सायद यसअघि पनि मैले चर्चा गरेको छु एउटा पुस्तकका बारेमा। पुस्तकको नाम हो– प्रिजनर्स अफ जिओग्राफी (भूगोलका कैदीहरू)।
लामो समय विदेश मामिलाको रिपोर्टिङ गरेका पत्रकार टिम मार्सल यो पुस्तकमा लेख्छन्, ‘...भ्लादिमिर पुटिन एक धार्मिक मान्छे हुन्, रसियन अर्थोडक्स चर्चका समर्थक। यदि यसो हो भने प्रत्येक रात ओछ्यानमा जानुअघि सायद पुटिनले भगवानलाई सोध्नेछन्– भगवान, किन युक्रेनमा (हाम्रो सीमातर्फ) केही पहाडहरू बनाइ दिनुभएन?’
छन त युक्रेनमा केही पहाडहरू छन्, तर रुसको सीमातिर होइन। युक्रेनको पश्चिम र दक्षिणतर्फ मात्र केही अग्ला पहाडहरू छन्। उत्तर र उत्तरपूर्वी भागमा पर्छ रुस, जहाँ समथर भूमि छ।
पहाड हुनु वा नहुनुका पनि आफ्नै सामरिक, आर्थिक, राजनीतिक, सामाजिक/सांस्कृतिक जटिलता वा अनुकूलताहरू हुन्छन्।
युक्रेनको सीमातर्फ पहाड नभएकै कारण सायद आज रुसले सोचेभन्दा बढी जटिलता सामना गरिरहेको छ। युक्रेनका हकमा पनि सायद यही कुरा लागू हुन्छ।
कहिलेकाहीँ सोच्छु– दक्षिण र उत्तरको राजनीति आजको जस्तै, संस्कृति आजको जस्तै, मानसिकता/सोच आजको जस्तै, भूगोल मात्र फरक भएको भए नेपाललाई के कति फरक पर्ने थियो होला?
मानौँ कि,
–उत्तरतर्फ जस्तै नेपालको दक्षिणतर्फ पनि अग्ला हिमाल भइदिएको भए?
–वा दुवै तिर अग्ला–अग्ला हिमाल वा समथर जमिन मात्रै भइदिएको भए?
जे जस्तो भूगोलमा आजको नेपाल छ, ‘बाइ डिफल्ट’ यसका केही कूटनीतिक, केही राजनीतिक र केही आर्थिक अनुकूलता वा जटिलताहरू छन्।
सायद यस्तै अनुकूलता र जटिलतामा परेका नेपालजस्ता देशहरूलाई पत्रकार मार्सलले ‘भूगोलका कैदी’ भनेका होलान्।
अलि चलाख, परिपक्व र अनुभवी राजनीतिक नेतृत्वले भूगोलको कैदलाई धेरै हदसम्म भूगोलमै सीमित गरिदिन्छ, त्यसको असर अन्यत्र पर्न दिँदैन। तर नेपालमा कि त राजनीतिक स्वार्थका कारण, कि त अपरिपक्वताका कारण, कि त कमजोर चेतका कारण, भूगोलका अन्य असर पनि छरपष्ट छन्।
छरपष्ट हुने क्रम बढ्दो छ। र, सँगसँगै जटिलताहरू पनि हुर्कँदै र बढ्दै छन्।
यस्तो अवस्थामा नेपालको कूटनीतिक सोच, व्यवहार, शैली र भाषा झनझन् परिपक्व, सुसंगठित वा ‘सोलिड’ हुनुपर्ने हो। तर ठिक विपरीत नेपालको कूटनीति काँचो–कचिलो बन्दै गएको छ।
हुनुपर्ने थियो– अण्डा जस्तो, जति उमाल्यो, उति कडा। तर बन्दै गएको छ– आलु जस्तो, जति उमाल्यो उति गिलो, उति फ्यात्त।
हुँदा–हुँदा राजदूत अब निवेदन लिएर प्रतिस्पर्धामा छान्ने रे। छानिन लायक नै कति छन् र? कसका बीच प्रतिस्पर्धा गराउने?
प्रतिस्पर्धा गराउनुअघि, प्रतिस्पर्धा गर्न लायक मान्छे त उत्पादन गर्नु पर्छ। आजसम्मको सिस्टमले यसो गरेकै छैन।
यस्तै–यस्तै कारणले हो मलाई लाग्ने– नेपालमा भूराजनीतिक भार थेग्न सक्ने कूटनीतिक चेत र संयन्त्र नै तयार छैन।
तयार भएको भए सरकारले ‘बफर स्टेट टु भाइब्रेन्ट ब्रिज’ को प्रस्ताव गर्ने नै थिएन। प्रथम दृष्टिमा नै यी दुवै शब्द कमजोर कूटनीतिक चेत र कमजोर आत्मविश्वासका उपज हुन्। एउटा सम्प्रभु राष्ट्र आफैँले आफूलाई किन ‘बफर स्टेट’ भनेको होला? के सरकारले नै नेपाल ‘मेनल्यान्ड’ थिएन र आजसम्म पनि होइन भनेको हो?
उबेलाका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालका हकमा प्रयोग गरेको शब्द अहिलेको नेपाल सरकारले आफैँले किन प्रयोग गरेको होला? सोच्नु र सोध्नुपर्ने धेरै प्रश्नहरू छन्।
खासमा बफर के हो? पहिले सजिलो भाषामा यो बुझौँ।
तपाईं, जो यो पढिरहनु भएको छ, कोही चितवन राष्ट्रिय निकुञ्ज जानु भएको छ भने थाहा होला– त्यहाँ एउटा वनको नाम छ कुमरोज सामुदायिक वन। निकुञ्जको घना जंगल सुरु हुनुअघि र नजिकका बस्तीका बीचमा छ यो वन। निकुञ्जका जंगली जनावरहरू सोझै बस्तीमा छिरेर हानि–नोक्सानी नगरून्, त्यतै बीचमा कतै अलमलिऊन्, बस्तीमा छिर्नुअघि तिनको निगरानी गर्न सकियोस् भनेर विकास गरिएको वन हो कुमरोज सामुदायिक वन। जसलाई मध्यवर्ती (बफर) वन पनि भनिन्छ, जहाँ जनावरहरूको निगरानीका लागि बीच–बीचमा ‘मचानहरू’ पनि बनाइएका छन्।
के नेपाल त्यस्तै हो, कुमरोज वन जस्तो? कि नेपाल स्वयं बस्ती हो?
सरकारले नै आफूलाई ‘बफर जोन’ ठानेपछि मान्नुपर्ने हुन्छ– त्यहाँ ‘मचानहरू’ पनि थिए र छन्। मलाई थाहा छैन, नेपालमा कस–कसका ‘मचान’ छन्? सायद सरकारले जान्दो हो।
मचान जस–जसका होऊन्, ‘बफर’ शब्द कुनै पनि राज्य वा सरकारले स्वयं आफैँलाई प्रयोग गर्ने शब्दै होइन। ल ठिक छ, सरकारले यत्तिमै शंकाको सुविधा दिऊँ।
शंकाको सुविधा यस कारण कि सरकारको भाषा हेर्दा यस्तो लाग्छ– अब ऊ मचान होइन, ‘भाइब्रेन्ट ब्रिज’ बनाउन चाहन्छ। सुन्दा त कुरा ठिकै भने जस्तो लाग्छ पनि।
पुल झोलुङ्गो होस् कि पक्की, ‘भाइब्रेन्ट’ होस् कि ‘डल’, कुरा के बुझिन्छ भने नेपाल सरकारले देशलाई नदीजस्तै ठान्दछ।
एउटा गल्ती सरकारले आफूलाई बस्ती नमानेर गर्यो, अर्को गल्ती आफू नदी हुनुको मूल्य र अस्तित्व नबुझेर गर्दैछ।
नदीका आफ्ना चरित्रहरू हुन्छन्, गुण वा विशेषताहरू हुन्छन्। नदीको आफ्नै जीवन हुन्छ। नदी स्वयंले पुलको चाहना राख्दैन। पुल चाहिने त बस्तीहरूलाई हो। म चाहन्थेँ– बस्तीहरू आऊन्, नदीसँग हारगुहार गरून् र भनून्– ‘तिमीले जे भन्छौ, त्यही हामी मान्छौँ, तिमी हामीलाई तर्ने बाटो देऊ।’
र, नदीले भन्न पाओस्– ‘यो–यो सर्तमा म तिमीलाई तर्ने बाटो दिन्छु।’
त्यतिञ्जेल नदी ढुक्कले बग्ने हो– गडगडाएर। यहाँ त ठिक उल्टो प्रस्ताव गरिँदैछ। यस्तै–यस्तै कुराबाट न हो, दुनियाँले नेपालका नाडी छाम्ने।
नम्बरका हिसाबले भारी, अरु हिसाबले काँचो सरकार छ अहिले नेपालमा। यो काँचो सरकार कसरी पाक्छ र पाक्दा कस्तो हुन्छ, कसैलाई थाहा छैन। यही मौका, सरकारले कि त सकेजति आफूतिर तान्न, नसके ‘इन्गेज’ सम्म गर्न अहिले बाहिरतिर दौड छ। अन्तर्राष्ट्रिय मिडियाले आफू अनुकूलका समाचार र विश्लेषण पस्किरहेका छन्। भारतीय मिडियाका कुरा त सुनिसक्नुका छैनन्।
भारतीय मिडियावालामा ठूलै छटपटाहट छ। भारतीय मिडियावालाहरूको हस्याङफस्याङ र छटपटाहटले धेरै कुराहरू भनिरहेका छन्। मेरो दृष्टिमा ती अलि डरलाग्दाजस्ता पनि छन्।
उनीहरूलाई लागेको होला– यो एउटा मौका हो, गिलो माटोजस्तो सरकारलाई आफू अनुकूलको आकार दिने। मलाई थाहा छैन, सरकारका मान्छेले भारतीय मिडिया र त्यहाँका विश्लेषकहरूको कुरा कत्तिको ध्यानपूर्वक सुनिरहेका छन्?
सरकारका मान्छेलाई लागेको हुन सक्छ– भारतीय मिडिया नै त्यस्तै हुन्। त्यस्तै हुन् पनि। तर तिनीहरूले जुन भाषामा बहस चलाइरहेका छन्, ती धेरै आपत्तिजनक छन्। तिनीहरूको जवाफ सरकारले त होइन, दिनुपर्ने नेपाली मिडिया वा विश्लेषकहरूले नै हो।
यसो भएको खासै मैले देखेको छैन।
एकजना निस्के– भूषण दाहाल, जसले ‘दि ब्राभो डेल्टा सो’ को सिजन ३ को १७ औँ एपिसोडमा भारतीय मिडियालाई तिनीहरूले बुझ्ने भाषामा मनखुस हुने गरी जवाफ फर्काएका छन्।
कुरा भारतीय मिडिया र त्यहाँका विश्लेषकका मात्र होइन।
टाढाबाट हेर्दा मलाई लाग्छ– बालेन नेतृत्वको सरकारले लिने कूटनीतिक बाटोलाई लिएर दिल्ली, बेइजिङ र वासिङ्टन आजका दिनसम्म अन्योलमा छन्। अन्योलसँगसँगै कसले, कसरी, कति पहिले ‘इन्गेज’ गराउने भन्ने होड पनि छ।
कूटनीतिमा कुनै देशले कुनै देशलाई ‘इन्गेज’सम्म गराउन खोज्नु सामान्य हो। तर कुरा यतिमै मात्र सीमित छ जस्तो देखिँदैन।
मलाई के लाग्छ भने भारत नेपाललाई ‘इन्गेज’ मात्र गराउन चाहँदैन, ऊ त्यहाँभन्दा बढी खोज्छ नेपालबाट। आफ्नो नियन्त्रण वा निगरानीमा धेरै कुरा होस् भन्ने भारत चाहन्छ।
अमेरिका आफ्नो स्वार्थ वा चासोसँग बाझिने कुरा नहोस् भन्ने चाहन्छ। अरु कुरामा भारतको जस्तो दैनिक चासो अमेरिकालाई छैन। तर जुन दिन अमेरिकाले आफ्नो स्वार्थमा खतरा देख्छ, उसलाई कसैले रोक्न सक्दैन आजका दिनसम्म।
चीनको पनि कुरा उही हो, ऊ आफ्नो स्वार्थ वा चासोसँग बाझिने कुरा नेपालमा नहोस् भन्ने चाहन्छ। सँगसँगै यो पनि हो कि भारत र अमेरिका अलि सक्रिय भएको देखे चीनका पनि आँखा, कान, दिमाग अलि ठाडा हुन्छन्। राम्रो कुरा के हो भने चीन आफ्ना कारण नेपालका अरु मित्रहरू नभड्किऊन् भन्नेमा भने सचेत जस्तो देखिन्छ।
यहाँनेर म बीपी कोइरालाले आत्मवृत्तान्तमा लेखेका केही पंक्तिहरू उद्धृत गर्न चाहन्छु :
‘...चाउ एनलाइसँग मेरो अन्तिम बैठक पिकिङमा भयो। मैले चाउ एनलाइलाई के भनेँ भने मलाई तपाईंहरूको आर्थिक सहायता चाहिन्छ, मैले देश बनाउन खोजिरहेको छु। तपाईंहरूको आर्थिक त्यसो हुनाले, हामीलाई बढी चाहिन्छ। भारतले १८ करोडको सहायता गरेको थियो, मैले सायद त्यही उल्लेख गरेको थिएँ। उसले भन्यो– त्यसभन्दा अलिकति कम्ती गरौँला। मैले भनेँ– भारतकै बराबरीमा किन सहायता गर्दैनौ? उसले भन्यो– होइन, त्यो तिम्रो लागि राम्रो नहोला। तिमीलाई राम्रो किन हुँदैन भने हामीले धेरै सहायता दियौँ भने भारत तिमीहरूसँग सतर्क हुन्छ। र हामीलाई किन उपयुक्त हुँदैन भने हामी भारतसँग प्रतिस्पर्धा गर्दैछौँ भन्ने अन्तर्राष्ट्रिय स्तरमा पर्न जान्छ। हामी तिमीहरूसँग मित्रता खोजिरहेका छौँ।’ (पृष्ठ २५१)
अहिले न चीनमा प्रधानमन्त्री चाउ एनलाइ छन्, न नेपालमा प्रधानमन्त्री बीपी कोइराला। समय केही त फरक परेकै छ। मित्रहरू जतिसुकै असल वा असलजस्ता मात्र भए पनि, केही न केही सचेत हुनु पर्ने अवस्था छ।
अंग्रेजीमा दुई असाध्यै महत्वपूर्ण शब्द छन्– ‘मोरोन’ र ‘म्यानियाक’। तपाईं गाडी चालक हुनुहुन्छ भने म तपाईंलाई गाडीकै भाषामा ती दुई शब्दको अर्थ बुझाउन चाहन्छु।
मान्नुस् तपाईं ‘हाइवे’ मा गाडी चलाइरहनु भएको छ, तपाईंका अगाडि र पछाडि अरूले पनि गाडी हाँकिरहेका छन्। तपाईं सधैँ होसियार केमा हुनुपर्छ भने पछाडि गाडी चलाउने मान्छे मूर्ख छ र अगाडि गाडी चलाइरहेको मान्छे आक्रामक छ, जो खतरापूर्वक गाडी चलाइरहेको छ, जुनसुकै बेला पनि दुर्घटना गराउन सक्छ।
नेपालमा कूटनीतिक गाडी हाँक्नेहरूले दिमागमा राख्नु पर्ने दिनहरू आइरहेका छन्– पछाडि कोही मूर्खले र अगाडि कोही आक्रामकले गाडी चलाइरहेको छ। महत्वपूर्ण सवाल आफू कसरी दुर्घटनाबाट बच्ने भन्ने हो।
यसरी पनि भनौँ है त, भूराजनीति र कूटनीतिक दृष्टिले नेपाल कतै भिरमा धकेलिँदो छ। यस्तो बेलामा नेपाल बन्न सक्नुपर्छ लालीगुराँस जस्तो। तरुल जस्तो पनि होइन, पुल पनि होइन।
क्षेत्रप्रताप अधिकारीले लेखेको गीत छ नि– ‘म त लालीगुराँस भएछु।’ हो, त्यस्तै।
भिरमा पनि फुल्ने, पीरमा पनि फुल्ने, फुलिरहने– लालीगुराँस जस्तै। आज नेपाललाई चाहिएको छ– लालीगुराँस कूटनीति, अंग्रेजीमा ‘रोडोडेन्ड्रोन डिप्लोमेसी’।
नेपाल सरकारले चाहे यसको अलि विस्तृत व्याख्या कुनै बेला गरौँला।
Shares

प्रतिक्रिया