विचार


बालेन र सेनाको सम्बन्ध के हो?

बालुवाटारमा जब बालेनले भने– चुनाव हुँदैगर्छ, यिनीहरूलाई नथुने अर्को आन्दोलन हुन्छ
बालेन र सेनाको सम्बन्ध के हो?

राजेश मिश्र
असोज २४, २०८२ शुक्रबार १८:८, सान डिएगो, क्यालिफोर्निया

जिब्रो चपाएर अलंकारयुक्त भूमिका बाँध्ने न समय छ, न सुविधा। त्यसैले सिधै विषयप्रवेश गरौँ। 

सेनापति अशोक सिग्देलको अभिप्रेरणामा निरीह राष्ट्रपति रामचन्द्र पौडेलले जबर्जस्ती टीका लगाइदिएको संविधानइतर सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको भ्रम टुट्न थालेको प्रतीत हुँदैछ। 

प्रहरी बलको लाचारी र सेनाको रहस्यमय उदासीनताबाट मच्चिएको विध्वंशको जगमा टेकेको यो सरकारको एक मात्र उद्देश्य हो, आगामी फागुन २१ मा नयाँ चुनाव गराउने। तर जसले यो सरकार स्थापित गर्‍यो, उसले चुनाव चाहेको छैन। स्वयं प्रधानमन्त्री कार्कीलाई चुनाव भनेको समयमा हुने कुरामा शंका रहेको सत्य प्रकट हुँदैछ। राजनीतिमा दुई सरल वाक्यका बीचमा लुकेको अदृश्य सन्देशको महत्व हुन्छ। 

कथित जेन जी आन्दोलन एक महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा दिएको सन्देशमा चुनावको निश्चयमा कुनै जोडबल देखिएन। ‘वर्तमान सरकार र निर्वाचनपछि आउने नयाँ सरकार दुवैले युवाहरूको सपना साकार पार्न र समृद्ध नेपाल बनाउन कदम चाल्ने छन्,’ उनले चुनावका बारेमा बोलेको कुरा यत्ति मात्रै हो। 

निर्धारित समयमा चुनाव गराउने उनको प्रतिबद्धता यो सन्देशमा प्रतिविम्बित भएको छैन। उनको अभिप्राय जेन जी विध्वंशद्वारा स्थापित नयाँ तर गैरसंवैधानिक हुल्लडबाजहरूको आक्रोश शान्त पार्नुमा केन्द्रित देखिन्छ भने यो स्वाभाविक हो। कार्कीलाई आफ्नो सीमाको बिस्तार कहाँसम्म पुग्छ, थाहा छ।

गृहमन्त्री कसको हो? 
चुनाव नलडी राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्न पुगेको व्यक्तिलाई भोलि जनमत सहित राज्य सञ्चालनको अभिभारा बोक्ने चेष्टाले आकर्षित गर्दैन। गैरराजनीतिक यस्ता व्यक्तिका निम्ति काकतालीले पाएको पद आफ्नो ‘बायोडाटा’मा थप्ने एउटा अर्को सफलताको बुँदा हो। वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल पनि अपवाद होइनन्। विद्यार्थी जीवनमा उनी नेकपा एमाले समर्थक अनेरास्ववियुका सामान्य कार्यकर्ता थिए। समयक्रमले उनलाई राजधानी उपत्यकाको एक महानगरमा नाटकीय मत पाएर जितेका नगरपिता बालेन्द्र शाहको कानुनी सल्लाहकार बनायो। 

महानगरका खोलामा कब्जा जमाएका सुकुम्बासी लखेट्ने अभियानमा नेकपा एमाले बालेन्द्र शाहका निम्ति तगारो भयो। मेयर हुनेबित्तिकै बालकोट दरशार पुगेर एमाले अध्यक्ष ओलीबाट तबला उपहार पाएका बालेन्द्र त्यसपछि ओलीकै तालुमा तबला बजाउन थाले। मेयरको सामाजिक सञ्जाल ओली विरोधी पोस्टले रंगीन भयो। लगत्तै ओमप्रकाश अर्यालले गिरिबन्धु चिया बगानको जग्गा निजी क्षेत्रलाई बेचेर नीतिगत भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता गरे। ओमप्रकाशको ओज बढ्यो। 

तर सामाजिक सञ्जालमा देखिएको व्यक्ति जे हुन्छ, त्यो देखिँदैन। आन्तरिक रूपले कसको तन्तु कता सलबलाएको छ, सामाजिक सञ्जालका अम्मलीले बुझ्दैनन्। भदौ २३ को नरसंहार र भदौ २४ को विध्वंशपछि बहालवाला प्रधानमन्त्री केपी ओली सेनाको सुरक्षामा भागिसकेका थिए। उनका सत्ता साझेदार नेपाली कांग्रेसका सभापति देउवा दम्पतीको सुरक्षा व्यवस्था अचानक गायब भएको थियो। मन्त्रीहरूको भागाभाग थियो। सेनासँग उनीहरूलाई उद्धार गर्ने हेलिकोप्टरको अभाव भयो। रोचक कुरा के भने देउवा दम्पतीलाई उद्धार गर्न हेलिकोप्टर बस्नै पाएन। सेनाको दुई वटा हेलिकोप्टर मर्मत गर्न आरजु राणाका भाइ भूषण राणाको कमिसनतन्त्र मुताबिक भारतमा थन्किएको दुई वर्ष भयो। यस्ता मिहीन कुरा नेपालका खोजी पत्रकारहरूलाई थाहै हुँदैन! 

थाहा हुने भए अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालले बालेन्द्र शाहले करारमा नियुक्त गरेका जोशी थरका एक सहरी योजना विज्ञलाई किन सोझै गृह मन्त्रालय अन्तर्गतको आफ्नो सचिवालयमा रातारात सरुवा गरे? यो पनि थाहा हुनु जरुरी थियो। 

ओमप्रकाश अर्यालको पछाडि कालो चस्माधारी बालेन्द्र शाह छन्। कसरी? 

असोज ९ गते अचानक मेयर शाह प्रधानमन्त्री सुशीला कार्की भेट्न बालुवाटार पुगे। उनको माग थियो, ‘केपी ओली र रमेश लेखकलाई तुरुन्तै पक्राउ गर्नुपर्‍यो।’ 

कार्कीले भनिन्, ‘त्यो त गौरीबहादुरजीको आयोगले गर्छ नि, अहिले त फोकस चुनावमा हुनुपर्छ।’ 

बालेनको प्रतिक्रिया थियो, ‘चुनाव हुँदैगर्छ, यिनीहरूलाई नथुने अर्को आन्दोलन हुन्छ।’  

सुशीला कार्कीले बालेन्द्र शाह नामका छद्मभेषी नायकको चर्को दबाब अर्को नौ दिन खेपिन्। अन्ततः असोज अठार गते बालेन्द्रका प्रतिनिधिका रूपमा सुदन गुरुङ बालुवाटार पुगे। तर सुदनले नेतृत्व गरेको जेन जी समूहसँग पृथक विचार भएका रक्षा बम, पुरुषोत्तम यादव, भावना राउत, युजन राजभन्डारी र ओजस्वी थापाहरू पनि बैठकमा सहभागी भए। सुदन गुरुङले अचानक जेन जी सहिद परिवारको नाममा आठ बुँदे मागपत्र खल्तीबाट निकाले। त्यसमा भनिएको थियो, ‘ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने।’ अर्को माग थियो, ‘प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई तत्काल बर्खास्त गर्नुपर्ने।’ 

सुदन गुरुङ बाहेक अन्य उपस्थित जेन जी कार्यकर्ता चकित भए। कहाँबाट आउँदैछ यो मागको तपसिल? को हो सुदन गुरुङ? 

असोज ९ गते नै सुदन गुरुङले गृह मन्त्रालय पुगेर मन्त्री ओमप्रकाश अर्याललाई धम्क्याएका थिए। उनको माग थियो, ‘जेन जी आन्दोलनमा समातिएका सबैलाई रिहा नगरे अर्को आन्दोलन हुन्छ।’ गृह मन्त्रालयले तुरुन्तै प्रहरीलाई एक निर्देशनात्मक परिपत्र जारी गर्‍यो, ‘सबैलाई धरौटीमा छोड्नू।’ 

प्रहरीले भिडिओ फुटेजका आधारमा आफ्नै सहकर्मीलाई कुटीकुटी मार्नेहरूको पहिचान गरेर पक्रेको मान्छे पनि छोडिदियो। सुशीला कार्की सरकारले विध्वंश छानबिन गर्न गठन गरेको गौरीबहादुर कार्कीको आयोगले केही गर्ला भन्ने आशा प्रहरीलाई छैन। प्रहरी रिसाएको छ। उसको मनोबल गिरेको छ। गृह मन्त्रालय जेन जी नामको अदृश्य शक्तिको आदेश पालन गर्दैछ। अहिले सुशासन एक कथा हो।  

होइन भने असोज अठारकै दिन, सरकार र सुरक्षा निकायबीच ओली र लेखकलाई पक्राउ गर्ने मुद्दामा डोरी तानातान हुँदा गौरीबहादुर आयोगले ‘सरकारले फौजदारी मुद्दामा जोसुकैलाई पक्रिन सक्छ’ भन्ने आशयको विज्ञप्ति किन जारी गर्‍यो?

गौरीबहादुर कार्कीको ओलीप्रतिको व्यक्तिगत पूर्वाग्रह आफ्नो ठाउँमा जायज छ। तर निभिसकेको आगो बाल्ने अधिकार उनलाई नहुनुपर्ने हो। वा सबै सत्तरी नाघेकाहरू जेन जीको अवधारणाले ग्रस्त भएर आफ्नो सेलरोटी पकाउन खोज्दैछन्? 

सेना चुनाव चाहन्छ कि चाहँदैन?
नेपाली सेनालाई लागेको पुरानो बात हो, ‘आफ्नै राजा जोगाउन नसक्नेले के देश जोगाउने कुरा गर्नु?’ सेना त्यो बेला बोलेन। बरु आफ्नै राजालाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ सेनाको कमान्डरलाई सलाम गर्‍यो। क्रान्तिकारी सेनाका नयाँ कमान्डर प्रचण्डको मूर्खता हो, उनले बहालवाला सेनापतिलाई अपदस्थ गरेर आफ्नो दम्भ देखाउने प्रयास गरे। नेपाली राजनीति खजमजिएको नै त्यही बेलादेखि हो। अन्यथा छिमेकी भारतीय सेना नेपालको राजनीतिमा खुला रूपले हस्तक्षेप गर्न आएकै थिएन। 

गणतन्त्रअघि कमसेकम गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी समेत भारतीय प्रधानमन्त्रीसँग सिधै टेलिफोनमा सम्पर्क गर्ने क्षमताका धनी थिए। केपी ओलीजस्ता निम्छरा प्रधानमन्त्री भएपछि मात्रै हो, भारतीय विदेशी गुप्तचरका नेता सिधै मध्यरातमा आएर एक सार्वभौम मुलुकको कार्यकारी प्रमुखलाई धम्क्याएको।

गिरिजाप्रसाद प्रधानमन्त्री हुँदाको व्यवस्था अहिले छैन। केपी ओली कार्यकारी हुँदा व्यवस्था बदलियो, अवस्था बदलिएन। न उनका सदाबहार आर्थिक लेनदेनका सहयात्री शेरबहादुर देउवा र पुष्पकमल दाहालले अवस्था परिवर्तन गर्न कुनै चासो दिए। दाहाललाई आफ्नी छोरीको राजनीतिक भविष्यको चिन्ता थियो, देउवालाई पत्नीको। समानुपातिक सांसदको पद बेच्नेमा खड्ग ओली पहिलो थिए, तर दाहाल र देउवालाई पनि दोस्रो र तेस्रो भन्न मिल्दैन। 

नेपालमा ०७२ सालको भूकम्पले मधेस आन्दोलन हुँदै भारतीय नाकाबन्दीको पराकम्प पनि ल्याएको हो। अहिले सहादत प्राप्त गर्ने कतिपय जेन जीहरू यो कुरा बुझ्दै नबुझी मारिए। केपी ओली त्यो बेला राष्ट्रवादका नाममा आफ्नो ‘इमोसनल’ भोट संग्रह गर्दै थिए। मर्नेहरू यो कुरा पनि नबुझी मरे। मार्नेहरूलाई थाहा नभएको अर्को कुरा हो, त्यो बेला केपी ओलीको ल्याङल्याङले नाकाबन्दी खुलेको होइन। नेपालको नाकाबन्दीलाई चीन र पाकिस्तानले ‘उपयोग’ गर्ने डर थियो भारतीय सेनालाई। त्यसपछि नेपाली र भारतीय सेना प्रमुखको तारन्तारको बैठकपछि आएको निष्कर्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घैँटोमा घाम लागेको हो। 

माओवादी विद्रोहमा सेनाले अत्यचार गरेको सत्य हो। तर नेपाली सेनालाई राजनीतिक रूपले सक्रिय हुने छुट छैन। यदि बंगलादेशको अनुभव आत्मसात गर्ने हो भने यो नेपाली सेनाका लागि अभूतपूर्व मौका हो। तर, नेपाली सेनाले सत्ता कब्जा गरेको भोलिपल्ट संयुक्त राष्ट्र संघको शान्ति सेनाबाट उसको कित्ताकाट हुनेछ। नेपाली सेनाले सैनिक कल्याणकारी कोषको नाममा गर्ने व्यापार सुक्नेछ। विदेशी ऋणबाट बनेको फास्ट ट्र्याक सधैँ बनिरहँदैन।

सेनाले चुनावमा सहयोग नगर्नुको विकल्प छैन। तर सेना राजनीतिमा लहसिएको कुराले पिरोल्छ। बालेन्द्र शाह र सेनाको सम्बन्ध के हो? कालो चस्माधारी यी मान्छे चुनाव जितेपछि पहिलो औपचारिक भेट गर्न सेनाको भद्रकाली दरबार किन पुगे? जेन जी आन्दोलनले नेपाल डढाउँदा उनको दमकलको पेट्रोल किन सकियो? आन्दोलनको लप्काका बीच उनले कथित जेन जी आन्दोलनकारीलाई बधाई दिँदै अब संसद् विघटन गरेर सेनासँग कुरा गर्नुपर्ने आह्वान किन गरे? सुदन गुरुङले बालेनको ‘प्लेबुक’ किन पछ्याए? प्रश्न धेरै छन्। 

तर अर्को प्रश्न झन् जाज्वल्यमान छ। संसार युद्धमा जाँदैछ। हामी लडेर मर्ने कि मिलेर बाँच्ने? 

संसारमा दुईओटा कुरा हुन्छन्। एउटा काल्पनिक सत्य। अर्को वास्तविक सत्य। काल्पनिक सत्य मान्छेको धारणामा आधारित हुन्छ। काल्पनिक सत्यले मान्छेले देख्न चाहेको सत्य देखाएर आफ्नो जिम्मेवारी पूरा गर्छ। वास्तविक सत्य अर्कै छ, खतरा नेपाली राजनीतिक दल वा पुलिस वा सेना वा जेन जी नामका विध्वंशकबाट मात्रै छैन। खतरा हाम्रै सोचमा छ। 

दोस्रो विश्वयुद्धताका जापानीहरूले कोरियालीहरूलाई उधूम अत्याचार गरेका थिए। मान्छे मार्नु सामान्य थियो। बलात्कारको कुरै नगरुँ। तर कोरियालीहरू युद्धपछि जागरुक भए। उनीहरूलाई मध्यरातमा ‘आयो जापानी’ भन्दा जो जे काम गर्छन्, त्यो औजार लिएर आफ्नो काममा जान्थे भन्ने कुरा कतै छापिएको थियो। 

नेपालमा त्यो राष्ट्रिय भावना उदाउन पाएन। ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ भन्दै भीमसेन थापाको पालामा गुमेको नेपाली भूमि बिर्सेर गीत गाउन रमाइलो हुन्छ। 

‘हाम्रो राजा हाम्रो देश, एउटै भाषा एउटै भेष’ भन्ने किताब पढेर हुर्किएका हामीजस्ता जेन एक्सहरूलाई पछाडि फर्किएर सोच्ने सुविधा पनि दिएनन् नेपालका अवतारी शासकहरूले ! 

सुशीला कार्की, बालेन्द्र शाह र सुदन गुरुङको अभिप्राय के हो? अनिश्चित छ। त्यसैले खतरनाक छ। 

(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad