विचार


नेपाली कांग्रेस : अब विसर्जन नै विकल्प

नेपाली कांग्रेस : अब विसर्जन नै विकल्प

राजु नेपाल
चैत १६, २०८२ सोमबार १८:५, काठमाडौँ

सुरु गरौँ सनातन धर्मको अमरग्रन्थ श्रीमद्भगवद्गीताको दोस्रो अध्याय, श्लोक २७ बाट :

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि।।

यसको अर्थ हो : जसको जन्म भएको छ, उसको मृत्यु निश्चित छ; र जो मर्छ, उसको पुनर्जन्म पनि निश्चित छ। त्यसैले यस्तो अपरिहार्य कुरामा शोक गर्नु हुँदैन।

श्रीमद्भगवद्गीताको यो केवल आध्यात्मिक शिक्षा होइन— यो व्यक्ति, सत्ता, संस्था र इतिहासको कठोर नियम हो। जन्मिएको सबै कुरा अन्त्यतिर जान्छ। र अन्त्य, यदि स्वीकार गरियो भने त्यो नयाँ सुरुवातको ढोका पनि हो। तर प्रश्न यहाँ उठ्छ— के नेपाली कांग्रेसले आफ्नो अन्त्य स्वीकार गर्ने साहस राख्छ?

नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस कुनै साधारण संगठन होइन। यो एउटा आन्दोलन थियो, एउटा सपना थियो, एउटा युग थियो। राणा शासन ढाल्ने, पञ्चायतसँग लड्ने, लोकतन्त्र ल्याउने— यी सबैमा यसको भूमिका ऐतिहासिक थियो। तर इतिहासको एउटा विडम्बना छ, जसले इतिहास बनाउँछ, ऊ सधैँ इतिहासमै बस्न सक्दैन। साथै इतिहासले एउटा कठोर सत्य पनि देखाउँछ, हरेक संस्था, शक्ति वा विचारधाराको एउटा जीवनचक्र हुन्छ। जब त्यो चक्र पूर्ण हुन्छ, परिवर्तन अनिवार्य हुन्छ।

आजको यथार्थ कठोर छ। नेपाली कांग्रेस अब आन्दोलन होइन— यो अब एउटा थाकेको संरचना हो। नेपाली कांग्रेस ८० वर्षको बुढो मानिसजस्तो भएको छ, जस्ले जीवनभर परिवार र समाजको बोझ उठाएको थियो र आज थाकेर लडेको छ। नेपाली कांग्रेस एउटा यस्तो संरचना भएको छ, जसले आफ्नो उद्देश्य पूरा गरिसकेको छ र ऊ नयाँ उद्देश्य खोज्न पूरै असफल भएको छ।

उद्देश्य सकियो, अब अस्तित्व किन?
कांग्रेस लोकतन्त्र ल्याउन जन्मिएको थियो, कांग्रेस समावेशी समाजको निर्माणको लागि जन्मेको थियो, कांग्रेस विकासको खाका कोर्न जन्मेको थियो, कांग्रेस देशमा बहुलवादी राजनीतिक मान्यता स्थापना गर्न जन्मेको थियो। त्यो काम धेरै हदसम्म पूरा भइसकेको छ। अब प्रश्न छ— त्यसपछि के?

आजको कांग्रेससँग न नयाँ दृष्टि छ, न स्पष्ट मार्गचित्र। छ त केवल सत्ता जोगाउने खेल, गुट मिलाउने गणित र नेतृत्व बचाउने राजनीति। विचार हराइसकेको छ, सिद्धान्त सुकिसकेको छ, र संगठन खोक्रो भइसकेको छ। यो पटकको निर्वाचनमा ठूलै संख्यामा आफ्नै क्रियाशील सदस्यहरूले भोट नहाल्नुको कारण यही हो। साथै यसका सहायक कारणहरू कांग्रेसभित्रको कलह हो, खोक्रोपन हो, आाडम्बर हो। 

जब कुनै संस्था आफ्नो उद्देश्यभन्दा आफ्नो अस्तित्व जोगाउनमा केन्द्रित हुन्छ, त्यो संस्था बाँचिरहेको हुँदैन— त्यो केवल तानिएको हुन्छ, त्यो जिउँदो जस्तो हुन्छ तर जीवन्त हुँदैन। आजको नेपाली कांग्रेस त्यही हो, जिउँदो छ तर जीवन्त छैन। भातृसंस्था मृतप्रायः छन्, मूल नेतृत्व रुवाबासीमा छ, कुण्ठामा छ, क्रोधमा छ, अहंकारमा छ। अहंकार र क्रोधको गन्तव्य नाश हो।

बुढ्यौली : रोग होइन, तर स्वीकार गर्न नसक्नु अपराध हो 
नेपाली कांग्रेस अब बुढो भयो— यो तथ्य हो। तर समस्या बुढो हुनु होइन; समस्या बुढो भएर पनि आफूलाई जवान ठान्नु हो। त्यहाँका नेतृत्वमा बसेकाको उमेर कति छ त्यसको कुनै अर्थ हुँदैन, उनीहरूको दिमागको उमेर कति छ, त्यसले माने राख्छ। आजको नेपाली कांग्रेसको नेतृत्वको वैचारिक उमेर युवाको उमेर र विचारसँग कतै मेल खाँदैन, त्यसैले त चुनावमा युवाले पत्याएनन्। नेतृत्वमा घुमिरहने अनुहारहरू, पुस्तान्तरणको डर, आफूभन्दा माथिका प्रति शंका र घृणा, युवाप्रति अविश्वास— यी सबै बुढ्यौलीका संकेत मात्र होइनन्, यी पतनका पूर्वसूचना हुन्।

बुढ्यौलीको अर्को लक्षण निहुँ खोज्ने हो। हाम्रो काँठमा भनाइ छ नि, ‘पशु बुढो भयो भने भीर खोज्छ, मानिस बुढो भयो भने निहुँ खोज्छ’। अचेल नेपाली कांग्रेसका नेताहरूको निहुँ खोजाइ हेरौँ त। नेपाली कांग्रेसको शरीर बुढो भएकै हो, यसमा द्विविधा नमानौँ। अब बुढो शरीर त आत्माले त्याग्छ नि। यति भन्न केको संकोच? 

अझ खतरनाक कुरा— अहंकार। यस्तो अहंकार, जसले आत्मसमीक्षा गर्न दिँदैन, झुक्न दिँदैन र माफी माग्न सिकाउँदैन। यस्तो अहंकार, जसले गल्ती स्वीकार्न दिँदैन। यस्तो अहंकार, जसले पार्टीलाई पार्टी होइन, निजी सम्पत्ति बनाउँछ, प्राइभेट लिमिटेड कम्पनी बनाउँछ, जसले आफ्ना वरिपरिका बाहेक सबैलाई शत्रु देख्छ। यी सबै आँधी अगाडिका सन्नाटा हुन्। यसैले त आज कांग्रेसभित्र विचारको बहस छैन— व्यक्तिको द्वन्द्व छ। नीति छैन— निहुँ छ। संगठन छैन— गुट छ। अनि कहाँबाट आउँछ आत्मसम्मान, कहाँबाट आउँछ गर्व? 

‘दुई कांग्रेस’ को नाटक
एउटै पार्टीभित्र दुई लाइन, दुई वक्तव्य, दुई नेतृत्व— यो विवाद होइन, विघटनको संकेत हो। अदालतमा मुद्दा विचाराधीन हुँदा पनि कारबाहीको हतारो, सार्वजनिक आरोप–प्रत्यारोप र अनुशासनको नाममा व्यक्तिगत प्रतिशोध— यी सबैले एउटा कुरा स्पष्ट पार्छन्— कांग्रेस अब पार्टी होइन, संघर्षरत समूहहरूको मेल हो। 

कारबाही? कसले कसलाई? गर्नेका अनुहार र गरिनेका अनुहार हेरौँ त। आँट आयो? आफूलाई कांग्रेसको सदस्य भन्न पनि लाज लाग्छ। यो प्रवृत्तिलाई ‘रामराम’ भन्दा गल्ती होला र?

प्रश्न उठ्छ— यस्तो संरचना किन जोगाउने?

नेतृत्वको दिवालियापन 
आजको कांग्रेसमा न दूरदर्शिता छ, न साहस, न त्याग। इतिहासका नाम लिनेहरू धेरै छन्, बीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद। तर, त्यो इतिहास बोक्ने क्षमता कसैसँग छैन। हिजोको जस्तो आजको नेतृत्वले अब मार्गदर्शन गर्दैन— नेतृत्वले अब व्यवस्थापन गर्छ, त्यो पनि आफ्नै र आफ्नै समूहको स्वार्थको। अब यस्तो संस्थाको देशलाई के काम? 

वर्षौंसम्मको सत्ता खेल, गठबन्धन राजनीति र अवसरवादले कांग्रेसलाई विचारशून्य बनाएको छ। अब यहाँ सिद्धान्त होइन, सुविधा बोल्छ। वर्षौंसम्म कम्युनिस्टहरूसँगको उठबस, सत्ता संघर्ष र गठबन्धनले उनीहरूमा भएका सबै नकारात्मक ऊर्जा नेपाली कांग्रेसमा सरेको छ। गालीगलौज, अरुको अस्तित्व स्वीकार नगर्ने, कामभन्दा गफ बढी गर्ने, उत्तरदायित्व नलिने र दोषारोपण गर्ने जति सबै अवगुण नेपाली कांग्रेसको प्राणवायु मै छिरेको छ।

आत्मविनाशको चक्र
इतिहास साक्षी छ— ठूला शक्ति बाह्य आक्रमणले होइन, आन्तरिक विघटनले नष्ट हुन्छन्। कांग्रेसको अवस्था पनि त्यही हो। बाहिरका चुनौतीभन्दा भित्रका द्वन्द्व घातक बनेका छन्। गुटबन्दी, अविश्वास, र व्यक्तिगत स्वार्थ— यी तीन तत्वले पार्टीलाई भित्रैबाट खाइरहेका छन्। यो पतन आकस्मिक होइन— यो क्रमिक आत्मविनाश हो। 

शक्तिशाली यदुवंशीहरू अन्ततः आफ्नै अहंकार, आन्तरिक द्वन्द्व र अविवेकका कारण नष्ट भए। उनीहरूलाई बाह्य शत्रुले होइन, आफ्नै कमजोरीले समाप्त गर्‍यो। नेपाली कांग्रेसको वर्तमान अवस्था पनि यसैसँग मिल्दोजुल्दो देखिन्छ।

वैचारिक मृत्यु
कुनै पनि राजनीतिक दलको सबैभन्दा ठूलो शक्ति विचार हो। तर कांग्रेसमा त्यो विचार अब कागजमा र त्यो पनि इतिहासको पानामा मात्र बाँकी छ। समाजवादको कुरा गर्ने, तर व्यवहारमा पूँजीवादी खेल खेल्ने। सुशासनको कुरा गर्ने, तर भ्रष्टाचार नियन्त्रणमा असफल हुने। लोकतन्त्रको कुरा गर्ने, तर आन्तरिक लोकतन्त्र नै नमान्ने आदिआदि।

यो विरोधाभासले कांग्रेसलाई समाजमा अविश्वसनीय बनाएको छ। जब विचार मर्छ, संगठन बाँचेको जस्तो देखिन्छ— तर त्यो केवल खोल मात्र हुन्छ। भित्र मरेको बाहिर बाँचेको जस्तो देखिने।

अब प्रश्न : सुधार कि विसर्जन?
धेरैले भन्छन्— सुधार गरौँ। पुनर्गठन गरौँ। तर प्रश्न छ— के त्यो सम्भव छ?

के त्यही नेतृत्व, त्यही सोच, त्यही संरचनाले नयाँ परिणाम दिन सक्छ? के पुरानो बोतलमा नयाँ स्वाद सम्भव छ?

यथार्थ के हो भने— रूपान्तरणको अवसर कांग्रेसले धेरै पटक गुमाइसकेको छ। अब सुधारको कुरा केवल आत्मधोखा जस्तो लाग्न थालेको छ। त्यसैले अब स्पष्ट कुरा गर्नुपर्छ— विघटन। विघटनः अन्त्य होइन, पुनर्जन्मको प्रस्ताव हो। विघटन भन्नु विनाशको नारा होइन। यो पुनर्जन्मको आह्वान हो। पुरानो संरचना तोडेर नयाँ बनाउने साहस नै वास्तविक सुधार हो। कहिलेकाहीँ जोगाउनु भन्दा भत्काउनु नै इमानदारी हुन्छ।

नेपाली कांग्रेसको आत्मा— लोकतन्त्र, स्वतन्त्रता, समावेशिता— यी मूल्यहरू मरेका छैनन्। तर ती मूल्य बोक्ने संरचना भने उमेरका कारण र हिजो बोकेका बोझका कारण थाकिसकेको छ। यसैले अब संरचना बदल्नुपर्छ। नाम होइन, सोच बदल्नुपर्छ। अनुहार होइन, चरित्र बदल्नुपर्छ।

साहसको क्षण
आजको नेपाललाई नयाँ राजनीतिक ऊर्जा चाहिएको छ। नयाँ नेतृत्व, नयाँ विचार, र नयाँ दृष्टिकोण चाहिएको छ। नारामा ‘कोखदेखि शोकसम्म’ भन्ने, व्यवहारमा ‘पददेखि पैसासम्म’मा रमाउने बानीले कहाँबाट ऊर्जा आउला र?

देशलाई चाहिने ऊर्जा अहिलेको कांग्रेसबाट आउने सम्भावना अत्यन्तै न्यून छ। त्यसैले अब निर्णय गर्नुपर्छ— इतिहासको बोझ बोक्ने कि भविष्यको बाटो खोल्ने? यदि कांग्रेसले आफैँलाई पुनर्जन्म दिन सक्दैन भने यसको विसर्जन नै लोकतन्त्रप्रति सबैभन्दा इमानदार योगदान हुन सक्छ। त्यसो गर्न सक्यौँ भने कमसेकम भविष्यले त कांग्रेसलाई आजको कालो रूपमा भन्दा हिजोको गौरवमय इतिहासका लागि सम्झेला। 

किनकि जीवनको सबैभन्दा ठूलो साहस— आफ्नो अन्त्य स्वीकार गर्नु हो। जसले बुढ्यौली स्वीकार गर्दैनन्, आफ्नो अन्त्य स्वीकार गर्दैनन्, ती आफू दुःखी भएर बाँच्छन् र अरुलाई दुःखी बनाएर मर्छन्।  यदि राजनीतिलाई सेवा मान्ने हो भने पनि सबैभन्दा ठूलो सेवा— आफ्नो स्थान नयाँ पुस्तालाई दिनु हो। 

नेपाली कांग्रेसको योगदानलाई कसैले मेट्न सक्दैन। तर विगतको योगदानले वर्तमान जोगाउँदैन। त्यसैले आज आवश्यकता बनेको छ— आफ्नो अन्त्य आएको निर्मम सत्य स्वीकार गर्ने। यदि पार्टीले आफूलाई रूपान्तरण गर्न सक्दैन, यदि उसले आफूलाई बदल्न सक्दैन, यदि ऊ अझै झगडा, गुट र अहंकारमै अल्झिरहन्छ— भने यसको विसर्जन अपरिहार्य छ।

त्यसैले त भगवान् श्रीकृष्ण श्रीमद्भगवद्गीतामा भन्नुहुन्छ— अपरिहार्य कुरामा शोक गर्नु हुँदैन।

अब प्रश्न होइन, निर्णयको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad