विचार


थप क्षति मुलुकले धान्न सक्दैन, छिटो अन्तरिम सरकार बनाऊ

थप क्षति मुलुकले धान्न सक्दैन, छिटो अन्तरिम सरकार बनाऊ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका छन्


नेपालखबर
भदौ २४, २०८२ मंगलबार २१:५९, काठमाडौँ

जेन–जीको आन्दोलनपछि मंगलबार दिउँसो अहंकारी सत्ताको पतन भइसकेको छ। तैपनि मंगलबार (२४ भदौ) राजधानी काठमाडौँमा दिनभर जे भयो, त्यो हाम्रो मुलुकको वर्तमान र सुदूर भविष्यका लागि हितकर छैन।

ओलीको राजीनामा त अवश्यंभावी थियो नै। तर, उनको राजीनामासँगै आन्दोलनकारी पक्ष, राष्ट्रपति, नेपाली सेना लगायतका सुरक्षा निकायहरूले तत्काल विकल्प प्रस्तुत गर्नुपर्थ्यो। त्यो हुन नसक्दा शीतलनिवास, सिंहदरबार, सर्वाेच्च अदालत, संसद भवनजस्ता पुरातात्विक महत्त्वका राष्ट्रका प्रमुख संरचना ध्वस्त भएका छन्। सुरक्षाकर्मीहरूले समेत ज्यान गुमाउनुपर्ने दुखद स्थिति सिर्जना भएको छ।  

२०७२ को भूकम्प र लगत्तैको भारतीय नाकाबन्दी, २०७६–०७७ को कोभिड महामारीमा जति जनधनको क्षति भयो, त्यो क्षतिको समष्टिभन्दा ठूलो जनधनको क्षति सोमबार र मंगलबार मुलुकले बेहोरिसकेको छ। 

दमनकारी सत्ताको पतन भइसकेको स्थितिमा अब सबैभन्दा बढी आन्दोलनकारी पक्ष संयमित हुन जरुरी छ। राजधानीमा आज जे भइरहेको छ, जेन–जीकै भविष्यका लागि पनि हितकर छैन। राज्यको होस् वा व्यक्तिगत सम्पत्ति– त्यो जलाइनु भनेको नयाँ पुस्ताको सुन्दर भविष्यमाथिको आगलागी हो। 

यो अकल्पनीय परिस्थिति सम्हाल्ने जिम्मा आन्दोलनपछिको नेतृत्वको हो, सरकार प्रमुखको हो। सरकार प्रमुखको जिम्मेवारी कुनै राजनीतिक व्यक्तिले सम्हाल्ला, नेतृत्वको जिम्मेवारी दिइएला। तर, उसले नेतृत्व मात्र गर्ने हो। देश सम्हाल्ने जिम्मा देशका सबै राजनीतिक शक्तिहरूको हो। 

अन्तरिम सरकार प्रमुखको रुपमा देश सम्हाल्ने नयाँ नेतृत्व चयन गर्न अब कत्ति पनि ढिलो गर्नुहुँदैन। केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन गरेको ढिलाइका कारण जुन अकल्पनीय क्षति मुलुकले बेहोर्नु परेको छ, राज्य सञ्चालनको नेतृत्व चयन समयमै नगर्ने हो भने मुलुकले थप क्षति बेहोर्नुपर्ने हुन्छ। सडकको माहोलले त्यही बताउँछ। 

सडकमा अहिले होस छैन, जोस छ। विवेक छैन, आक्रोश छ। आन्दोलन छैन, अराजकता छ। अन्तरिम सरकारको नेतृत्व चयनमा जति ढिलाइ हुन्छ, अराजकता अरु बढ्नेछ। 

ख्याल राखौँ, हामी जस्तो भूराजनीतिक अवस्थितिमा छौँ, थप अराजकता बढ्यो भने जित्ने हामी नेपाली हुनेछैनौँ, जित अर्कैको हुनेछ। 

अन्तरिम सरकारको नेतृत्वका लागि सबै शक्तिसँग सहकार्य गर्नसक्ने, सनकमा होइन विवेकका आधारमा निर्णय गर्ने, हठ होइन समन्वयमा विश्वास गर्ने, जनताको विश्वास पनि जितेको तर कुनै काण्डमा नमुछिएको, सस्तो लोकप्रियता होइन देश–समाजको दीर्घकालिन हित हेर्ने, कुँडिएका नेपाली मनहरूलाई भविष्यको आशा दिलाउन सक्ने र सोमबार–मंगलबार र त्यस भन्दाअघिका सबै आन्दोलनहरूको उपलब्धिको रक्षा र अझ समुन्नत बनाउनसक्ने नेतृत्वको खाँचो देशलाई यतिबेला सबैभन्दा बढी परेको छ।  

अन्तरिम सरकारको नेतृत्व मात्र होइन, उनका सारथीहरू पनि समन्वयकारी, विवेकी हुनु जरुरी छ। अब चयन हुने नेतृत्व ‘अन्तरिम’ अर्थात् छोटो समयका लागि हो, नयाँ चुनाव नभएसम्मका लागि। त्यसैले, नेतृत्वकै लागि धेरै वादविवाद पनि जरुरी छैन। स्थिति यति अनिश्चित र गम्भीर छ, नेतृत्व चयनमा वादविवाद र ढिलाइ मुलुकका लागि प्रत्युत्पादक हुनेछ।

माथि उल्लेख गरिएको परिस्थिति सम्हाल्न सक्ने नेतृत्व आन्दोलनकारी र अन्य राजनीतिक शक्तिहरूले छिटोभन्दा छिटो चयन गरुन्। राष्ट्रपतिले यसमा समन्वय गरुन्। नयाँ–पुराना सबै राजनीतिक दल, यो आन्दोलनबाट नयाँ शक्तिका रुपमा उदाएको जेन–जी पुस्तामा हतारो होस्। 

परिणाम बुधबारसम्म कसैगरी आइसकोस्। किनभने, थप क्षति अब मुलुकले धान्न सक्दैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad