विचार


विशेष सम्पादकीय : सिंहदरबारमा बालेन आगमनले बढाएको अपेक्षा

विशेष सम्पादकीय : सिंहदरबारमा बालेन आगमनले बढाएको अपेक्षा

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १४:२१, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथसँगै नेपाली राजनीति र राष्ट्रिय जीवनको एउटा युग निस्सन्देह अन्त्य भएको छ। भर्खर तीन वर्ष नाघेको राष्ट्रिय स्वतन्त्र पार्टी अभूतपूर्व लोकप्रिय मत र करिब दुई तिहाइ सिटसहित सत्तारुढ हुँदा पञ्च र राजासँग लामो लडाइँ लडेर यो व्यवस्था ल्याएका दलहरू पहिलोपटक सत्ताबाट बढारिएका छन्। जेलनेल खाएका, सशस्त्र युद्ध लडेका, दशकौँदेखि कुर्सीको खेलमा पोख्त ठहरिएका नेताहरू पाखा लागेका छन्। संघीयता, पहिचानजस्ता राजनीतिक मुद्दाहरू पृष्ठभूमिमा धकेलिँदा सुशासन र डेलिभरीजस्ता मुद्दा अगाडि आएका छन्। संसदमा पेसेवर राजनीतिकर्मीभन्दा पेसाकर्मी, अभियन्ता, कलाकार र नवयुवाहरूको बाहुल्य देखिन्छ।

र्‍यापबाट राजनीतिमा हाम फालेका ३६ वर्षीय युवा प्रधानमन्त्री बनेका छन्। क्याबिनेटमा ९ जना मन्त्री ४० वर्ष मुनिका छन्। एकाधबाहेक सबै पहिलो पटक मन्त्री बनेका हुन्। दशकौँदेखि सत्तावरिपरि वयोवृद्धहरूको चलखेल देख्न अभ्यस्त आँखालाई बालेनको शपथले नौलोपनको अनुभूति गराउनु अस्वाभाविक होइन।

जुनसुकै कोणबाट हेरे पनि बालेन शाहको उदय असाधारण लाग्छ। र्‍यापर, इन्जिनियर, मेयर हुँदै उनले जसरी प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका छन्, त्यो अचम्मलाग्दो छँदैछ, उनको शैली पनि अपूर्व छ। जेनजी आन्दोलनका घोषित नेता उनी थिएनन्, तैपनि जनमतको ठूलो हिस्सा उनको पकडमा रह्यो। सेनासहितका राज्यका अंग र सञ्चारमाध्यमको विश्वास उनले जितिरहे। चुनावको मुखमा धेरैले असम्भव ठानेको राजनीतिक चाल चल्दै रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बने।

चुनावी अभियानमा देशभर दौडिए पनि उनको त्यो यात्रा प्रचार कम, तीर्थयात्रा ज्यादा देखियो। भाषण सीमित ठाउँमा मात्र गरे, त्यो पनि मात्र केही मिनेटको। न कुनै मिडियालाई अन्तर्वार्ता दिए, न टेलिभिजन वा सार्वजनिक मञ्चमा बहसै गरे। फेसबुकमा सीमित संख्यामा स्टाटस लेखे, आफ्नो व्यक्तित्वलाई रहस्यको बाक्लो पर्दाले छोपिराखे। शपथअघि युट्युबमा र्‍याप सार्वजनिक गरे। शपथमा सबै समुदायको सांस्कृतिक प्रतीकहरूलाई समेटेर अपनत्व महसुस गराउने कोसिस गरे।

चमत्कारी व्यक्तित्व, स्वच्छ छवि र रहस्यमयी कार्यशैलीले बालेनलाई यतिखेर नेपाली राजनीतिको सर्वाधिक शक्तिशाली पात्रका रूपमा उभ्याएको छ। जसले उनीप्रतिको आशा र अपेक्षालाई पनि चरमचुलीमा पुर्‍याएको छ। त्यो अपेक्षालाई टिकाइराख्न भने उनका सामु केही भीमकाय चुनौती छन्।

पहिलो चुनौती हो– आफैँले गरेको आर्थिक वाचा। रास्वपा आर्थिक कायापलटको नारा लिएर आएको छ। वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि गरी १० वर्षमा मध्यम आय भएको मुलुक बनाउने लक्ष्य महत्वाकांक्षी छँदैछ, अर्थतन्त्रलाई रेमिट्यान्सको ‘श्राप’बाट मुक्त गर्नु र उच्च बेरोजगारी दर घटाउनु पनि सजिलो छैन। तर, नागरिकले सरकारको मूल्यांकन ठूला डेटाभन्दा साना अनुभूतिबाट गर्ने गर्छन्– दैनिक फोहोर उठ्छ कि उठ्दैन, सामुदायिक स्कुलको शिक्षामा सुधार आउँछ कि आउँदैन, अस्पतालको सेवा, अधमरो बनेको बिमा तंग्रिन्छ कि तंग्रिँदैन! विकास परियोजनाहरू व्यवस्थित र योजनाबद्ध बन्छन् बन्दैनन्!

करिस्माले चुनाव जितिएला, शासन सञ्चालन हुँदैन। बहुमतले सरकार मात्र बलियो बनाउने हो, नतिजा दिँदैन। त्यसका लागि संस्थागत प्रयत्न आवश्यक हुन्छ। र, त्यो प्रयत्न बालेनले गर्न सक्छन् कि सक्दैनन्, उनको लोकप्रियताको कसी त्यही नै हुनेछ।

दोस्रो, सुशासनको प्रत्याभूति। वास्तवमा रास्वपाको पक्षमा जनलहर ल्याउने नारा नै यही हो। किनभने पुराना दल र पुराना नेता बिचौलियाका कब्जामा गए, कर्मचारीतन्त्रदेखि न्यायलयसम्म निकम्मा भए भन्ने आम भाष्यले भयानक निराशा सिर्जना गरेको थियो। रास्वपालाई जित दिलाउने प्रमुख कारक यही हो भन्दा फरक पर्दैन। त्यसैले नागरिकलाई अदालतदेखि मालपोतसम्म बदलावको आभास दिलाउनु बालेनको प्राथमिकता हुनुपर्छ।

सार्वजनिक असन्तुष्टि र निराशालाई चिर्न ठूला भ्रष्टाचार काण्डहरूमा अनुसन्धान जरुरी छ। किनभने भ्रष्टाचार विरोधी अभियान लोकप्रिय त हुन्छ। तर, जोखिम के छ भने त्यस्ता अनुसन्धानको दुरूपयोग सजिलै हुने गर्छ। खासगरी बलियो बहुमत भएको अवस्थामा। र, सरकार पुराना दल र नेताप्रति प्रतिशोधको भावनाले सञ्चालित छ भन्ने देखिएमा राजनीति फेरि डगमगाउन सक्छ। यसलाई सम्बोधन गर्ने उपाय भनेको पारदर्शिता र संस्थागत सुदृढीकरण हो। संस्थाहरू शक्तिशाली प्रधानमन्त्रीको इसारामा नाचेको भद्दा दृश्य फेरि पनि देखियो भने त्यसले परिवर्तनको होइन, पश्चगमनको अनुभूति दिनेछ। र, अझ महत्त्वपूर्ण कुरा नागरिकलाई शासन कुनै अदृश्य समूह वा बिचौलियाले होइन, आफैँले चलाइरहेको प्रत्याभूति हुन जरुरी छ। अन्यथा जतिसुकै बलियो भए पनि सरकारको वैधतामा प्रश्न उठ्छ।

अनि आउँछ भूराजनीति। नेपाली राष्ट्रिय संकथनमा भूराजनीतिको भूमिका बढाइचढाइ गरिन्छ भन्ने आरोप छ। तथापि, नेपाल दुई ठूला शक्तिशाली मुलुकको बीचमा अवस्थित रहेको र यहाँ टाढाको छिमेकी अमेरिकाको पनि बलियो स्वार्थ रहेको तथ्यलाई अस्वीकार गर्न सकिन्न। यी मुलुकले आफ्नो स्वार्थपूर्तिका लागि जुनसुकै हदसम्म पुगेर सक्रियता देखाउन सक्छन्। यसै पनि भूराजनीतिक ‘गुण्डागर्दी’ चलेको यो समयमा अन्तर्राष्ट्रिय वातावरण सैन्य र आर्थिक रूपमा कमजोर मुलुकका हितमा छैन। केपी शर्मा ओलीले भूराजनीतिक सन्तुलन मिलाउन नसक्दा उनी एक शक्तितिर ढल्किएको भाष्य निर्माण भयो। जसको मूल्य उनले चुकाए पनि।

बालेन अन्तर्राष्ट्रिय सम्बन्धमा अनुभवहीन छन्। त्यसैले उनी ओलीझैँ कुनै एक शक्तितिर ढल्किने हुन् कि भन्ने आशंका थुप्रैमा छ। कूटनीतिमा गल्तीबाट सिक्ने छुट हुँदैन। एउटै गल्ती उनका लागि भारी हुन सक्छ। त्यसैले अभिव्यक्तिमा, सन्धि–सम्झौतामा उनले होसियारी अपनाउन र मुलुकलाई आर्थिक कूटनीतिमा केन्द्रित गर्न जरुरी छ। मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि तटस्थता र सन्तुलन अत्यन्त आवश्यक छ।

र, यी सबैभन्दा महत्वपूर्ण पक्ष हो– रास्वपाको आन्तरिक समीकरण र बालेन–रवि सम्बन्ध। बालेन सरकारको मुख्य भरोसा भनेको रास्वपा र रवि नै हुन्। तर, इतिहास हेर्दा यस्ता जुगलबन्दी सधैँ असफल रहँदै आएका छन्। प्रजातन्त्र स्थापनापछि कोइराला दाजुभाइदेखि कम्युनिस्ट एकतापछि ओली–प्रचण्डसम्म आइपुग्दा दुई नेताबीच व्यक्तित्व र अहंकारको टकराव पार्टीका लागि त प्रत्युत्पादक बनेको छ नै मुलुकका लागि पनि नोक्सानदायी रहेको छ।

०७४ मा झण्डै दुई तिहाइ मतसहित नेकपा बन्दा यो पार्टीले ५० वर्ष शासन गर्ने परिकल्पना गरिएको थियो। तर, पार्टीका नेताहरूको उल्टो मति र लालचका अगाडि त्यो केही वर्ष पनि टिकेन। अहिले रास्वपा नेताहरू कम्तीमा १५ वर्ष शासन चलाउँछौँ भन्दैछन्। तर, त्यो सपना पूरा गर्न बालेन र रविले यो १८२ सिटको गह्रौँ भारी बोक्न सक्नुपर्छ। पुराना पार्टीहरूलाई जुन असाध्य रोग लागेको थियो, त्यसका रिस्क फ्याक्टर रास्वपामा पनि पर्याप्त मात्रामा छन्। अघिल्लो संसदमा रास्वपाका केही सांसदहरूको गतिविधि र रवि स्वयंको गृहमन्त्रीकाललाई हेर्दा धेरै आशा गरिहाल्न सकिन्न। तथापि, यसपालि सांसदहरूलाई रविले दिएको संयमयुक्त निर्देशनले सुखद संकेत दिएको छ।

यस मामिलामा बालेनले पुराना दल र नेतालाई हेरेर सिक्ने कुनै ठाउँ छैन। पार्टीको आन्तरिक समीकरण सन्तुलित राख्ने हो भने उनले सर्वथा नयाँ अभ्यास गर्नुपर्नेछ। पार्टीमा गुटबन्दी र असन्तुष्टि छेक्न सकिने कुरा होइनन्, तर तिनको व्यवस्थापन अवश्य गर्न सकिन्छ। बालेनले जति चाँडो त्यो सूत्र मेसो पाउँछन्, सरकार त्यति लामो समय टिक्नेछ। त्यसमाथि, रास्वपा एउटा दल भए पनि यहाँ विभिन्न राजनीतिक दल, स्वार्थसमूहबाट आएका र अनेक झुकाव भएका सांसदहरू छन्। तिनलाई अनुशासनको एउटा सूत्रमा जोड्न बालेन र रविले मेहनत गर्नैपर्ने देखिन्छ।

मुलुकको एउटा हिस्सा बालेनप्रति सधैँ सशंकित देखिन्छ। किनारामा धकेलिएका साना दलहरूले उनलाई ‘पपुलिस्ट’देखि ‘अधिनायकवादी’सम्मको आरोप लगाउन थालिसकेका छन्। कतिपयले मन्त्रिमण्डलका केही अनुहार हेरेर नाक खुम्च्याउन थालेका छन्। तर, यो बालेनमाथि शंका गर्ने र आरोप लगाउने बेला होइन। पहिले उनले परीक्षित हुने मौका पाउनुपर्छ।

बालेन निराशाको भाष्यको घोडा चढेर सत्तामा अवतरित भएका हुन्। तथापि, उनी दशकौँपछि आएका बलियो र स्वच्छ छवि भएका प्रधानमन्त्री हुन्। त्यसैले सिंहदरबारमा बालेन आगमनले देशमा एउटा आशाको दियो बालेको छ। तर, आर्थिक–भूराजनीतिक हुण्डरीको बीचमा उनले त्यो दीपक जोगाउन सक्छन् कि सक्दैनन्? उनको शपथसँगै पुरानो युग अन्त्य भएको यो क्षण नयाँ युगको सुरुवात बन्न सक्छ कि सक्दैन भन्ने त्यसमै निर्भर हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad