटक भनेका थिए, ‘मध्यपूर्वमा जानु हाम्रो सबैभन्दा खराब निर्णय हो।’
त्यसैले मागा आन्दोलनमा जोडिएका राजनीतिकर्मी र विश्लेषकहरू यो युद्धको विरोधमा बोल्न थालेका छन्। खासगरी टकर कार्लसन, स्टिभ ब्यानन र पूर्वसांसद म्याट गेट्ज।
कार्लसनले आफ्नो न्युजलेटरमा लेखेका छन्, ‘इजरायललाई छाडौँ। उनीहरूलाई आफ्नो युद्ध आफैँ लड्न दिऊँ। अब जे हुन्छ, त्यसले डोनाल्ड ट्रम्पको कार्यकाललाई परिभाषित गर्नेछ।’
त्यस्तै, युद्धविरोधी दक्षिणपन्थीहरू युद्धविरोधी वामपन्थीहरूसँग जोडिन थालेको संकेत पनि देखिन्छ। कन्जरभेटिव सांसद थोमस म्यासीले यसै साता युद्धमा अमेरिकी सहभागितालाई रोक्न एउटा संकल्प प्रस्ताव दर्ता गराउनेबित्तिकै डेमोक्र्याटिक पार्टीका वामपन्थी सांसद अलेक्जेन्ड्रिया ओकाजिया कोर्टेजले समर्थन गरिन्।
यी आलोचकहरूलाई ट्रम्पले सामाजिक सञ्जालमा गाली गरिसकेका छन्। अर्कोतिर अमेरिका विश्वको ‘प्रहरी’ बन्नुपर्छ भन्ने रिपब्लिकन पार्टीका ‘निओकन्जर्भेटिवहरू’ चाहिँ ट्रम्पको समर्थनमा उत्रेका छन्। जसका अगुवाइ सिनेटर लिन्ड्सी ग्राहम र मिच म्याक्कोनेलले गरेका छन्।
ट्रम्पका समर्थकहरूबीचको यो विभाजन दक्षिणपन्थी मिडियामा पनि विस्तार भएको छ। मार्जोरी टेलर ग्रिनले युद्धका लागि उक्साएको भन्दै फक्स न्युज र न्युयोर्क पोस्टको भर्त्सना गरेकी छन्। कार्लसनले भने आफ्नो मिडिया प्लाटफर्मलाई नियोकन्जर्भेटिवहरूको सातो लिन प्रयोग गरेका छन्। उनले टेक्ससका सिनेटर टेड क्रुजसँग निकै आक्रामक अन्तर्वार्ता लिएका छन्। जसमा उनले क्रुजलाई केही पनि थाहा नभएको मुलुकविरुद्ध युद्धमा जान हौसिएको आरोप लगाएका छन्।
‘इरानमा कति मान्छे बस्छन् त उसोभए?’ फक्स न्युजका पूर्वप्रस्तोता तथा ट्रम्पका पुराना समर्थक कार्लसनले क्रुजलाई सोधे।
‘जनसंख्या मलाई थाहा छैन,’ अमेरिकालाई युद्धमा सहभागी हुन जोडदार माग गरिरहेका क्रुजले जवाफ दिए।
त्यसपछि कार्लसनले उनलाई सोधे, ‘जुन देशको शासन ढाल्न खोज्दै हुनुहुन्छ, त्यो देशको जनसंख्यासम्म तपाईंलाई थाहा छैन?’
उनीहरूबीचको झगडाको ९७ सेकेन्डको भिडिओ कार्लसनले एक्समा मंगलबार राति पोस्ट गरे। लगत्तै त्यो भाइरल भयो, जसलाई करोडौँले हेरे।
उपराष्ट्रपति जेडी भान्स भने इरान युद्धलाई लिएर संशयमा रहेको बताइन्छ। टकरका छोरा बकली कार्लसन भान्सको उप प्रेस सचिव छन्।
आपसमा भिडिरहेका मागा आन्दोलनका दुई खेमाबीच संवादको प्रयास भान्सले गराइरहेका छन्। एक्समा पोस्ट गर्दै उनले तर्क गरेका छन्, ‘यो विषयमा ट्रम्पले विश्वास आर्जन गरेका छन्।’ उनले ‘अमेरिकी जनताको लक्ष्य हासिल गर्न मात्र ट्रम्प अमेरिकी सेनालाई उपयोग गर्न इच्छुक रहेको’ भन्दै असहज मागा समर्थकहरूलाई विश्वास दिलाउने कोसिस गरिरहेका छन्।
केही दिनअघिको इकोनोमिस्ट/युगभ सर्वेक्षणले ५३ प्रतिशत ट्रम्प समर्थकहरू अमेरिका यो युद्धमा सहभागी हुन नहुने पक्षमा रहेको देखाउँछ। जबकि युद्धमा सहभागी हुनुपर्छ भन्ने हिस्सा मात्र १९ प्रतिशत छ। यो आँकडामा बदलाव आउन सक्छ, यदि अमेरिकी विमान इरानमाथि उड्न थाले भने। किनभने युद्धका सुरुवाती दिनहरूमा अक्सर ‘झण्डामुनि गोलबद्ध हुनुपर्छ’ भन्ने भावना पैदा हुने गर्छ।
तर, युद्ध गलत दिशामा गयो भने तिक्त आरोपप्रत्यारोप चल्न थाल्छ। इरान त्यो मुद्दा बन्न सक्छ, जसले मागा आन्दोलनलाई फुटाउन सक्छ।
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया