विचार


लकडाउन र निषेधाज्ञा नगरे पनि यसरी रोक्न सकिन्छ कोरोना संक्रमण

लकडाउन र निषेधाज्ञा नगरे पनि यसरी रोक्न सकिन्छ कोरोना संक्रमण

डा. अर्चना श्रेष्ठ
भदौ ५, २०७७ शुक्रबार १४:७,

अहिलेसम्म कोरोना मानिसबाट मानिसलाई नै सरिरहेको देखिन्छ। त्यसैले कोरोना संक्रमणको मुख्य माध्यम मानिस नै हो।

चीनको वुहानबाट गतवर्ष कोरोना संक्रमण सुरु हुँदा जनावरबाट मानिसमा सरेको भनिएको थियो। तर, अहिलेसम्म यो रोग फैलिएका बिभिन्न मुलुकमा मानिसबाट मानिसमै सरेको देखिएको छ।

मुख्यतः दुईवटा अवस्थामा मानिसबाट मानिसमा सरेको पाइन्छ। हाच्छिउँ गर्दा वा खोक्दा हाम्रो मुखबाट सानोसानो कणहरु निस्कन्छ। त्यो कणमा भाइरस हुन्छ। त्यो अलि गह्रौं हुने भएकोले हावाबाट १ देखि २ मिटरसम्म पुगेपछि खस्छ। त्यसमा संक्रमित व्यक्तिको हात पर्‍यो भने त्यहीँ बस्ने भयो।

कुनै संक्रमित छेउमा आएर हाच्छिउँ गर्दा, खोक्दा वा बोल्दा कणहरुले हाम्रो शरिरमा प्रवेश पायो भने कोरोना लाग्ने संभावना बढी हुने भयो।

भाइरस भएको ठाउँमा छोएपछि त्यो औलाले नाक, मुख वा आँखामा छोइयो भने त्यहाँबाट कोरोनाको भाइरस शरीरभित्र छिर्छ। यी दुई माध्यमबाट कोरोना सरेको पाइएको छ।

त्यसैले मानिसहरुबीचको सम्पर्क कम गर्न आवागमनमै रोक लगाउने गरिएको छ। लकडाउनले पनि मानिस–मानिसबीच भेटघाट रोक्छ।

कोही मानिस संक्रमित छ भने लकडाउनका बेला घरभित्र मात्रै सीमित हुनेभयो। मान्छे–मान्छेबीच हुने सबै प्रकारका गतिविधि रोकेर भाइरसलाई एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलिन नदिने अभिप्राय हो।

अब लकडाउन वा निषेधाज्ञा नगरी संक्रमण रोक्नको लागि विश्वभर बिभिन्न उपाय अपनाइएको छ। जस्तै, संक्रमितहरुलाई पहिचान गर्ने, उनीहरुलाई क्वारेन्टिनमा राख्ने र उनीहरुको सम्पर्कमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ गरी पत्तालगाउने हो।

लकडाउन गर्नुको मुख्य उद्देश्य नै मानिसहरु बीचको सम्पर्कबाट भाइरस फैलिन नदिने उपाय हो भने संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिहरुलाई अन्य थपसँग संक्रमित हुन नदिने उपाय कन्ट्याक्ट ट्रेसिङ नै हो। यो राम्रोसँग गर्न सकेको खण्डमा कोरोना नियन्त्रण एकदमै प्रभावकारी हुन्छ। कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमित पत्ता लगाएर अरुमा फैलिन नदिने हो भने लकडाउन वा निषेधाज्ञा पनि आवश्यक पर्दैन।

लकडाउन निरन्तर गरिरहँदा देशको अर्थतन्त्रमा नराम्रो असर गर्न थालिसकेको छ। दैनिक काम गरेर जीविका चलाउने मानिस खान नपाउने अवस्थामा पुगिसके। व्यापार व्यवसाय महिनौंदेखि ठप्प छ। त्यसकारण अब लकडाउन नगर्नेतिर जानुपर्छ।

त्यसका लागि दुईवटा काम गरे पुग्छ।

पहिलो, भीडभाड नगर्ने, भौतिक दूरी राख्ने, कसैले कसैलाई प्रत्यक्ष नछुने, मास्क लगाउने र हात धुने गरेको खण्डमा संक्रमण निकै कम हुन्छ।

अर्काे, कतिजनालाई त लागिसकेको छ। जतिसुकै लकडाउन गरेपनि संक्रमित भएका त भइनै हाले। हामीकहाँ अहिले सबैतिर संक्रमण फैलिइसकेको छ। आफ्नो घरपरिवारभित्र त संक्रमितबाट लकडाउन गरेपनि फैलिन रोकिदैन।

यस्तो अबस्थामा व्यक्ति संक्रमित भएको ४८ घण्टाभित्र निजको सम्पर्कमा आएका व्यक्तिहरुलाई क्वारेन्टिनमा राख्न सक्यौं, समुदायमा घुलमिल हुन दिएनौं भने ७० प्रतिशत संक्रमण फैलनबाट रोक्न सक्छौं। यसका लागि लकडाउन गर्नै पर्दैन।

संक्रमितको सम्पर्कमा आएकामध्येका शतप्रतिशत होइन ८० प्रतिशतलाई मात्र समुदायमा घुलमिल गर्नबाट रोक्न सक्यौं भने यो महामारीलाई नियन्त्रण गर्न सक्छौं।

यो संक्रमण एकबाट दुई, दुईबाट चार, चारबाट आठ हुँदै फैलने हो। एक जनाले अर्काे एक जनालाई मात्र सारेको खण्डमा त्यसबाट त्यति ठूलो चुनौति हुँदैन। तर, संक्रमित व्यक्ति घुम्न थालेपछि धेरैलाई जोखिम हुन्छ।

विश्वभर नै अब केहि नयाँ अभ्यास सुरु गरिएकाे छ। अब हामीले पनि केहि दैनिक आनिबानिमा सामान्य परिवर्तन गर्नुपर्ने भएको छ। सबैजना मास्क लगाएर हिड्ने, हात धुने, भीडमा नजाने गर्नुपर्‍यो। केहि समय जात्रा पनि मनाउनु भएन।

हामीले केहि दिनअघि कन्ट्याक्ट ट्रेसिङ गरेका थियौं। तीजको दरको पार्टी गरेका ठाउँमा संक्रमित रहेछन्। अनि त्यहाँ कोरोना सरेछ। पार्टी नगरेको भए एकजनालाई मात्र लाग्थ्यो।
त्यस्ता भीडभाडले कोरोना फैलिन सजिलो बनाउँछ।

अनावश्यक मानिससँग नभेट्ने, भेट्दा पनि भौतिक दूरी राखेर कुरा गर्ने, सकभर अरुको सामान प्रयोग नगर्ने, हिड्दाखेरी भर्‍याङको रेलिङ पनि छुनुभएन। यस्ता कुरा समुदायमै जनचेतना फैलाउन जरुरी छ।

यी कुराहरुलाई कडाईका साथ स्वःस्फुर्त कार्यान्वयन गराउन सके लकडाउन वा निषेधाज्ञा चाहिदैँन।

यतिबेला सरकार, स्थानीय तह र प्रदेशहरुले कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिनुपर्ने हो। त्यो गर्न सक्ने हो भने तत्काल कुनै पनि निषेधाज्ञा लगाउनै पर्दैन।

एउटा संक्रमितबारे थाहा पाउनेबित्तिकै उसँगको सम्पर्कमा आएका सबैलाई तुरुन्तै क्वारेन्टिनमा राख्न सक्यौं भने संक्रमण त मज्जाले नियन्त्रण गर्न सकिन्छ। तर, चुस्तरुपमा यो काम गर्नुपर्‍यो।

म आँफैले पनि कन्ट्याक्ट ट्रेसिङमै केन्द्रित भएर काम गरिरहेको छु। कन्ट्याक्ट ट्रेसिङकै आधारमा सार्स, इबोलाको पनि उपचार गरिएको हो। त्यो रोगमा चाहिँ मानिस थला परे र बाहिर निस्कन गाह्रो भएपछि संक्रमित ठ्याक्कै चिनिए।

तर, कति कोरोना संक्रमितमा त लक्षण नै देखिएन। अनि त्यो मानिस सबैतिर हिडिराख्ने भयो। त्यसले संक्रमण फैलाउने भयो। त्यही भएर चुस्त रुपमा कन्ट्याक्ट ट्रेसिङ गर्ने हो भने यो रोग त झन छिटो नियन्त्रणमा आउँछ। किनभने यसका संक्रमितमध्ये ८० प्रतिशत सामान्य खालका हुन्छन्। १५ प्रतिशतलाई केही उपचार चाहिने हो भने ५ प्रतिशतलाई मात्र आइसीयू वा भेन्टिलेटर चाहिन्छ।

८० प्रतिशतलाई साधारण रुघाखोकी लागेको जस्तो हुन्छ र निको हुन्छ। केही गर्नै पर्दैन। १५ प्रतिशतलाई सामान्य लक्षण हुन्छ। उनीहरुले अरुलाई सार्न सक्छन्। तर अरु धेरै जटिलता आउँदैन। धेरै मानिसलाई स्वास्थ्य सेवा नै चाहिदैँन। यसको सबैभन्दा ठूलो जोखिम चाहिँ संक्रमित व्यक्ति सामान्य देखिन्छ। पहिचान हुँदैन। त्यस्ता व्यक्ति हिंडडुल गर्छन् र अरुलाई सार्छन्।

यो नै ठूलो चुनौति हो। त्यसका लागि कन्ट्याक्ट ट्रेसिङ नै मुख्य उपाय हो।

भौतिक दूरी कायम राख्ने भनेको यसलाई नेपालीको संस्कारसँग जोडेर हेर्नुपर्छ। हामीले क्वारेन्टिन मात्र भनेका छौं। यो शब्दको तात्पर्य नै हामीले राम्रोसँग बुझाउन सकेका छैनौं। याे अवधारणा सर्वसाधारणलाई हाम्रो संस्कृतिसँग जोडेर बुझाउनुपर्छ।

क्वारेन्टिन बस्दा, भौतिक दुरी राख्दा के हुन्छ त ? यो ठ्याक्कै मानिसको मृत्यु हुँदा १३ दिने काजकिरियामा जसरी अनुशासित भएर बसिन्छ त्यसैगरी कडाईका साथ स्वअनुशासनमा बसे जस्तै हो।

त्यस्तो अवस्थामा कसैलाई छुदैनौं। कसैले दिएको खाँदैनौं र कसैको कपडा लगाउँदैनौं। कतै बाहिर निस्कदैनौं।

क्वारेन्टिनमा पनि गर्नुपर्ने त्यसै गरी हो।

अर्काे, रजस्वला हुँदा बार्ने चलन छ नी। राम्रो त होइन तर यो अहिलेसम्म हट्न सकेको पनि छैन। त्यो पनि भौतिक दूरी कायम राख्ने उपाय हो। अहिले गर्नपर्ने ठ्याक्कै त्यही नै हो।

रजस्वला हुँदा चाहिँ बाहिर निस्के पनि अरुलाई नछुने गरिन्छ। मानिसको मृत्यु हुँदा १३ दिनसम्म घरमै बसेर बार्ने क्वारेन्टिन बसाई हो। रजस्वला हुँदा बार्ने चाहिँ भौतिक दूरी कायम गरेको हो। बाहिर निस्कन हुन्छ, तर मानिससँग टाढाबाट कुरा गर्नुपर्छ। केही सामान किन्न जाँदा पनि टाढाबाट माग्ने, दिँदा खेरी पनि नछुने गरिन्छ। भौतिक दूरी कायम गर्ने भनेको त्यहि हो।

सरकारले कोरोना आइसकेपछि कसरी यसलाई नियन्त्रण गर्छौं भन्ने बारेमा सुरुमा कुनै प्रष्ट योजनासहित तयारी नगर्दा अहिलेको यो अबस्था आएको हो।

६ महिनादेखि हामीले यसका लागि के के तयारी गर्नुपर्थ्याे? त्यो गरेका थिएनौं। हो नयाँ रोग भएकोले सबै कुरा थाहा हुँदैन, अन्योलता हुन्छ। तर, अरु राष्ट्रले के गरेका थिए? हामीले के गर्ने भनेर हाम्रा निकायहरुले त्यतिबेलै केही अध्ययन र विश्लेषण गर्नुपर्थ्याे।

भ्याक्सिन आएको छैन। यस्तो बेलामा जोगिने र संक्रमण फैलन नदिने उपाय अपनाउने हो।

कोरोना पोजिटिभ भएको मानिस आफैंलाई पनि थाहा हुँदैन। त्यही भएर परीक्षण बढाउँदै संक्रमितले सम्पर्क गरेका व्यक्ति पहिचान गर्नुपर्छ। किनभने यो भाइरस मानिसबाट मानिसमा मात्रै सर्ने भएकोले उसका वरिपरिका वा सम्पर्कमा पुगेकालाई मात्र सर्न सक्छ। धेरै टाढा खोज्न जान पर्दैन।

त्यसैले कोही व्यक्तिलाई लागेको छ भने उसको वरिपरी खोजेर ती व्यक्तिलाई क्वारेन्टिनमा राखिहाल्यौं भने जोखिम कम हुन्छ। तर, त्यो गर्ने गरी हाम्रो स्वास्थ्य टीमलाई तयार पारिएको छैन। लकडाउन खोल्ने र मानिसहरुलाई निगरानी (स्क्रिनिङ) गर्न सक्ने हो भने यसबाट प्रभावकारी काम गर्न सकिन्छ।

१२० दिन लकडाउन भयो। त्यो चाहिँ जरुरी थियो। हामीले साउन ७ गते लकडाउन खोल्यौं। तर त्यतिबेला गर्नैपर्ने मुख्य काम नै गरेनौं। त्यही भएर हामी ठूलो महामारीको खतरामा पुग्यौं। अनि फेरि निषेधाज्ञा लगाउन पर्‍यो।

अब यो समयलाई प्रभावकारी बनाएर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट कन्ट्याक्ट ट्रेसिङ गराउनुपर्छ। यही अवधिमा सबै तहमा दक्ष जनशक्ति पुर्‍याउनुपर्‍यो। त्यसले यतिबेलै काम सुरु गरिहाल्नुपर्छ।

यहाँ कानुनी समस्या देखाउने र काममा अलमल गर्ने चलन छ। त्यस्ता कुनै समस्या आउन दिनु हुँदैन। अर्काे भनेको यही अवधिमा स्रोत र साधन पनि पर्याप्तरुपमा व्यवस्था गरिहाल्नुपर्‍यो।

अनि सबै संरचनाले चुस्तरुपमा काम गर्न सक्ने भयो भनेपछि निषेधाज्ञा खोलेर सामान्य जीवनमा जान सकिन्छ।

अहिलेसम्म समुदायमा तीव्ररुपमा फैलिएको छैन। थोरै हुँदा त व्यवस्थापन गर्न सकिन्छ। तर, जब समुदायमा धेरै संक्रमित बढ्न थाल्छ अनि गम्भीर विरामीलाई मात्र अस्पताल लगेर सामान्य खालका विरामीलाई घरमै आँफैले निको पार्नुपर्ने अवस्था आउँछ।

अहिलेसम्म नेपालमा ज्यान जाने संक्रमितमध्ये धेरैजसो गम्भीर प्रकृतिका रोगी (सुगर, क्यान्सर लगायत) र अन्य रोगको संक्रमण भएका हुन्।

हामीकहाँ ६० वर्ष नाघेको जनसंख्यामा यो संक्रमण फैलिसकेको छैन। त्यही भएर मृत्युदर थोरै छ। वीरगञ्ज, विराटनरगमा अस्पतालमा विरामी राख्ने ठाउँ नै छैन।

अब यो संख्या बढ्न थाल्यो भने झन् व्यवस्थापन गर्न कठिन हुन्छ।

कोरोना संक्रमितहरुको उपचारका लागि छुट्टै कोभिड अस्पताल नै निर्माण गरिहाल्नुपर्छ। सुरुमै निर्माण गर्नुपर्ने हो। 

कोरोना संक्रमित भएर आउने बिरामी अर्काे बिरामीसँग सम्पर्क हुँदा परिस्थिति झन् डरलाग्दो हुन्छ।

अरु रोगका बिरामी यसैपनि रोग प्रतिरोधात्मक क्षमता कम भएका हुन्छन्। बिरामी भएपछि अरु रोगसँग लड्ने क्षमता घटेको हुन्छ। निको नहुन्जेलसम्म त्यही कारण कोरोना संक्रमितसँग घुलमिल हुनबाट जोगाउनुपर्छ।

यसका लागि दुईवटा काम गर्नुपर्छ। एउटा कोभिडको छुट्टै अस्पताल बनाउनुपर्‍यो। आइसोलेसन पनि कोभिड–डेडिकेटेड बनाउनुपर्‍यो।

सामान्य अस्पतालहरुमा पनि बिरामीको उपचारअघि स्क्रिनिङ गरेर मात्रै उपचारमा पठाउनुपर्छ। किनभने अहिले अस्पतालमै विरामी देखिएका छन्। अप्रेसन गर्न आएका बिरामी कोरोना संक्रमित पर्छ अनि अप्रेसनमा काम गर्ने ३ जनालाई सर्छ। त्यही भएर कुनैपनि व्यक्ति जेसुकै कारणले, जुनसुकै लक्षण लिएर अस्पताल आएपनि उसलाई उपचारमा लग्नुअगाडि स्क्रिनिङ गराउनुपर्छ। ताकि उसलाई कोरोना छ छैन पहिल्यै थाहा पाउन सकियोस्।

अस्पतालमा छिरिसकेपछि त उसले एकैपटक धेरै जनालाई सार्ने खतरा हुन्छ।

अमेरिकामा ४० प्रतिशत त अस्पताल, नर्सिङ होमहरुबाट सरेको छ।

त्यही भएर नेपालमा कोरोना भइसकेका व्यक्तिलाई राख्ने र उपचार गर्ने ठाउँ छुट्टै बनाउनुपर्‍यो।

त्यसैले कुनैपनि अस्पतालमा आउने सबैखालका बिरामीलाई सुरुमै स्क्रिनिङ गर्ने काममा हेलचक्र्याईं गर्नै हुँदैन।

त्यो भनेको सबैको पीसीआर परीक्षण नै गर्नुपर्ने भन्ने होइन। उसमा कोरोना संक्रमणको संभावना कति छ भनी हेर्ने हो। जस्तो कुनै बिरामीलाई ज्वरो आए पनि पेट दुखेर आएको भन्यो भने त्यस्तो बिरामीलाई होशियारपूर्वक हेर्नुपर्‍यो।

कुनै पनि देशमा प्रभावकारी स्वास्थ्य प्रणालीको विकास हुन वर्षौंको मेहनत चाहिन्छ। कुनैपनि रोग नियन्त्रण गर्नको लागि समय पनि लाग्छ।

चार महिना लकडाउन भएको बेला द्रूत गतिमा काम गर्नुपर्थ्याे। त्यो भएन।

अन्योल पनि थियो। नयाँ समस्यालाई कसरी सम्हाल्ने भनेर विश्लेषण हुन सकेन। अमेरिकाले सामान्य रुपमा लिँदा त्यहाँ लाख बढी मानिसको ज्यान गयो।

अर्काे हाम्रो स्वास्थ्य प्रणाली यति झन्झटिलो छ की नयाँ रोग आएपछि त्यसलाई यसरी समाधान गर्नुपर्छ भनेर द्रूतगतिमा काम गर्नै सकिदैँन।

नयाँ संविधान बनेपछि देशमा छिटो आर्थिक बृद्धि हुन्छ भनेर देश संघीयतामा गयो। यो एकदम राम्रो हो। तर स्वास्थ्य प्रणाली चाहिँ संक्रमणकालीन राजनीतिक अवस्थाको चपेटामा पर्‍यो। त्यसबारे कुनै प्रष्टता नै भएन।

पहिला भए स्वास्थ्य मन्त्रालय अन्तर्गत सबै हेल्थपोष्टहरु, सब–हेल्थपोष्टहरु थिए। स्वास्थ्य विभागले पत्र काट्नेवित्तिकै एकैपटक तलैसम्म सूचना पुग्थ्यो र निर्देशन दिन पनि सजिलो हुन्थ्यो।

तर, अहिले कुनै स्वास्थ्य संस्था संघीय सरकारको मातहतमा छ। कुनै अस्पताल वा ल्याव प्रदेशको मातहतमा छ। प्रदेश सरकारले काम गर्न पहिला संघीय स्वास्थ्यमन्त्रीको अनुमति लिनपर्‍यो। फेरि संघीय मामिलालाई चिठ्ठी लेख्नुपर्ने। तल्लो तहसम्म निर्देशन वा सूचना पुर्‍याउन नै समय लाग्ने र झन्झटिलो भएको छ।

स्थानीय तह वा प्रदेशले आफै गर्न पाउने कामका लागि पनि जनशक्ति नै छैनन्। जनशक्ति नभएपछि काम प्रभावकारी हुने कुरै भएन। सिस्टम नहुँदा काम गर्न खोजेपनि प्रभावकारी हुनै सकेन।

यी कुराहरु सुधार गरेर तीनै तहमा कोरोना संक्रमणसम्बन्धी कामलाई विशेष प्राथमिकता दिनैपर्छ।

जनचेतना र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने हो भने अहिले लकडाउन, निषेधाज्ञा लगाउनै पर्दैन। दूरी कायम गर्ने, सुरक्षा विधि अपनाउने लगायतका अनुशासन कायम गरी उद्योग, कलकारखाना पनि चलाउन सकिन्छ।

-जनस्वास्थ्य विज्ञ तथा काठमाडौं विश्वविद्यालयकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठसँग नेपालखबरका सागर न्याैपानेले गरेकाे कुराकानीका आधारित।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad