भ्रष्टाचारविरुद्ध भएको जेनजी विद्रोहपछि धेरै वटा राजनीतिक दलहरूमा तीव्र क्षयीकरणको सम्भावना बढ्दै गएको छ। भदौ २४ को घटनाले मान्छेहरू पार्टीहरूसँग कति निराश रहेछन् भन्ने स्पष्ट पार्छ।
पार्टी कार्यालय र नेताको घरमा आगो लाग्दा एक जना कार्यकर्ता उठ्न सकेनन्। एक जना नागरिकले पनि त्यसो नगर भनेनन्। बरु ठिक पर्यो भन्दै घरमा जनताले भोज खाए। गाउँगाउँमा नारा जुलुस गरे। नेताहरू सुरक्षाको नाममा सैनिक हेलिकोप्टर चढेर भागे। कति नेताहरू भूमिगत भए। म फलानो पार्टीको मान्छे हुँ भनेर सडकमा उभिन सक्ने स्थिति भएन। सुन्दा अप्रिय लागे पनि यथार्थ यही हो। एक हिसाबले जेनजी विद्रोहको जगमा जनताले नै पार्टीहरूलाई विघटन गरिदिए।
अब प्रश्न उठ्छ, कुनै पार्टीको नेता वा कार्यकर्ताले जनताबाट भागेर ज्यान बचाउनुपर्छ भने त्यो जनताको पार्टी कसरी हुन सक्छ? के त्यो हाम्रो कर्मको फल होइन? हिजो संघर्षको अवस्थामा हामीलाई माया गरेर लुकाएर राख्ने तिनै जनता होइनन्? आफ्नो गाँस काटेर दिने, आफ्नो ओछ्यान छोडिदिने, हिँड्ने बेलामा जबरजस्ती गोजीमा पैसा राखिदिने, झोलामा खाजा लगाइदिने तिनै जनता होइनन्?
यत्तिको बेहाल भइसकेपछि दलहरू फेरि बौरिने कोसिसमा छन्। दलभित्र र बाहिर ध्रुवीकरण भइरहेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच पनि एकता अन्तिम चरणमा पुगेको चर्चा छ। वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने मनसाय सकारात्मक छ। तर, मुख्यगरी दुई कारणले एकीकृत समाजवादीसँगको एकता माओवादी केन्द्रलाई हानिकारक हुनसक्छ।
पहिलो, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सामना गरिरहनु भएको छ। अध्यक्ष नेपालले नराम्रो गर्नु भएको छैन होला। तर, सम्बन्धित निकायबाट प्रमाणित हुनुपर्यो, क्लिनचिट प्राप्त गर्नुपर्यो। त्यसअघि नै एकता गरियो भने माओवादीका इमानदार कार्यकर्ता जनतासामु अनुहार देखाएर हिँड्न सक्ने अवस्थामा रहँदैनौँ। भ्रष्टाचार विरोधी अभियान माओवादीको हो। जेनजी आन्दोलन र बलिदानको मूल मर्म पनि भ्रष्टाचार विरोधी भएको हुनाले अहिले माधव नेपालको पार्टीसँग गर्न लागिएको एकता हाम्रो निम्ति प्रत्युत्पादक हुनेछ।
दोस्रो, एकता भइहाले पनि एकीकृत समाजवादीका थुप्रै इमानदार कार्यकर्ता माओवादी पार्टीमा बस्दैनन्। झलनाथ खनालले भारतबाट प्रेसित वक्तव्यमा पनि त्यसको संकेत गरिसक्नु भएको छ। त्यसैले एकता सिंगो पार्टीसँग हुँदै छैन। यो केवल माधव नेपाल खेमाका केही नेतालाई ल्याउने प्रयत्न मात्र हो। त्यही भएर माधव नेपाललाई मात्र भित्र्याउन माओवादी केन्द्र मरिमेटेर लाग्नु हुँदैन।
अर्कोतिर, एकीकृत समाजवादी विभाजन गरेर एकता प्रयास भइरहेको सोही पार्टीका महासचिव घनश्याम भुसालको भनाइ छ। एकीकृत समाजवादीका नेता पनि सबै नआउने, विप्लवसँग पनि एकताको सुनिश्चितता नभैसकेको र पार्टीहरू विभाजन गरेर खालि एकदुई जना मान्छे जोड्ने जुन प्रक्रिया चलिराखेको छ, यसले कुनै फाइदा गर्दैन। न त पार्टीका आम नेताकार्यकर्तामा उत्साह नै जगाउँछ।
एकता अल्पमत र बहुमतको लागि मात्र गर्न खोजिएको हो भने त्यहाँभित्रको एउटा ठूलो तप्का निराश हुन्छ। समग्र आन्दोलनको हित होइन, व्यक्तिको हितलाई केन्द्रमा राखेर एकीकृत समाजवादी पार्टी फुटाएर गरिने एकता धेरै नै हानिकारक हुन सक्छ।
हामीजस्तो इमानदार कार्यकर्ताले एकपटक सोच्नपर्ने बेला आएको छ। भ्रम नहोस्, केन्द्रीय समितिको बैठकमा कम्युनिस्ट पार्टीबीच एकता गर्ने, ध्रुवीकरण गर्ने, विप्लव नेतृत्वको नेकपा लगायतका अन्य पार्टीहरूसँग एकता गर्ने निर्णय भएको हो। तर पार्टीहरू फुटाएर अभियुक्तहरूसँग एकता गर्ने भनेको होइन। हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा समयको आवश्यकता, जनताको भावना, चाहना अनुसार अब हामी पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्छौं, त्यसको लागि विशेष महाअधिवेशन मंसिर अन्तिम हप्तामा गर्छौं भनेर निर्णय गरिएको हो।
जेनजी आन्दोलनपछि जनतामा केही आशंका सहित आशा जाग्न खोजेको थियो तर ‘बैमानीको पैसो जान्छ, बानी जाँदैन’ भन्ने उखान जस्तै फेरि जालसाजीपूर्ण खेल खेलिन थाल्यो। यदि यसो भएमा विषयुक्त पानी पिलाएर पार्टी बचाउन सकिँदैन। र, फोहोरको भारी बोकेर जनतामा जान बिलकुलै सकिँदैन। हामी यस्तो किसिमको भारी बोकेर जनता सामु निर्वाचनमा जान सक्दैनौँ र पार्टी जीवनमा हामीले सक्रिय भूमिका निर्वाह गर्न सक्दैनौँ।
श्वासप्रश्वासबाट नै एउटा जिउँदो मान्छे सम्भव हुन्छ। जसले मुर्दा शान्तिको कल्पना गर्छ, उनीहरूले मात्र प्रश्नको विरोध गर्छन्। संसार अगाडि बढेको प्रश्नले हो। प्रश्न उठेपछि नै उत्तरको खोजी हुन्छ। प्रश्न उठाउनेलाई कुन शक्तिले परिचालन गरिरहेको छ, साम्राज्यवादले हो कि विस्तारवादले हो भन्ने यो कम्युनिस्ट आन्दोलनभित्रको पुरानो रोग हो। यो रोगको शल्यक्रिया गर्नुपर्छ। निरन्तर प्रश्न र त्यसको समाधानको निम्ति उत्तर खोजिनुपर्छ।
यसो भन्दा पार्टी फुटाउन खोजेको आरोप पनि लाग्न सक्छ। तर, हाम्रो गल्ती र कमजोरीहरूको उत्तर खोजेर पार्टी नेतृत्वलाई झक्झक्याउन र पार्टी जीवन बचाउन खोजेका हौँ। महान जनयुद्ध भनेर आउने पुस्ताले गर्व गरिरहोस् भन्ने सोच मात्रै हो। बरु सोच्नुपर्ने पक्ष हो– विशेष महाधिवेशन गर्ने भनेर निर्णय गरिसकेको अवस्थामा किन एकताका लागि हतार गरिँदैछ? यो केबल व्यक्ति व्यवस्थापनको निम्ति गर्न खोजिएको एकता हो। यो सिंगो कम्युनिस्ट आन्दोलनको निम्ति हानिकारक छ, हाम्रो पार्टीको निम्ति झनै हानिकारक छ।
सार्वभौम अधिकार सम्पन्न महाधिवेशनमा को अध्यक्ष र को महासचिव हुन्छ भन्ने कुरा अहिले ग्यारेन्टी गरेपछि त्यो अधिवेशन नै हुँदैन। त्यसले कुनै नेताको भविष्य सुनिश्चित गर्ला, पार्टीको भविष्य सुनिश्चितता गर्दैन। बरु झन् जनतामा शंका थप्छ। अविश्वास थप्छ। जसको कारणले यो प्रतिस्पर्धाको राजनीतिमा जेनजी विद्रोहको भावना अनुसार हामी रूपान्तरण नहुने बाटोमा अग्रसर भएको महसुस हुन्छ।
माओवादी केन्द्रले विगत एक वर्षदेखि सुशासनको पक्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अभियान चलाइरहेको छ। पार्टीभित्रै नेताहरूको सम्पत्ति छानबिनको कुरा उठिराखेको छ। यस्तोमा अहिले जालसाजीपूर्ण एकता गर्नु हुँदैन। अहिले पार्टीभित्रको समीकरण आफ्नो अनुकूल बनाउनको लागि वा जवाफ खोज्नेहरूलाई तह लगाउन एकता त गरिएला। तर, पार्टीभित्र त्यसले आगो सल्काउने कुरा हेक्का राख्नैपर्ने हुन्छ।
एकताले पार्टी फैलिनुपर्छ। एकताले पार्टी बृहत् बन्दै जानुपर्छ। विगतमा माओवादीले एकता र विभाजन दुवै भोगेको छ। एकताले फाइदा गरेको छैन। विभाजनले त धेरैपटक क्षति पुग्यो। त्यसकारण बरु समय लिएर सबै पक्षलाई स्वीकार्य हुनेगरी एकता गर्दा टिकाउ र बलियो हुन्छ।
(सुदन किराती माओवादी केन्द्रका नेता हुन्)
Shares

प्रतिक्रिया