बुद्धले मान्छेको धार्मिक अभिमानलाई पच्चीस सय वर्षअघि चिराचिरा पारिदिए। तैपनि, मान्छे धर्मको नाममा साम्प्रदायिक हुन छोडेन। धूमपान, मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने थाहा हुँदाहुँदै पनि मान्छे त्यसमा अभिशप्त हुन्छ। त्यसैगरी मान्छे धार्मिक सम्प्रदायप्रति बिना ठोस प्रमाण अनुरक्त छ। ज्ञानको सीमा मोक्षमा टुंगिन्छ। यसलाई निर्वाण वा ‘एन्लाइट्मेन्ट’ जे भने पनि भयो!
मान्छेको मन, मनभित्रको मस्तिष्क, त्यो भन्दा दुरूह आत्माको संकथन, शरीरको मोह र लोभ अनि यी तामसी गुणलाई जितेर सम्पूर्ण रुपमा मनुष्य हुने सम्भावनालाई आफ्नो समयमा बुद्धले हरेक मान्छेको थालमा पस्किदिए। मान्छेलाई ज्ञानको शाब्दिक परिभाषा त्यतिबेला पनि थाहा थियो, तर बुद्धले यसलाई व्यावहारिक रुपले प्रस्तुत गरिदिए। त्यो बेला यसमा परम्परावादी ऋषिमुनीहरूको एकाधिकार थियो। ज्ञानका हजार हाँगा होलान्। बुद्धले भनेका कुराहरूमा पुग्ने हजार बाटाहरू छन्। तर यसको गन्तव्य एउटै हो। आँखामा पट्टी बाँधेर गन्तव्य पुगिँदैन।
सूर्यको चर्को प्रकाशले मान्छेको आँखा खान्छ। ऊ त्यो प्रकाश सिधै हेर्न सक्दैन। त्यसरी नै ज्ञान ज्योतिको चर्चा वा मूलले मान्छेको मगजमा भुइँचालो ल्याउँछ। त्यसैले ऊ यसबारेमा सोच्न चाहँदैन। सोच्दैन। सोच्नुभन्दा एकअर्कालाई तौलिनु सजिलो हुन्छ। मान्छे आत्ममुग्धता त्याग्न सक्दैन। अहंकार त्याग्नु मान्छे आफ्नो कमजोरी ठान्छ। नम्रता, सदाशयता, समझदारी शक्तिशालीको आँखामा निरीहता हो। समाजमा बलशालीको बोली बिक्ने मात्र होइन, त्यो कानुन बन्छ। इतिहास बन्छ। यो आजको मात्र कुरा हैन। इतिहास यसको साक्षी छ।
समाज आफै दुर्व्यसनी हो।
धरतीको हरेक मान्छे स्वतन्त्रताको अभिलाषी छ। नियन्त्रण कसैको प्रिय छैन। यो सत्य हो। ऊ आफ्नो यो धारणामा सधैँ स्पष्ट छ। यो ज्ञानी वा अज्ञानी सबैका निम्ति समान रुपले अनुभवजन्य वास्तविकता हो। ऊ त्यो मौलिकताको सार्वभौम स्वामित्व ग्रहण गर्न जन्मिएको हो। तर संसारमा व्यक्तिको जीवनले अनौठो मोड लिइदिन्छ। परिवार! त्यसपछि समाज। त्यो समाज चलाउने राज्य। यो संरचनागत प्रणालीको चेपमा परेको मान्छे कालान्तरमा पराधीनतालाई स्वतन्त्रता ठान्न पुग्छ। यो हामीले बनाएको समाजको नदेखिने स्वरुप हो। यसको सबैभन्दा ठूलो लाभ समाजका टाठाबाठा राजनीतिक उद्यमीहरूले लिन्छन्। मान्छेको व्यक्तिगत स्वतन्त्रताको हरणको प्रारम्भिक विन्दु नै धर्म र सम्प्रदाय नामको अंकुश हो। हामी नामको भीड आफैमा एक विकराल भ्रम हो। यो तथाकथित हामी भन्ने भीडमा तँ, तिमी, तपाईं र म नामका व्यक्ति हराउँछन्, या पराजित हुन्छन्। व्यक्तिको मौलिक अस्तित्व र सार्वभौम सोचको हनन् गर्नु सम्प्रदायको विशेषता हो।
साम्प्रदायिक लत लागुपदार्थ जस्तै हो। यो सुरक्षा घेराको अपेक्षा गर्नेहरू समाजका दुर्व्यसनी हुन्। यसबाट उम्किनु भनेको ऊ दुर्व्यसनीको जमातबाट परित्यक्त एक जीव हो। जो आजीवन तिरस्कृत र अपहेलित रहन्छ। यस्तो अवस्थामा भौतिक क्षति पनि अपवाद होइन। धरतीमा हरेक क्षण यस्ता घटना हुन्छन्। हामीले थाहा पाउनु वा नपाउनु त्यो बेग्लै कुरा! समाजमा बहिरहेको हावाभन्दा फरक हावा लिन खोज्नु आफैमा खतराको घन्टी हो। मार्गद्रष्टाहरू सधैँ अपहेलित र लाञ्छित भएका छन्। यस अर्थमा ज्ञानले आफ्नो चिहान आफै खन्छ। यो सुकरातदेखि ग्यालिलियो वा जिसस क्राइस्टलाई हेरे पुग्छ, जो आजसम्म यथावत छ। व्यक्तिको स्वतन्त्र उडानलाई सम्प्रदायले हिजो पनि प्रतिबन्धित गरेको थियो, आज पनि गरेको छ। भोलि पनि गरिरहने छ। भौतिक विकासलाई मात्रै सफलता ठान्ने यो भयावह चक्रबाट मानवीयता सधैँ आहत भएको छ।
सम्प्रदायको विकास सधैँ मानव सिर्जित कथा–किंवदन्ती र अवधारणासँग जोडिएको छ। मान्छे आफ्नो अस्तित्व खोज्ने क्रममा आफ्नो जरो पहिल्याउन चाहन्छ। तर सबैको जरो साम्प्रदायिक अवधारणामा पुगेर टुंगिन्छ। धार्मिक विश्वासका सामु विज्ञान निरीह छ। सबैका आआफ्नै स्वैरकल्पित मापदण्ड छन्। हिन्दु धर्मको राम वा कृष्णको कथा रोचक छन्। तर कसैको नाभीबाट ब्रह्मा, विष्णु र शिवको जन्म भएको कथा हास्यास्पद लाग्छ। यस्ता धेरै मनगढन्ते मिथकहरूले हिन्दु धर्मका गाथा भरिपूर्ण छन्। महिला र पुरुषको विभेद हिन्दु धर्मको आधारभूत अवधारणामा कसले छिरायो? त्यो भगवानले पक्कै होइन। मान्छेले हो। मानवताको हितको लागि धर्मको विकास भन्ने उक्ति लोकप्रिय भए पनि मानवताको विनाश धर्मबाट नै सुरु भएको छ। इतिहास यसै भन्छ।
इसाईहरूको कथा जिसस क्राइस्टमा टुङ्गिए पनि इभको जन्म एडमको तिघ्राको मासु काटेर भयो भन्ने जिसस क्राइस्ट जन्मिनुअघिको कथा बाइबलमा पढ्न पाइन्छ। त्यो आफैमा बेतुक लाग्छ। बाइबल आफैँ चालीस भिन्न प्रकारका पुस्तकहरूको एकीकृत स्वरुप हो। क्राइस्टलाई रोमनहरूले खम्बामा किला ठोकेर ‘क्रुसिफाइ’ गरेको तीन सय वर्षसम्म बाइबल लेखिएकै थिएन। बुद्धले आफ्नो ज्ञानको अनुभवलाई धर्मका रुपमा प्रचार गरेकै थिएनन्। तर आज बुद्ध धर्मावलम्बीहरू हिनयान, बज्रयान, थेरवाद आदि इत्यादि हाँगामा विभक्त छन्।
मुस्लिमहरूको आफ्नै कथा छ। सिया र सुन्नी सम्प्रदायमा विभक्त मुसलमानहरूको यो झगडा ज्वाइँ र ससुराको सत्ता संघर्षबाट सुरु भएको हो, जो आज धार्मिक मान्यताका रुपमा स्थापित छन्। अल्पसंख्यक सिया समुदायका इरानीहरू बहुसंख्यक सुन्नी समुदायका अरबी र एसियाली मुलुकको निम्ति शत्रुतुल्य भएका छन्। धर्मका आधारमा दुवै मुसलमान नै हुन्। धर्मको नाममा मुसलमान महिलाविरुद्धको अमानवीय लिंगभेदले शताब्दियौँदेखि पराकाष्ठा नाघेको छ।
अस्तित्व खोज्ने सवालमा सबै सम्प्रदायहरूको आपनै कथा छ। नेपालका लिम्बूहरू मूलरुपमा प्रकृतिपूजक हुन्। उनीहरूको आफ्नै मुन्धुम हुँदै धर्म र भाषाका कुरा छ। ‘सबैभन्दा पहिले भगवानले धातुबाट मान्छे बनाए तर त्यो बोलेन रे! पछि खरानी बाट मान्छे बनायो र त्यो चाहिँ बोल्यो’ भन्ने किंबदन्ती लिम्बू समुदायमा प्रचलित छ। त्यसैले अहिले पनि मान्छेले आफ्नो छाला कन्याउँदा सेतो धर्को बस्नुको कारण त्यो खरानी हो भन्ने कुरा हामीले आमाबुवाहरू बाट सुन्दै आएका हौँ। अब यसलाई अहिलेको वैज्ञानिक युगमा कसरी बुझ्ने? युरोपका पेगनहरू कुनै देउता विशेष मान्दैनन्। उनीहरू पनि प्रकृतिपूजक थिए। जसरी युरोपमा इसाई ‘क्रुसेड’ले पेगनहरूलाई साम, दाम, दण्ड, भेद र आतंकको बलमा इसाई बनायो, त्यसैगरी नेपालमा लिम्बूहरूको संस्कृतिलाई पृथ्वीनारायण शाहको उदयपछि हिन्दुकृत गरिएको थुप्रै उदाहरण छन्।
लादिएको संस्कार
म जन्मेको गाउँ तेह्रथुममा पहिलापहिला बाउबाजेको पालामा नागपञ्चमीमा दैलामा नागको तस्बिर टाँस्ने चलन थिएन। दसैँतिहार मनाउने पर्व थिएन। तर शाहकालपछि सरकारी अड्डाबाट खटिएकाहरूले राज्यको धर्म नमानेको भन्दै दण्ड दिन थालेपछि करबलले दसैँमा रातो टीका थाप्ने चलन बसेको हो। त्यो पछि सेतो टीकामा परिणत हुँदै, आजकल कतिपय लिम्बू गाउँमा टिका नै लगाइँदैन। सक्रिय राजसंस्था हुँदा यो धार्मिक कर्म लादिएको थियो। अहिले यसमा मान्छेको आफ्नो स्वतन्त्रता छ। कुनै सम्प्रदायले रातो टीका लगातार लगाइरहेका छन् भने छिटफुट सेतो टीका अझै लाउँछन्। यो विद्रोहको नाममा आधासरो लम्पसारवाद हो। समाजशास्त्रीहरूको यसबारेमा भिन्न मत छ भने त्यो पनि अगाडि आओस्।
धर्म र सम्प्रदायको आधार नै डर र भ्रम हो। कुनै पनि कुरा मान्नु एउटा कुरा हो, जान्नु अर्कै। मान्नुको आधार अन्धविश्वास हो। जान्नुको आधार आफैले गरेको अनुभव। जसले मान्छेलाई निर्भय तुल्याउँछ। विज्ञान भन्छ, पृथ्वीको उत्पत्ति भएको करीब एक अर्ब वर्षपछि अस्तित्वमा आएका एक कोषीय सूक्ष्म जीवहरू नै मान्छेका पुर्खा हुन्। तर सम्प्रदायमा विभाजित हरेक धर्मले यसलाई आफू अनुकूल कथाको शृंखला सुरु गरेका छन्। त्यो अन्धविश्वास हो। जनमानसमा यस्तो अन्धविश्वास बलियो हुँदा समाजका नेताहरूको स्वार्थपूर्ति हुन्छ।
धर्मले प्रमाण खोज्दैन। हाम्रो समाजले हामीलाई यस्तै बनाएको छ। जो प्रमाण खोज्छ, ऊ विद्रोही कहलिन्छ। धर्म व्यक्तिलाई नियन्त्रण गर्ने रणनीति अनुरुप अभिप्रेरित एक राजनीतिक उपक्रम हो भन्दा व्यक्ति किन सजायको भागीदार हुन्छ? किनभने एउटा सचेत व्यक्तिले बालेको दियोले परम्परागत अन्धकार चिर्ने सामर्थ्य राख्छ। अन्धकारमा शासन गर्ने शासकलाई उज्यालो मन पर्दैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्वेत इसाई बर्चस्वका पक्षपाती हुन्। भारतका हिन्दुवादी प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता शक्तिशाली पात्रहरू, ती सबै भूगोलको विपरीत कुनामा उदाएका तर एउटै अभीष्टका चाकर प्रतिनिधि पात्र हुन्। अन्धकारका नायक! यस्ता पात्रहरू इतिहासको हरेक कालखण्डमा सक्रिय रहिआएका छन्। रोमका पोपदेखि बाह्र हाँगामा विभाजित इसाई चर्चका पादरीहरू, हिन्दु धर्मका गुरुहरू, मस्जिदका मुल्लाहहरू सबैको धर्मको नाममा राजनीतिसँग प्रत्यक्ष सम्बन्ध रहिआएको छ। यिनीहरू नै राजनीतिक कुचेष्टाका पोषक हुन्।
जनमानसमा व्याप्त लोकप्रियतावाद ट्रम्प वा मोदी प्रवृतिको निम्ति सहज कच्चा पदार्थ हो। सोच्ने सामर्थ्य गुमाएको भीड आफ्नो पक्षमा भएपछि कानुन बनाउने, त्यसलाई आफू अनुकूल लागू गर्ने वा नगर्ने सुविधा प्राप्त हुन्छ। खेल, खेलाडी र निर्णायक आफै हुन पाउनु सम्बन्धित पात्रका निम्ति सुखद संयोग हुनसक्छ। यस्तो प्रवृत्तिको विकासले विकसित हुँदै अगि बढेको राजनीतिक संरचनामा बहुसंख्यक श्रमजीवीको जीवनको मूल्य त्यहाँ के अर्थ? राज्यको मूल नीति राजनीतिमा खोट रहँदै छोपिँदै बढेको नीतिले वर्तमान मात्र होइन, आगामी पुस्ताका लागि झन् घातक र भावी पुस्तालाई दिने उत्तराधिकारमा खोट देखिन्छ नै।
नेपालको सरकारी कार्यालयमा घूस प्रकरण एक नियमितता भएको छ। तर सोच्ने कुरा हो, घूस दिने मान्छे नै नभए घूस लिने को? राज्य सञ्चालनको जिम्मेवारी लिएर जनताको मत सहित सत्तामा पुगेका कथित नेता हुन् वा लोकसेवाको परीक्षा पास गरेर पद बहाल गर्ने प्रशासक, यी भ्रष्टाचारी भए भनेर रोइलो गर्नुको कुनै अर्थ छैन। यिनीहरू जे जस्ता छन्, त्यो हामीले बनाएका हौँ। यिनको राक्षसी आकार र तौल बढाउन जनता जिम्मेवार छन्। धर्म र साम्प्रदायिक समर्पणवादलाई जीवनशैलीका रुपमा अँगाल्न अभ्यस्त हामी घाटा खाएर सजिलो बाटो हिँड्न रुचाउने र राज्यको हरेक अपकानुन शिरोधार्य गर्ने ‘कन्फर्मिस्ट’ जमातमा परिणत हुँदैछौँ।
परम्परावादी माकुरे जाल
हामी आधारभूत कुरामा सोच्ने बानी छोड्दैछौँ। म एक व्यक्ति मात्र होइन, मभित्र ब्रह्माण्ड छ। मेरो शरीरका एकएक कोष अर्बौं वर्ष पुराना सूक्ष्म तत्वको संयोजनले बनेको छ। राज्यले मेरो शरीर नियन्त्रण गर्न सक्छ, तर मेरो चेतना राज्यको पहुँचभन्दा बाहिरको कुरा हो। मेरो चेतना र मानव निर्मित धर्मबीच कुनै सामञ्जस्य हुन सक्दैन।
स्वतन्त्रता शब्दलाई हामीले जसरी बुझेका छौँ, सायद कहीँ कतै यसैमा चुक छ। यो चुक बनाउनमा धर्म र सम्प्रदायको मुख्य भूमिका छ। उल्टो व्याख्याले सुल्टो बाटो लाँदैन। स्वतन्त्रता आफूले अनुभव गर्ने एक चमत्कारी अनुभव हो। जुन अनुभवमा मान्छेमा स्वयंलाई मुक्त गराउने शक्ति हुन्छ। अरुलाई मुक्त गराउने होइन। एउटा मुक्त व्यक्तिको आचरण, व्यवहार, मुग्धता, शालीनता, सदाशयता, कृतज्ञता जस्ता गुणले अर्को व्यक्तिमा स्वतः रुपान्तरित देखिनु अर्कोलाई मुक्त गर्न सक्नु हो। ज्ञान प्रवचनको रुपमा बाँडिने वस्तु होइन। अहिले प्रवचन समेत व्यापार भएको छ। अनुशरणित भन्दा व्यावहारिक रुपान्तरित ज्ञानको दखल आवश्यक हुन्छ। स्वतन्त्रता केवल भौतिक स्वछन्दता हुने थियो भने संसार अराजक हुने थियो।
संस्कार र परम्परामा गर्व गर्न मान्छेलाई छुट छ। तर संस्कार र गलत सूचनाको अन्तर नबुझे यसको के अर्थ? हिजोदेखि हामीले मानिआएको जे छ, त्यो ठीक छ भन्ने मान्यतामा दोष नहोला। यसले हामीलाई पछाडि धकेलेको छ वा छैन, यो पनि व्यक्तिगत सोच हो। तर सामूहिक रुपमा भन्ने हो भने यो परम्परा नामको गलत सूचनाले हामीलाई अगाडि बढ्नबाट पक्कै रोकेको छ।
सत्रौँ शताब्दीमा भर्खर क्यामेराको आविष्कार हुँदैथियो। त्यसको खिच्ने क्षमता यति सुस्त थियो कि लेन्सले चलायमान वस्तुलाई कैद गर्न सम्भव थिएन। अनि मान्छे भन्न थाल्यो, ‘क्यामेराले घरको तस्बिर लिन्छ, मान्छेको लिन सक्दैन। आत्मा भएको कुरा क्यामराले खिच्न सक्दैन।’ आजको पुस्ता यो कुरा सुनेर हाँस्छ कि रुन्छ?
कुनै जमानामा मान्छे बिरामी पर्दा तत्कालीन डाक्टरहरू हरेक रोगको कारण रगत फोहोर भएको भन्ठान्थे। रगत निकाल्थे। मान्छे मर्थ्यो। आज रगत निकाल्ने होइन, थपिन्छ। विज्ञानले प्रगति गरेको छ। गलत सूचना घटेको छ। तर सम्पूर्ण रुपले हटिसकेको छैन।
मान्छेको मगजको पृथ्वी चेप्टो हुँदै गोलो भैसक्यो। समयले मान्छेलाई धेरै कुरा सिकाएको छ। तर धर्म र परम्परा नामको माकुरे जालो हटिसकेको छैन।
गोपी कृष्ण कहो!
धर्मको नाम बेचेर सत्ता प्राप्त गर्न सहज हुन्छ। तर सत्य प्राप्त हुँदैन। मान्छेको भौतिक विकास र उन्नतिले आत्मिक उत्थानको प्रत्याभूति गर्दैन। झन्डै सात हजार वर्ष लामो मान्छेको लिखित सभ्यता अझै सम्प्रदाय भन्दामाथि जान सकेको छैन। साम्प्रदायिकता स्वार्थी शक्ति राजनीतिको एक हतियार हो। पूर्वी होस् वा पश्चिमा, दुवै सभ्यताको विकासक्रम हेर्ने हो भने यो एकनासले लागू हुन्छ।
जनमानस सामूहिक घृणा, द्वेष, लोभ, स्वार्थ, सम्मानको भ्रम वा काल्पनिक डरबाट परिचालित हुन्छ। राजनीतिकर्मीहरूहरू यो सामाजिक मनोभावलाई आफ्नो पक्षमा भजाउन सिपालु हुन्छन्। तर यस्ता चालबाजी केवल चुनावमा काम लाग्छन्। चुनावको भोलिपल्ट राजनीतिक उद्यमीहरूको प्राथमिकता जनता होइन, व्यापारिक स्वार्थ समूह बन्न पुग्छ।
राजनीतिक सुगा रटान जीवनको मन्त्र होइन। धर्म र सम्प्रदायले सीमित स्वार्थी मानिसहरूलाई टेवा दिने काम मात्र भइरहेको छ।
आजको दुनियाँमा पश्चिमाहरू प्रभावकारी रुपमा धर्मलाई माध्यम बनाएर शक्ति सञ्चय गरिरहेका छन्। उनीहरूले जिसस क्राइस्टको नाममा बाइबल लेखे। बाइबलको आधारमा धर्म स्थापना गरे। आम जनताको सोच्ने क्षमतामाथि डरको पर्दा लगाए। त्यही बाइबललाई आधार मानेर अमेरिकी राष्ट्रपतिहरू संसारकै शक्तिशाली पदको शपथ लिन्छन्। बाइबलभित्र धेरै ‘राम्रा’ कुरा लेखिएका होलान्। तर ती पालना गर्न होइन, डर देखाउन प्रयोग हुँदैछ। डर र शासनको अप्राकृतिक सम्बन्ध छ। डर बेच्न सकिन्छ।
डरपछि सबैभन्दा धेरै बेचिएको गरिबी हो। बाइबल सर्वकालीक बेस्ट सेलर किताब हो। गरिब नहुने भए बाइबलको बिक्री हुने थिएन। आध्यात्मिक चिन्तन र धर्म सम्प्रदायबीच ठूलो खाडल छ। नेपालको वर्तमान संविधानले देशलाई धर्मनिरपेक्ष घोषित गरेपछि विभिन्न धर्महरूको ‘विकास’ हुँदै गर्दा यो सामाजिक उथलपुथलले अन्धविश्वासलाई बढायो कि नैतिक र सामाजिक जागृतिलाई? वा शक्ति सञ्चयका लागि फालिएका अर्को जाल हुन्? धर्मको स्थापना मूलतः मानवता र लोक हितको लागि हुन पर्ने हो। तर यस्तो नभएर सुरुवात नै विनाशबाट हुने गर्छ। सोच्ने कुरा हो।
अन्त्यमा, एउटा कथाबाट यो लेख टुंग्याउने अनुमति चाहन्छु।
एउटा विद्वान थियो। उसले एउटा सुगा पालेको थियो। बचेरो थियो त्यो सुगा पिँजरामा पर्दा। तर विद्वान त विद्वान हुन्छ! ऊ सुगालाई हरेक दिन पढाउने गर्थ्यो, ‘सिकारी आउँछ, चारो छर्छ, जाल हान्छ। चारोको लोभमा त्यो जालमा नपर्नू।’
सुगालाई यो ‘ज्ञान’ कण्ठ थियो। ऊ सधैँ आफ्नो नियमित ‘गोपी कृष्ण कहो’ बाहेक ‘सिकारी आउँछ, चारो छर्छ, जाल हान्छ। त्यो चारोको लोभमा नपर्नू’ भन्ने भक्तिमालाको पाठ गर्थ्यो। एकदिन पिँजराको ढोका झुक्किएर खुलै छोडेछ विद्वानले। सुगा उड्यो। ऊ अब खुला आकाशमा थियो। तर उड्ने अभ्यास थिएन। सिकारी नजिकै थियो। चारो थियो। जाल थियो। सुगा चारोको लोभमा जालमा पर्यो। जालबाट ऊ अब सिकारीले बोकेको ठूलो पिँजरामा कैद थियो। ऊसँगै अरु सुगाहरू पनि थिए। सबै पिँजराबाट उम्किने उपाय खोज्दैथिए। तर विद्वानले पालेको सुगा चुपचाप थियो। तर ऊ भन्दै थियो, ‘सिकारी आउँछ, चारो छर्छ, जाल हान्छ। त्यो चारोको लोभमा नपर्नू!’
यो संसारमा एकथरी मान्छे सिकारी छन्, अर्काथरी सुगा! सिकारीहरूले धर्म, जाति, रङ, भाषा र भूगोलको नाममा एक विशाल तर अदृश्य पिँजरा बनाएका छन्। सुगाहरू आफ्नै धारणा, मान्यता र पूर्वाग्रहले वशीभूत त्यो पिँजराको कैदी भएका छन्।
Shares

प्रतिक्रिया