सामान्यत: म आत्मपरक लेखको धेरै ठूलो प्रशंसक होइन। लेखकले आफूलाई पृष्ठभागमा राखेर मुद्दाको उठान गर्नुपर्छ भन्ने मेरो मान्यता हो। तर यो सामान्य अवस्था होइन।
पुरानो सरकारले नेपालमा स्कुले विद्यार्थीसहित ७५ जनाको हत्या गरेको अवस्था छ। अझै थुप्रै घाइते छन्। पुरानो सरकारका प्रधानमन्त्री केपी ओलीले यसको जिम्मेवारी लिनु त टाढाको कुरा, उनी नयाँनयाँ षड्यन्त्रको सिद्धान्त बुन्दै आफ्नो दोष स्वदेशी-विदेशीलाई थोपर्न लागिपरेका छन्।
उनका मतियार देउवा दम्पतीले अस्पतालमै बसेर नयाँ राहदानी बनाएर कुनै पनि बेला विदेश जान तयार भएर बसेका छन्।
नेकपा माओवादीका खेलाडी प्रचण्डले पार्टीको साविक संरचना भंग गरेर आफूलाई संयोजकका रूपमा उभ्याएका छन्।
जेन जी नामका आन्दोलनकारीहरू एकजुट छैनन्। सुशीला कार्कीको अन्तरिम सरकार अन्यौलपूर्ण झन्झावातबाट आफ्नो जहाज फागुन २१ को चुनावसम्म लैजान खोज्दैछ। यात्रा सहज छैन।
सन् २००४ मा अमेरिका आएपछि सन् २०१४ सम्म मैले पत्रकारिताको 'प' पनि उच्चारण गरिनँ। सन् २००८ देखि सन् २०१३ सम्म एक शब्द नेपाली बोलिनँ। मोहभंग भएको अवस्था थियो।
अचानक सन् २०१४ को हिउँदमा जनआस्था साप्ताहिकका सम्पादक, मेरो पुरानो साथी किशोर श्रेष्ठले कोलोराडोको बोल्डर सहरमा मलाई छापामार शैलीले झ्याप्प समात्यो। केही लेख्नुपर्छ है भन्दै वाचा बन्धनमा पारेर गयो। के लेख्ने?
क्यालिफोर्नियामा रहेकी मेरी तत्कालीन प्रेमिका, हालकी श्रीमती जुनिताले भनिन्, 'मोदी पावरमा आएपछि इन्डियाले साउथ एसियामा दादागिरी देखाउन सुरु गरेको छ, त्यसैको बारेमा लेख्नु नि।' ठीकै लाग्यो। दस वर्षपछि नेपालको अखबारमा मेरो लेख छापियो। हलचल भएछ। विषेशत: भारतीय दूतावासमा।
जुनिता त्यसैबेलादेखि मेरो अवैतनिक संवाददाता मात्र होइन, बेलाबेला लेख्न घच्घच्याउने जीवनको एक सहयात्री भएकी हुन्। नेपालमा बहत्तर सालको भुइँचालो जाँदा म कोलोराडोमा थिएँ। तर त्यसको 'लाइभ रिपोर्टिङ' गर्ने पनि जुनिता नै हुन्। उनी क्यालिफोर्नियाबाट नेपालमा आफ्नो परिवारको कसैसँग टेलिफोन वार्तामा रहिछन्। उनीसँग फोनमा कुरा गर्ने मान्छे सुन्धारामा रहेछ। 'लौलौ भुइँचालो आयो रे, धरहरा ढल्यो रे, भर्खर,' उनले अर्को फोनबाट मलाई सुनाइन्। त्यसपछि जे जे भयो, त्यो इतिहास हो।
म क्यालिफोर्निया बसाइँ सरेर हाम्रो बिहेबारी भैसकेपछि पनि जुनिताको अवैतनिक संवाददाताको जागिर यथावत छ। भदौ २३ को जेन जी आन्दोलनमा केही हुन्छ भन्ने शंका थियो। तर एकै खेपमा त्यति धेरै विद्यार्थीको नरसंहार हुन्छ भन्ने कुरा कल्पनाभन्दा बाहिर थियो। नेपालमा भदौ २४ को साँझ हुँदा क्यालिफोर्नियामा म मस्त सुतिरहेको थिएँ। जुनिताले झक्झक्याएर उठाइन्, 'के सुतेको? नेपालमा केके भयो थाहा छ? संसद् जल्यो, अदालत जल्यो, सिंहदरबार जल्दैछ, निलो स्याललाई नख्खु जेलबाट थुतेर लगिसके।'
मेरो निम्ति यो सपनामा सुनेको कुरा जस्तो थियो। तर समाचार हेरेको, हो रहेछ।
कुरा डार्क इनर्जीको!
'तेरो छाती कस्तो गिलो गिलो, आइमाईको जस्तो, पिलो पिलो' भन्ने शब्द जडिएका र्याप गीतका सर्जक बालेन्द्र शाह 'बालेन' का रूपमा उदाए। साइबर प्रचारमा पोख्त उनको टिमले स्वदेशमा भन्दा विदेशमा बसेर रेमिट्यान्स पठाउने युवाहरूलाई लक्षित गर्यो। तर उनी गएको स्थानीय चुनावभन्दा पहिले नै आफ्नो रणनीति बुन्न लागेका रहेछन्। 'रुटिन अफ नेपाल बन्द' नामक सामाजिक सञ्जालको एउटा समूहले बालेनको पक्षमा वातावरण बनाउन थाल्यो।
उनले 'बालेन'को रूपमा राजधानीको महानगरीय प्रमुखको चुनाव जित्नुअघि नै स्वदेशभन्दा विदेशमा रहेका पैसा पठाउने युवाहरूले आफ्नो घरघरमा फोन गरेर भन्न थालेका थिए, 'अरु कसलाई दिने दिनुस्, तर मेयरमा बालेनलाई है।' विदेशबाट पैसा पठाउने युवाहरूको आग्रहले जित्यो। कांग्रेस एमालेका सदाबहार मतदाताले समेत केशव स्थापित वा सिर्जना सिंहको सट्टा बालेनलाई भोट दिए। एक अपरिपक्व विद्रोहले आकार लियो।
आफ्नै मान्छेको बढी कुरा गर्यो भन्ने लाग्न सक्छ। तर जुनिताले मलाई भनेकी थिइन्, 'यो मान्छे को हो, उसलाई भोट दिनेहरूलाई थाहा छैन।' मैले यो कुरालाई कुनैबेला नानीमैया दाहालको चुनावी जितसँग दाँजेर हावामा उडाइदिएँ। टुकुचा सन्दर्भमा बालेनको बचकाना त्यसको प्रमाण थियो।
तर होइन रहेछ, बालेन एकपटक सहरी विकास सम्मेलनमा सहभागी हुन ब्राजिल पुगे। त्यसअघि राजधानीका सडक पेटीमा खुद्रा सामान बेचेर इमान्दार जीवनयापन गर्ने आफ्नै देशका नागरिकहरूमाथि उनको वक्रदृष्टि थियो। उनका सेनापति राजु पाण्डे सडक व्यापारीलाई लछारपछार पारेर उनका सामान लुट्दैथिए। बालेनले त्यो बेला फेशबुकमा स्टाटस हाले, 'नगर प्रहरीको काम हलिउड फिल्म जस्तै राम्रो छ।'
ब्राजिल गएर उनले जे भने, उनका समर्थकलाई सम्झना नहोला, तर उनको वक्तव्य थियो, 'मेरो सहरमा पनि अन्य जिल्लाबाट आर्थिक आप्रवासीहरू आएर वातावरण प्रदूषित गर्दैछन्। म उनीहरू विरुद्ध कडा रूपमा प्रस्तुत हुँदैछु।'
एउटा विदेशी च्यानलले बालेनको यो वाक्य प्रसारण गर्यो। त्यसपछि जुनिताले मलाई सोधिन्, 'तपाईं डोनाल्ड ट्रम्पले आप्रवासी खेदेको कुराको खुब विरोध गर्दै लेख्नुहुन्छ, जसले राजनीतिलाई व्यापार बनायो। तर आफ्नै देशका नागरिकलाई आफ्नै देशमा 'आर्थिक आप्रवासी' को दर्जा दिएर खेद्ने मेयरका बारेमा लेख्न तपाईंलाई कसले रोकेको छ? के बालेनसँग ती सडक व्यापारीलाई आफ्नो रोजगारीको विकल्प दिने सामर्थ्य छ? ऊ जन्मिँदै चाँदीको चम्चा चाटेर हुर्किएको राजधानीको एक नवनागरिक हो। उसलाई राजधानी उपत्यका बाहिरबाट आएको मान्छेको दु:ख काठमाडौँमा कस्तो हुन्छ के थाहा? यो बारे किन लेख्नु हुन्न?'
हो, जुनिताले भनेझैँ महोत्तरीको मधेसी परिवारका बालेन्द्रको परिवारसँग अझै असी बिघा जमिन छ। उनको गाउँमा दरबार जस्तो घर छ। उनको जग्गाको मूल्य अहिले कट्ठाको आठ लाख जान्छ। एक बिघामा बीस कट्ठा हुन्छ। एक बिघाको मूल्य एक करोड साठी लाख हुन्छ। असी बिघाको मूल्य कति हो? आफै अनुमान गरौँ। तर उनले नाम फेरेर गाएको गीतको बोल थियो, 'गरिबको चमेली, बोल्दिने कोही छैन।'
उनी आफ्नो जरोकिलो मधेसमा रहेको कुरा गर्न रुचाउँदैनन्। न बालेन प्रजातन्त्रवादी हो, न उनलाई सडकका मान्छेको पीडा थाहा छ।
उनका पुर्खाले सलहेश नामका दुई टाउके भगवानको पूजा गरेर चौतारीमा लड्डु चढाए। उनका बुवाआमा अझै त्यही गर्छन्। तर बालेनको दाबी छ, 'म बुद्धिस्ट हिन्दु सम्प्रदायको हुँ।' उनी नेवारी राम्रो बोल्छन्। भजन गाउने ठाउँमा हार्मोनियम बजाउन सिके, पछि र्याप थाले। उनको व्यक्तिगत रुचिमा मलाई चासो छैन।
तर बालेन्द्र शाहको अभीष्ट के हो? कसले उचालेको छ उनलाई? उनलाई संविधानप्रदत्त व्यवस्थाप्रति किन 'एलर्जी' छ? या उनी आफ्नै वैकल्पिक संसारमा रमाएका एक मूढ मतिका मान्छे हुन् वा अरुबाट परिचालित। यो 'अरु'को जरो खोतलिनु आवश्यक छ। जुन संविधान अन्तर्गत उनले स्थानीय चुनाव जिते, त्यो संविधानप्रति उनको रोष किन? सिंहदरबारले उनको के बिगारेको थियो? यो ऐतिहासिक स्मारक जलाउने घोषणा त उनले गरेकै हुन्। त्यो जल्दा महानगरको मातहतमा रहेका नौमध्ये एउटा दमकल पनि किन आएन? तीन दिनपछि प्रधानन्यायाधीशको आग्रहमा ललितपुरको दमकल सर्वोच्च अदालतको आगो निभाउन आउँदा बालेन शाह कुन दूलोमा थिए?
म र्याप संगीतको पारखी होइन। तर बालेन शाहअघिका र्याप संगीतकारहरूसँग परिचय छ। मैले नाम लिनु उचित नहोला। तर यी मध्येका एक जनाको टिकटक देखेँ। उनी भन्छन्, 'भित्र एउटा कुरा, बाहिर अर्को कुरा नगर ल ब्रो! तँ मेरो घरमा आएर यम बुद्धको कुरा काट्थिस्। अहिले उसको सालिक बनाउने भन्दैछस्। यम दाइले भनेको थियो, 'दिस बालेन गाइ इज अ स्नेक!'
सर्पजस्तै चरित्र त देखियो। जेन जी आन्दोलनलाई उनले फेसबुकमा पोस्ट गरेको आधारमा नेतृत्व लिइदिए! जब काम गर्ने बेला आयो, फोन बन्द गरेर भागे। सुशीला कार्कीको नाम आएपछि समर्थन त गरे, तर सेनापतिसँग कुरा गर्न आव्हान गरे। संसद् भंग गर्ने कुरामा उचाले। को बाट परिचालित छन् यी मान्छे? उनले उचालेका सुदन गुरुङलाई भारतीय सञ्चारमाध्यमले दुई दिनदेखि उचालेका थिए। सुशीला कार्कीको नाम कहाँबाट आयो? बालेन्द्र, सुशीला, ओमप्रकाशहरू कसरी एकठाउँ भए अनि बालेन्द्र अचानक बेपत्ता भए?
सुदन गुरुङ बालेनको प्रतिनिधि
हामी नेपाल नामको गैससको प्रतिनिधित्व गर्ने सुदन गुरुङ विवादास्पद मात्रै छैनन्, उनको ल्याकतमा पनि अभाव छ। जेन जीको प्रतिनिधित्व गर्ने अन्य अभियन्ताहरूको कुरा सुन्दा उनीहरू गणतन्त्र र प्रजातन्त्रप्रति निष्ठावान देखिन्छन्। सुदन गुरुङमा न त्यो बौद्धिकता प्रकट हुन्छ, न उनलाई देश चल्ने प्रक्रियाबारे सामान्य चेत छ! कसले बनायो उनलाई जेन जीको नेता? जो ठाउँमा खटिएका थिए, जोसँग एउटा स्पष्ट विचार थियो, उनीहरू पाखा लागेका छन्। दर्जनौँ घाइतेको उद्धार गरेका एक व्यक्ति भन्छन्, 'को हो त्यो मान्छे?'
अनिलकेशरी शाहको पडकास्टमा आएका जेन जी युवाहरूले एक स्वरमा भने, 'हामीले कसैलाई आफ्नो नेता भनेका थिएनौँ। हाम्रो प्लान अर्कै थियो, तर अचानक को मान्छे कसरी सरकार बनाउने लेभलमा आएर हाम्रो नेता बन्यो, यसको बारेमा हामी आफैलाई थाहा छैन।' यी युवाहरू जेन जी प्रदर्शनका अगुवा मात्र होइनन्, गोली खाएकाहरू पनि थिए। सुदन गुरुङलाई कसैले चिनेकै छैनन्। कहाँबाट अचानक आए उनी?
सुदन गुरुङ बारबरा फाउन्डेसनको पैसा लिएर हामी नेपाल नामको गैसस चलाउँथे। उनलाई फ्री तिब्बत विद्यार्थी अभियानको सहयोग थियो। दलाई लामाले सुदन गुरुङले खुट्टा ढोगेको सुशीला कार्कीलाई शुभकामना पठाए! जोड्नुपर्ने विन्दु धेरै छन्।
जेन जीको प्रतिनिधित्व गर्दै जंगी अड्डामा प्रधानसेनापति भेट्न जाने समूहमा सुदन गुरुङको नाम थिएन। त्यहाँ रक्षा बम नामकी एक किशोरीले प्रधानसेनापति अशोक सिग्देललाई सिधै प्रश्न गरेकी थिइन्, 'के तपाईंले नेपालमा सैनिक कू गर्न लागेको हो?' सेनापतिलाई यो प्रश्नले पक्कै झट्का लागेको हुनुपर्छ। उनले होइन भने।
तर सेनापतिले जेन जी आन्दोलनका साझेदारका रूपमा 'निलो स्याल'को नेतृत्वमा रहेको तथाकथित दल रास्वपा र बैंक ठग दुर्गा प्रसाईंको भिजिलान्ते समूहलाई समेत आन्दोलनको 'साझेदार'का रूपमा प्रस्तुत गरेपछि यो वार्ता हुन सक्दैन भनेर हिँड्ने पनि उनै रक्षा बम थिइन्।
उनको अडानले सेनापति अशोक सिग्देलको धमिलो पानीमा माछा मार्ने योजना तुहियो। जेन जी प्रतिगमनको पक्षमा थिएन, भ्रष्टाचारको विपक्षमा थियो। खरायो मार्न गएको बालक चितुवा फेला परेपछि जसरी आत्तिन्छ, सिग्देल त्यो अवस्थाको फाइदा उठाएर आफ्नो एजेन्डा स्थापित गर्न खोज्दैथिए। तर अहिलेको पुस्ता सचेत छ। राजनीतिको तिकडम नबुझ्नु उनीहरूको समस्या होइन।
तर सिंहदरबार जलाइदिन्छु भन्ने राजधानीका मेयर सिंहदरबार जल्दा चुपचाप थिए। कालो चस्मा, कालो कोट र अपारदर्शी भावका धनी उनको आन्दोलन केवल सामाजिक सञ्जालमा थियो। सुरुमा उनले जेन जीलाई उचाले। पछि थचारे। जेन जीका प्रतिनिधिले उनलाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्। सुशीला कार्कीको नाम सुरुमा कहाँबाट आयो? सुदन नामको मान्छे आफै कसरी प्रधानमन्त्री वा मन्त्री चयन गर्ने ठाउँमा पुगे? प्रश्न अनुत्तरित छन्।
तर सुदन गुरुङ संदिग्ध छन्। नेपालीहरूले थाहा पाउनुअघि भारतीय चुनिन्दा पडकास्टहरूमा सुदन गुरुङको नाम चर्चामा थियो। सुदन गुरुङ र अन्तरिम मन्त्रिमण्डलका केही सदस्यहरू एउटै घाटको पानी खाएका मान्छेहरू रहेछन्!
बालेनले संसद् भंग हुनुपर्ने र सेनासँग वार्ता गर्नुपर्ने माग किन गरे? उनले भने अनुसार नै जेन जी वार्ता गर्न जंगी अड्डा किन पुग्यो? को हुन् बालेन? एउटा मेयरले पर्दापछाडि आँखामा कालो चस्मा लगाएर आन्दोलन कसरी हाँके? उनकै कानुनी सल्लाहकार नेपालका गृहमन्त्री कसरी बने? आँखामा छारो हाल्ने किसिमले गैरराजनीतिक मान्छेहरूलाई सुशीला कार्कीको मन्त्रिमण्डलमा हुल्ने योजनाकार को हो? धेरै प्रश्न अनुत्तरित छन्।
तर एउटा परिदृश्य स्पष्ट छ, विध्वंसले स्थापना गरेको यो सरकार समाधान होइन। किन? सरकार अलमलिन सुरु भैसक्यो। सुशीला कार्की के गर्दैछिन्, उनले देशबासीलाई दिएको सन्देशबाट लख काट्न सकिन्छ। यसले जेन जीको मागलाई सम्बोधन गर्दैन। उनले आफ्नो सीमित कार्यभारलाई इमानदारीपूर्वक स्पष्ट गरिसकेकी छिन्। अर्थमन्त्री रामेश्वर खनाल व्यवसायी उपेन्द्र महतोको जलेको घर हेर्न गए। महतो न्यायाधीश नियुक्ति मात्र होइन, सरकार बनाउने र बिगार्ने खेलमा पैसाको चलखेल गर्ने मान्छेको रूपमा कुख्यात छन्।
एक मध्यम स्तरका 'टक शो' संचालक अचानक सञ्चारमन्त्री भएका छन्। अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने पूर्ववर्ती सरकारको निर्णय उल्ट्याएर उनले सञ्चार मन्त्रालयमा ल्याउनुलाई नेपाल प्रेस युनियनका पदाधिकारीहरू ठूलो उपलब्धिका रूपमा जयजयकार गर्दैछन्। यसबीच उनले कान्तिपुरको जलेको भवन 'निरीक्षण' गर्न पनि बाँकी राखेनन्। मन्त्रीको हरेक भ्रमणमा अर्थ र स्वार्थको चलखेल हुन्छ।
यी मान्छे कुनै बेला प्रेस चौतारीमा आबद्ध भएर नेकपा एमालेका ओलीको गुण गाउँथे। कुनै बेला नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएर गगन थापाको। तर बारबरा फाउन्डेसनको सदस्यता यसपटक निर्णायक भयो।
षड्यन्त्रको सिद्धान्त
आफ्नो खुट्टीले टेक्न नसकेपछि धरातल हल्लिएको भान हुनु स्वाभाविक हो। केपी ओली बोल्न थालेका छन्। तर उनको बोलीको टुंगो छैन। 'पाँच मिनेट ढिलो भएको भए मलाई मार्ने थिए' भन्न जति सजिलो हुन्छ, गएको पैँतीस वर्षमा मैले केके गरेँ भन्न दुष्कर। जनताले हिसाब राख्छन्। 'मैले भ्रस्टाचार नगर्नु मेरो अपराध हो' भन्ने ओलीको बोली र आरजु राणाले छोराको कसम खाएको घरबाट बरामद नोटका बिटामा समान तादाम्य छ।
सर्पको मुखमा परेको भ्यागुतोले पनि आफ्नो मुखमा आएको झिंगो लपार्छ। देउवा दम्पती हुन् वा ओली अथवा प्रचण्ड, अब जमाना गयो। अब कसको जमाना हो, त्यो आन्दोलनकारी जेन जीलाई पनि थाहा छैन। केही नहुनु केही हुनुको सुरुवात हो। त्यो सुरुवात प्रजातान्त्रिक हुन सक्छ, अथवा अन्य केही। त्यो अन्य केही कस्तो हुनेछ, भनेको समयमा चुनाव हुन्छ वा हुँदैन त्यसमा निर्भर हुनेछ। तर पार्टी बाहेकको प्रजातन्त्र सम्भव छैन। पार्टीका वर्तमान नेतृत्व कायम रहने हो भने न प्रजातन्त्र सम्भव छ न सुशासन।
क्यान्सरको डल्ला पलाएका छन्, तिनलाई नफाली नयाँ जीवनको परिकल्पना असम्भव छ।
नेपालले संसदीय व्यवस्थामा जेजति प्रावधानको अभ्यास थियो, गरिसक्यो। अब कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको जुन उभार आएको छ, त्यो नेपाली होइन, विदेशी चलखेल हो। बालेन्द्र शाहको नाम आउँदा उनका समर्थक खुसी हुनु स्वाभाविक हो। तर कालान्तरमा उनी कालो चस्मा लगाउने कालो शक्तिका रूपमा उदाउने छन्।
अहिले जेन जीले प्रखर रूपले उचालेको 'प्रत्यक्ष कार्यकारी राष्ट्रपति'को माग सुन्दा जति चित्ताकर्षक छ, व्यावहारिक रूपले त्यति नै खतरनाक। संसदको अङ्कुशमा रहेका प्रधानमन्त्री केपी ओलीले तानाशाहका रूपमा दुईपटक संसद् भंग गर्ने चेष्टा गरेको इतिहास त्यति पुरानो होइन। संसदीय सीमाभन्दा बाहिरको कार्यकारी सरकार प्रमुखले आफ्नो स्वार्थ र तजबिजको आधारमा मुलुकको प्रजातान्त्रिक धारलाई बंग्याउने चेष्टा गरेको अवस्थामा शक्ति सन्तुलनको प्रत्याभूति कसले गर्छ?
संविधान नामको कागजको खोस्टामा प्रजातन्त्रको पदावली शोभायमान हुनसक्छ। तर गणतन्त्रको स्थापनापछि सत्तामा आएका कुनै पनि शासकले प्रजातान्त्रिक संस्कार प्रदर्शन गरेका छैनन्। नेपाल प्रजातान्त्रिक यात्रामा बामे सर्दै गरेको समाज हो। प्रजातान्त्रिक संस्कारभन्दा व्यक्तिगत स्वार्थ र पार्टी गुटको इसारामा मतदान गर्ने समाजमा प्रजातन्त्र कमजोर हुन्छ, दलतन्त्र बलियो हुन्छ। जेन जीको विद्रोह यही अभिशापको उपज हो।
बालेन वा अरु जोसुकैको नाममा आउने प्रत्यक्ष कार्यकारी सरकार प्रमुखको चाहनाले नेपालमा सुशासनको जरो दिगो र गहिरो तुल्याउन सक्दैन। यसले अर्को विद्रोहको बिउ रोप्नेछ। भूराजनीतिक शक्तिकेन्द्रहरू यसैको ताकमा छन्। हामी जानी नजानी राष्ट्रिय स्वार्थका सट्टा विदेशी षड्यन्त्रको चक्रव्युहमा पर्ने सम्भावना बढेको छ। विश्वमा यसै पनि सम्भावित युद्धको बिगुल र टंकार प्रतिध्वनित हुँदैछ।
नपत्याउनेले मेरो यो लेख पाँच वर्षपछि पढ्नू।
(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)
Shares

प्रतिक्रिया