अब धेरै प्रश्नहरू सोधिनेछन्। यी प्रश्नहरू र जिज्ञासाहरू केही हदसम्म वास्तविक र सहानुभूतिपूर्ण हुनेछन् भने धेरै भ्रामक, उक्साउने र निर्णयमा भ्रम सिर्जना गराउने हुनेछन्। यस्ता भ्रामक प्रश्नहरूले मानिसहरूलाई अन्धकार, शंका र द्वन्द्वतर्फ धकेल्न सक्छन्। त्यसैले, यहाँ केही सामान्य तर भ्रमपूर्ण प्रश्नहरू र तिनका आत्मरक्षात्मक सोचका रूपमा बुझिने उत्तरहरू प्रस्तुत गरिएका छन्। यी उत्तरहरूलाई धारणामाथिको प्रदूषण वा आक्रमणको प्रतिकारका रूपमा प्रयोग गर्न सकिन्छ।
तर, यी उत्तरहरूलाई समाधानका रूपमा लिनु भने हुँदैन। यी पनि प्रश्नहरूझैं भ्रमपूर्ण हुन सक्छन्। यिनले तत्काल भ्रमपूर्ण प्रश्नको फन्दाबाट मान्छेको सोचलाई मुक्त गराउन सक्छन्, तर दिगो समाधान भने पक्कै होइन। यो औषधि होइन तर औषधिको खोजी गरुन्जेलसम्म सहयोग गर्ने पेनकिलर चाहिँ हुन सक्छ। तर भ्रमपूर्ण प्रश्नको रक्षा मात्र होइन, आफैंलाई समेत प्रश्न गर्न र आफ्नो सोच साबुन लगाएर धुन यी प्रतिप्रश्नहरूले सहयोग भने गर्न सक्ने छन्।
भ्रमपूर्ण तर प्रायः सोधिने प्रश्नहरू र प्रश्नकै रूपमा तिनका भ्रामक उत्तरहरू :
प्रश्न: के भयो?
उत्तर: किन भयो?
प्रश्न: राम्रो भयो त?
प्रश्न: अब झन् ठिक हुँदै जान्छ होला त?
उत्तर: झन् नराम्रो पनि हुन सक्दैनथ्यो र?
प्रश्न: नयाँ टिमले काम गर्न सक्छ त?
उत्तर: पुरानो टिमले कत्तिको काम गरेको थियो?
प्रश्न: नयाँ टिममा सक्षम र चरित्रवान छन् त?
उत्तर: पुरानो टिममा सक्षम र चरित्रवान थिए?
प्रश्न: नयाँ टिमसँग अनुभव छ त?
उत्तर: पुराना टिमसँग सुरुमै अनुभव थियो? त्यो अनुभवले कस्तो नतिजा दियो?
प्रश्न: केही राम्रो हुन्छ जस्तो छ त?
उत्तर: पहिला केही राम्रो हुने वाला थियो र?
प्रश्न: छिमेकीहरूले राम्रो गर्छन् होला र?
उत्तर: छिमेकीहरूले पहिले कत्तिको राम्रो गरेका थिए र?
प्रश्न: अब विकास होला त? अर्थतन्त्र ठिक हुन्छ त?
उत्तर: विकास भएको थियो? अर्थतन्त्र ठिक हुँदै थियो? अर्थतन्त्र र उद्योगमा राज्यको कस्तो योगदान थियो र?
प्रश्न: संसद्, सिंहदरबार, सर्वोच्च अदालत भवन जले नि त?
उत्तर: कसले र किन जलाएछ? ती भवनहरूले कत्तिको/कति प्रतिशत राज्यका कामहरू गरेका थिए? भृकुटीमण्डप, नेपाल प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघर आदिले तत्काल काम गर्न स्तर नपुगेको हो? हामी नेपालीहरूको औसत जीवनस्तर कस्तो छ?
प्रश्न: कैदीहरू त बाहिर डुलिरहेका छन् नि?
उत्तर: उनीहरूलाई तत्काल समात्नुपर्छ, अनि अदालतमा मुद्दा टुंगो नलागेका लाखौं अभियुक्तहरू मध्येबाट निस्किने हजारौं कैदीहरूलाई के गर्ने?
प्रश्न: पुरानो टिमले नयाँलाई काम गर्न देला र?
उत्तर: पुरानो टिमले पुरानै टिमलाई काम गर्न दिएको थियो र?
प्रश्न: पर्यटन त नष्ट हुन्छ कि?
उत्तर: पर्यटन पुष्ट चाहिँ कहिले थियो? पूरा क्षमताको कति प्रतिशतमा चलेको थियो? राज्यको योगदान कस्तो-कति थियो?
प्रश्न: राम्रो हुने सम्भावना कति छ त?
उत्तर: राम्रो हुने सम्भावना पहिले कति थियो त? नराम्रो भइरहने सम्भावना कति थियो त? अब नराम्रो हुने सम्भावना पहिलाभन्दा बढी-कम के छ त?
प्रश्न: परिवर्तन आउला र?
उत्तर: यो नै एउटा परिवर्तन होइन र?
प्रश्न: दोषी को हो त?
उत्तर: सबै दोषी होलान्, तर सबैभन्दा ठूलो दोषी चाहिँ को होला?
प्रश्न: उनीहरूले देश सम्हाल्न सक्छन् र?
उत्तर: देश पहिले कति सम्हालिएको थियो र?
प्रश्न: काम गर्लान् भन्ने ग्यारेन्टी कति छ?
उत्तर: काम गर्लान् भन्ने तुलनात्मक सम्भावना कम छ कि बढी?
यी प्रश्नहरूले तत्काल भावनात्मक राहत त दिन सक्छन्, तर समाधान भने दिँदैनन्। यिनले प्रायः हामीलाई दोषारोपणको फन्दामा बाँध्छन्, र कार्यभन्दा टाढा लैजान्छन्। त्यसैले, नयाँ टोलीलाई काम गर्न प्रोत्साहन र सहयोग गरौँ। शान्त र धैर्यवान बनौँ। अहिंसात्मक र रचनात्मक तरिकाले निरन्तर सुझाव दिऔँ। धेरै चिमोट्दा वा दबाब दिँदा केवल ध्यान विचलित हुनेछ। कहिलेकाहीँ, विश्वासले शंकाभन्दा धेरै राम्रो काम गर्छ।
अब यो भइसकेको छ – त्यसैले अब 'हुनु हुँदैनथ्यो' भन्ने बहस नगरी, यसलाई अवसरको रूपमा लिनुपर्छ। धेरै विश्लेषणले पक्षाघात गराउँछ। सबै सरोकारवालाहरूले मिलेर यो अवसर सदुपयोग गर्नुपर्छ।
के जित, के हार!
हालै देशभरि देखिएको जनआन्दोलन कुनै आकस्मिक र एकरातमै भड्किएको आक्रोश थिएन। यो त विगतका वर्षौँ – यहाँसम्म कि दशकौँदेखि निरन्तर सञ्चित हुँदै आएको पीडा, असन्तोष र आक्रोशको विस्फोट थियो। व्यापक भ्रष्टाचार, नोकरशाहीको उदासीनता, र नागरिकले आधारभूत सेवा पाउँदा भोग्नुपरेको दैनिक अपमानले जनमानसमा गहिरो घाउ र आक्रोशको विशाल भण्डार निर्माण गरिसकेको थियो।
विशेषगरी जेन जी पुस्ताबाट सल्किएको भए पनि, यो आगो देशभर सबै उमेर र पृष्ठभूमिका नागरिकले फैलाएका थिए। वास्तवमा, जसले आफ्नै घरभित्र बसेर – डिजिटल माध्यमबाट, भावनात्मक रूपमा, र नैतिक साथ दिँदै – आन्दोलनलाई ऊर्जा दिए, तिनीहरूको सङ्ख्या सडकमा उत्रिएका भन्दा कयौँ गुणा बढी थियो। यसैले यो केवल सडकमा सीमित आन्दोलन होइन, एक राष्ट्रिय एकीकृत जनचेतनाको स्वरूप बन्यो।
यो कुनै सामान्य राजनीतिक हलचल थिएन। यो त्यस्तो समाजको सामूहिक रोध थियो, जसले विकासका असंख्य बजेटहरू भ्रष्टाचारमा हराएको देख्दै आएको छ, जसका पूर्वाधार परियोजनाहरू भाडाखोरीमा रोकिएका छन्, र जसको सार्वजनिक प्रणालीले सदैव सेवाभन्दा शक्ति, निष्ठाभन्दा पहुँचलाई पुरस्कृत गर्दै आएको छ। त्यसैले यो आज नभए पनि, कहिल्यै न कहिल्यै अवश्य हुने ऐतिहासिक विस्फोट थियो। यस सम्पूर्ण आन्दोलनको शृङ्खलामा न कसैले जिते, न कसैले हारे – वा भनौं सबैले हारे र सबैले जिते। यस सम्पूर्ण घटनाक्रमलाई टुक्राटुक्रामा होइन, समग्रताको रूपमा हेर्न आवश्यक छ।
जनआन्दोलन न व्यवस्थित हुन्छन्, न त नियन्त्रित
यति विशाल र भावनात्मक जनआन्दोलनलाई कुनै योजना वा निर्देशनअनुसार पूर्ण रूपमा नियन्त्रण गर्नु वा चलाउनु सम्भव हुँदैन। कुनै चरणमा पुग्दा यस्तो आन्दोलन व्यक्तिगत तर्क वा विवेकभन्दा अलग भएर, सामूहिक मनोविज्ञानको वेगमा चल्न थाल्छ।
यस आन्दोलनमा ७४ जना नागरिकको ज्यान गएको छ, २१०० भन्दा बढी घाइते भएका छन्, करिब ३०० सरकारी तथा नगरपालिका भवनहरू, थुप्रै निजी घरहरू, राजनीतिक आवासहरू र व्यावसायिक संरचनाहरू नष्ट वा क्षतिग्रस्त भएका छन्। यी भौतिक नोक्सानीसँगै हजारौँ परिवारहरूको मनोबल, जीवनयोजना र आशाहरूमा परेको चोट अझ गहिरो र दीर्घकालीन छ – जुन संख्याले मात्र नाप्न सकिँदैन।
कलिला युवा सहिदहरूको बलिदानको आधारमा उभिएको यो जेन जी आन्दोलनलाई कम आकलन गर्ने वा विवादमा तान्न कदापि हुँदैन। यस आन्दोलनका मुख्य एजेन्डा र म्यान्डेटहरूलाई कमजोर पार्न वा धमिलो बनाउन पनि दिइनु हुँदैन।
राष्ट्रको प्रधानमन्त्रीलाई २७ घण्टाभित्र राजीनामा दिन बाध्य तुल्याएको विश्वमै उदाहरणीय बनेको यस आन्दोलनलाई यसका सहभागीहरूले मात्र होइन, नियन्त्रण गर्न खोज्नेहरू, र पूर्व प्रधानमन्त्रीसमेतले सम्मान र गौरवको भावनासाथ ग्रहण गर्नुपर्नेछ। यसमा सबैका लागि पाठ र सुधारका अवसरहरू निहित छन्।
आरोपित घुसपैठियाहरू- राष्ट्रिय सुरक्षाको गम्भीर चिन्ता
व्यापक घुसपैठ भएको हो वा भयो भनिन्छ – तर देशभर हजारौँ संख्यामा आरोपित घुसपैठीहरू देखिनु आफैंमा एक गहिरो प्रश्न होइन र? यति ठूलो संख्यामा देशव्यापी रूपमा फैलिएको भनिएको घुसपैठको बारेमा राज्यका सुरक्षा निकायहरूलाई समयमै सूचना नै नहुने कुरा अत्यन्त गम्भीर छ। यदि यस्ता समूहहरू वास्तवमै देशभर सक्रिय थिए भने, उनीहरूले पक्कै लामो समयदेखि स्रोत, संरचना, सञ्जाल र सुरक्षित स्थानहरू प्रयोग गरिरहेका थिए, जसलाई स्थानीय प्रहरी, राष्ट्रिय सुरक्षा निकायहरू तथा गुप्तचर संयन्त्रहरूले समयमै थाहा पाउनुपर्ने थिएन र?
तर यस्तो पूर्वसूचना, रोकथाम, वा नियन्त्रणका कुनै प्रभावकारी कदम नलिइनु केवल एउटा प्रशासनिक कमजोरी नभई राष्ट्रिय सुरक्षामा प्रत्यक्ष जोखिमको रूपमा बुझिनुपर्छ। यसरी देशव्यापी उपस्थिति बनाइसकेको यति ठूलो घुसपैठ सञ्जाललाई नेपाली भूमिमा उम्रन, बढ्न र फैलिन अनुमति दिइनु, राज्यका संरचना र संयन्त्रहरूको गम्भीर असफलता वा लापरबाहीको सङ्केत हो।
यो प्रश्न अब केवल आलोचना होइन– जवाफदेहितासहित स्पष्ट रूपमा सम्बोधन गरिनुपर्ने राष्ट्रिय सवाल हो। यस्तो सुरक्षा कमजोरी पुनः कहिल्यै नदोहरियोस् भनेर सुधार, उत्तरदायित्व र जवाफदेहिताको स्पष्ट प्रक्रिया सुरु गर्न आवश्यक छ।
हानि र अवसर दुवै
यो आन्दोलनपछि आएको वा अझ आउने आर्थिक धक्का उल्लेखनीय हुनेछ भन्ने यथार्थ हो। विश्व बैंकको मूल्याङ्कन अनुसार, राजनीतिक अस्थिरताले कुनै पनि मुलुकको जीडीपी वृद्धिदरबाट कयौँ प्रतिशतले गिर्न सक्छ र नेपाल पनि यसको अपवाद होइन।
लगानीकर्ताको विश्वास अत्यन्त नाजुक अवस्थामा थिय – अब अहिले झन् बिग्रेको हुनुपर्छ। पर्यटन क्षेत्रमा अहिल्यै बुकिङ रद्द हुन थालेका छन्। सार्वजनिक पूर्वाधार विस्तार, लगानी प्रोत्साहन, र रोजगारी सिर्जनाका धेरै योजना अस्थायी रूपमा थाती रहेका छन्। तर यस्ता क्षणहरू, जति पीडादायी भए पनि, रूपान्तरणका लागि दुर्लभ अवसरहरू पनि हुन सक्छन्। अवरोधहरूले कहिलेकाहीँ नयाँ ढोका खोल्छन्। यही समयमा व्यवसायमैत्री नीतिहरू ल्याउन, जटिल प्रक्रिया र अनावश्यक पदसोपानहरू भत्काउन, जनविश्वास पुनःस्थापित गर्न, र शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउने उपयुक्त अवसर हो।
हामी त्यसमा झुक्किनु हुँदैन कि हामीसँग स्थिरताको समयमा समेत निष्क्रियताको परम्परा थियो नै। आन्दोलन नभएको अवस्थामा पनि कार्य नगर्ने प्रवृत्तिका कारण हामी पीडित भएका छौँ। प्रगतिको अभावले आन्दोलन जन्मायो र अब आन्दोलनपछिको अवस्थाबाटै प्रगति सम्भव हुनेछ।
यदि दीर्घकालदेखि जरा गाडेको भ्रष्टाचार वास्तवमै अन्त्य हुने हो भने भएको घाटालाई भ्रष्टाचार निवारणको एक मूल्य मान्न व्यवसायी, कर्मचारी र आम नागरिकहरू तयार मात्र होइन, उत्साहित नै देखिन्छन्। जलाइएका संरचनाहरूभित्र पनि भ्रष्टाचारको दहनसाथ जन्मिएको आशाको ज्योति झिलिमिली गरिरहेको देख्न सकिन्छ।
'विदेशी हस्तक्षेप' को मिथ्या आरोप
'विदेशी हस्तक्षेप' भन्ने आरोप जेमा पनि हालिनु प्रायः कमजोर शासन व्यवस्थाहरूको सजिलो बहाना बनेको देखिन्छ। तर इतिहास साक्षी छ– छिमेकीहरू सधैं आफ्ना वरिपरि स्थायित्व र शान्ति चाहन्छन्, किनकि छेउछाउको अराजकता उनीहरूमा पनि छ्यापिन्छ।
हाम्रा छिमेकीहरू पनि अस्थिर नभई शान्त र समृद्ध नेपाल चाहन्छन्। उनीहरूले आफ्ना स्वार्थहरू अवश्य पछ्याउनेछन्, जुन प्रत्येक राष्ट्रले स्वाभाविक रूपमा गर्छ। र यही हाम्रो कुशल कूटनीति र राजनैतिक दूरदृष्टिको परीक्षा हुनेछ।
समताको सेतु
दुर्भाग्यवश, हालको घटनाक्रमले समाजभित्र 'पुराना र नयाँ' भन्ने दुई ध्रुवीय विभाजन सिर्जना गरिरहेको देखिन्छ। यसले फेरि एकपटक देशलाई चरम ध्रुवीकरणतर्फ धकेल्ने सम्भावना बढाएको छ। यसले नागरिकलाई अनावश्यक रूपमा 'यो वा त्यो' पक्ष रोज्न बाध्य गराउनेछ।
अहिलेको आवश्यकता पक्षधरता होइन, सन्तुलन हो– एकात्मता हो। नागरिकले केही समयका लागि बीचको बाटो रोज्न आवश्यक छ।
कुनै विचारधारा, दल वा संस्थाको अन्धसमर्थक बन्ने वा बाध्य सदस्य हुने समय अहिले होइन।
यो समय नदीको कुनै एक किनारमा होइन, पुलको बीचमा उभिएर– समतामय, स्थिर र सजग भएर हेर्ने, रहने समय हो।
अब पुरानो पुस्ता अनुसन्धान, जवाफदेहिता र सम्भावित कारबाहीको दबाबमा आउनेछ भने नयाँ पुस्ता शीघ्र परिणाम दिनुपर्छ भन्ने अत्यधिक अपेक्षा र निष्ठाको प्रश्नहरूको चपेटामा पर्नेछ। यी दुवै प्रकारका दबाब वास्तविक र गम्भीर छन्।
त्यसैले हामीले अहिलेको परिस्थितिमा आक्रोश वा पूर्वनिर्णय होइन, धैर्य र सजगताको साथ प्रतिक्रिया दिनु अत्यन्त जरुरी छ।
आज देखिएको अवस्था विगतका वर्षौँदेखि उपेक्षित कारणहरूको परिणाम हो। अब आउने अवस्था भने हामीले अहिले गर्ने कार्य र छनोटहरूमा निर्भर गर्नेछ। त्यसैले हामीले हालैको विगत वा वर्तमानलाई मात्र सम्पूर्ण श्रेय वा दोष दिने प्रवृत्तिबाट बच्नुपर्छ। इतिहासलाई यसको सही कारण–परिणामको क्रममा बुझ्नु नै न्यायसंगत मूल्याङ्कन हो।
नागरिकलाई आह्वान
यो कुनै पनि पक्षमा उभिन वा विभाजनको एकाइ बन्ने सबैभन्दा अनुपयुक्त समय हो। म सबै नागरिकहरूलाई विनम्र अनुरोध गर्दछु– अहिले कुनै पक्ष नलिनुहोस्। जसरी आमा–बुबाले आफ्ना सन्तानबीचको विवादमा पक्ष नलिएर, बरु दुवैलाई बुझ्ने प्रयास गर्छन् र केवल विवाद होइन, विवादको मूल कारण समाधान गर्न केन्द्रित हुन्छन्, त्यसरी नै हामी नागरिकहरूले पनि स्थायी रूपमा कुनै दल, विचार वा गुटको समर्थक बन्नु हुँदैन। हामी सबैको कर्तव्य दलहरूलाई बचाउनु होइन, राष्ट्रलाई निको पार्नु हो। यसका लागि म सबैलाई तीन विनम्र तर अत्यावश्यक आह्वानहरू गर्न चाहन्छु:
१. आफ्नो काममा फर्कनुहोस्– र अझ राम्रोसँग गर्नुहोस्
हरेक नागरिक राष्ट्रको एक महत्वपूर्ण अङ्ग हो। हाम्रो सामूहिक भविष्यको गुणस्तर हाम्रो व्यक्तिगत प्रयत्नको गुणस्तरमा निर्भर गर्दछ। शोक वा उत्सव सकौँ। यो अवस्थाबाट पार होऔं, र नयाँ प्रतिबद्धतासाथ पुनः सुरु गरौँ । यो केवल देशका लागि मात्र होइन, हामी सबैका लागि पनि व्यक्तिगत पुनःसुरुवात हो।
२. समाचार सचेत भएर उपभोग गर्नुहोस्
आजको समयमा गलत सूचना सत्यभन्दा छिटो फैलिन्छ। हरेक समाचार स्रोतप्रति आलोचनात्मक दृष्टि राखौँ। गलत सूचनाले संक्रमित नहौँ, भावनात्मक उक्साहट र आक्रोशका पोस्टहरूमा वा भाषणहरूमा नफसौँ। सामाजिक सञ्जालमा गरिने प्रत्येक क्रियाको नियत र जोखिम बुझौँ। मोबाइल-स्क्रिन समय घटाऔँ। बगैंचा, सरसफाइ, अध्ययन, सङ्गीत, योग, ध्यान जस्ता जीवनदायी कार्यहरूमा संलग्न बनौँ। आफ्नो लागि मात्र होइन, टोलमा समूहमा पनि सामूहिक पुनर्जागरण गरौँ।
३. गल्तीहरूबाट सिकौँ
लोकतन्त्रमा नागरिक सार्वभौम हुन्छन् तर साथसाथै सबै कुराको मूल वा जराको रूपमा जिम्मेवार पनि हुन्छन्। त्यसैले अझ बढी सचेत बनौँ। पटक–पटक, गहिरिएर सोचौँ, समय लिऊँ। कसैलाई प्रशंसा वा आलोचना गर्नुअघि, कसैका लागि ताली बजाउनु वा ढुंगा हान्नुअघि, कुनै आन्दोलन वा पार्टीमा सामेल हुनुअघि आफूलाई १० पटक प्रश्न गरौँ।
फगत औपचारिक कार्यक्रम, भेला, सभा र त्यसका माल्यार्पण तथा आसनग्रहणका भद्दा आयोजनाहरू, आक्रामक वा चाकडीपूर्ण टिप्पणीहरू र चाकरी तथा नक्कली सभ्यताको प्रदर्शनलाई पटक्कै प्रोत्साहन नदिऊँ, बरु निरुत्साहित गरौँ। बोक्रामा नाल्झिऊँ– फलतिर लागौँ। समाजहरू ठूला–ठूला भिजनले मात्र होइन, स–साना व्यवहारले पनि रूपान्तरण हुन्छन्।
दोषारोपणको चक्र सुरु भइसकेको छ। केहीले आफ्नो निर्दोषिता प्रमाणित गर्न मैलो फ्याँक्नेछन् र केहीले उनीहरूलाई दोषी देखाउन फर्काएर त्यही मैलो फ्याँक्नेछन्। हामी नागरिक भने मैलो नहौँ, र अरूको मैलो पनि नबनौँ। कसैको अहंकार, महत्वाकांक्षा वा राजनीतिक पदका लागि फार्मा नबनौँ।
बरु, हामीले अब विगत र भविष्य, पुरानो र नयाँबीचको दूरीलाई जोड्ने 'समताको साँघु' निर्माण गर्नुपर्छ।
छ महिनासम्म त्यस साँघुमा शान्त, धैर्यवान र विवेकशील भएर उभिनुपर्छ। निर्णय नगरी अवलोकन गर्नुपर्छ।
शत्रुताबिनै जिज्ञासा गर्नुपर्छ। यस क्षणलाई र आफूलाई निको पार्न र समृद्ध बन्न एक वास्तविक अवसर दिनुपर्छ।
समय बलवान छ– फेरि आउँछ, सबैको आउँछ, आउनु पर्ने बेला आउँछ।
यो संवेदनशील क्षणमा हामी सबै राष्ट्रिय एकताको भावना सङ्कलन गरौँ। राष्ट्रको सार्वभौमिकता, स्वाभिमान र आत्मा जोगाऔँ। हालैका राष्ट्रिय घटनाक्रममा ज्यान गुमाउने सम्पूर्णप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरौँ। सहिदहरूलाई नमन गरौँ। यो असामयिक मृत्यु परिवार, समुदाय र सम्पूर्ण नेपालको लागि एक अपूरणीय क्षति हो। उनीहरूको बलिदानलाई गरिमापूर्वक सम्झने प्रतिबद्धता व्यक्त गरौँ। यस बलिदानले हामी सबैलाई अझ न्यायपूर्ण, पारदर्शी, शान्तिपूर्ण र करुणामय राष्ट्र निर्माण गर्न प्रेरित गरोस् भन्ने कामना गरौँ। हेक्का रहोस्– बलिदानलाई परिणामविहीन हुन दिनु सबैभन्दा ठूलो पाप हुनेछ।
(सनत न्यौपाने उद्यमी, क्राइसिस कन्सल्ट्यान्ट तथा नवप्रवर्तक हुन्)
Shares

प्रतिक्रिया