ad ad

विचार


ट्रम्प त अस्ताउँदा रहेछन् बिना चमक, ओलीको के कुरा?

ट्रम्प त अस्ताउँदा रहेछन् बिना चमक, ओलीको के कुरा?

सन्जय घिमिरे
पुस २५, २०७७ शनिबार ६:३५,

अस्ताउँदै छन् डोनाल्ड ट्रम्प।

जुन राप र तापका साथ उदाएका थिए अमेरिकाका राष्ट्रपति ट्रम्प, ठिक बिपरित एउटा निरीह र एक्लो भएर अस्ताउँदै छन्।

विश्वकै शक्तिशाली देशका शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्प यसरी अस्ताउलान भनेर शायदै कसैले सोचेको थियो। पद र शक्तिबाट होस् वा जीवनबाट, अस्ताउन त जो कोहीपनि अस्ताउँछ। तर बादलले घेरिएर, कसैले वास्ता नगर्ने घृणाको पात्रजस्तो, बेबारिसे झैं गरी अस्ताउनु र अन्तिम सेकेण्डसम्म पनि चम्किएर, दृश्यमा लोभलाग्दो भएर अस्ताउनुमा कति फरक छ कति।

अमेरिकाका ४५औं राष्ट्रपति ट्रम्प केही न केहीको, कोही न कोहीको भएर अस्ताउँदै छन्।

गत नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनपछि र खासगरी उनकै उक्साहटमा जनवरी ६ मा क्यापिटल हिलमा भएको ताण्डवपछि डोनाल्ड ट्रम्प केहीका रहेनन्, कसैका रहेनन्।

जनवरी ६ को घटनापछि उनकै क्याबीनेटका सेक्रेटरीहरुले समेत राजीनामा दिन थालेका छन् भने कतिपय सेक्रेटरीहरुबीच अब बाँकी दश दिनका लागि नै सही, राष्ट्रपतिबाट ट्रम्पलाई हटाउनु पर्ने विषयमा समेत छलफल भइरहेको छ।

डेमोक्रेटिक पार्टीका नेताहरुको कुरा छोडौं, रिपब्लिकन पार्टीकै नेताहरु समेत बुधबारको घटनापछि ट्रम्पसँग असाध्यै रुष्ट र निराश छन्।

हुँदा हुँदा, संसारका जो र जस्तोसुकै व्यक्तिले पनि उपयोग गर्न पाउने सोसियल मिडिया ट्विटर आज अमेरिकी राष्ट्रपति ट्रम्पका लागि बन्द छ। ट्विटरले ट्रम्पको एकाउन्ट सदाका लागि बन्द गरिदिएको छ। बाँकी मिडियालाई जति सरापेपनि ट्विटर ट्रम्पको प्रिय थियो। मध्यरातमा पनि ट्रम्प आफना छटपटीहरु ट्विटर मार्फत प्रकट गर्थे। जुन ट्विटर ट्रम्पका लागि प्रिय थियो, त्यसले पनि आज ट्रम्पलाई सदाको लगि ढोका बन्द गरिदियो।

शासकहरुले वा अरु सामान्य मान्छेले पनि सिक्नु पर्ने यो भन्दा ठूलो पाठ अरु के हुनसक्छ?

हेर्नुस् त, जब शासकहरुले होश गुमाउँछन्, उनीहरुले आफ्नो होश मात्र होइन, धेरै कुरा गुमाउँदा रहेछन्।

ट्रम्पले धेरै कुरा गुमाएका छन्– क्यापिटल हिलमा भएको बुधबारको घटनापछि।

बोली, स्वाभाव र शैलीका हिसाबले जस्ता भएपनि नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनअघिसम्म राष्ट्रपति ट्रम्प मेरो दृष्टिमा औसत रुपमा ठिक–ठाकै थिए। तर जब निर्वाचनको परिणाम स्वीकार गर्न हिचकिचाए र आफैं आफुले जितेको दाबी गर्दै हिँड्न थाले, त्यसपछि उनी क्रमशः ओरालो झर्दै गए। बुधबारको घटनापछि त उनी भिरबाटै खसे। 

उनलाइ बचाउने अब कोही छैन। 

राष्ट्रपति ट्रम्पले केही न केही बितण्डा गर्छन् भन्ने त धेरैले ठानेकै थिए। तर आफ्ना मान्छेहरुलाई क्यापिटल हिलका शिशा तोडफोड गर्ने हदसम्म उतार्लान भन्ने शायदै कसैले कल्पना गरेको थियो। कल्पना भन्दा बाहिरको कुरा भयो। बाँकी विश्व पनि चकित पर्यो जनवरी ६, बुधबारको घटनाले। विश्वका कतिपय नेता र विश्लेषकहरुले बुधबारको घटनालाई प्रजातन्त्रको चन्द्रमामा लागेको कालो दाग भने। कतिले खिल्ली उडाए अमेरिकाको प्रजातन्त्रको। तर मेरो दृष्टिमा अमेरिकाको प्रजातन्त्रमा कत्ति पनि तलमाथि भएको छैन। भएको रहनेछ। 

ज्यानै छोडेर कोही मान्छे बितण्डाका लागि तयार हुन्छ भने उसले जहाँपनि केही समय जस्तोसुकै बितण्डापनि गर्न सक्छ। तर जहाँ कानुनी राज र शासन छ, त्यहाँ ती बितण्डाकारीहरु भोलिपल्ट खुला रुपमा हिँड्न पाउँदैनन्। तिनलाई राजनीतिक संरक्षण मिल्दैन। क्यापिटल हिलमा बितण्डा मच्चाउनेहरु धमाधम पक्राउ परेका छन्। तिनलाई राष्ट्रपति ट्रम्पले समेत बचाउन सकेनन्। राष्ट्रपति नै बच्न सक्ने अवस्था छैन, अरुलाई उनले बचाउन पनि कसरी?

आफुले गरेको गल्तीको सजाय आज राष्ट्रपति ट्रम्प सबैतिरबाट पाउँदै छन्। अरु देशहरुमा भएको भए राष्ट्रपतिले गरेको गल्तीको कहाँ यो हदसम्मको सजायको कुरा हुन्थ्यो र?

नेपालकै कुरा गरौं।

नेपाल जस्ता देशमा आफ्नाले गरेको गल्तीको ‘सात खुनपनि माफ’ गर्ने चलन छ। तर अमेरिकामा यस्तो हुँदैन। न यहाँको राजनीतिले न यहाँको प्रजातन्त्रले कसैलाई ‘सात खुन माफ’ दिन्छ। अमेरिकामा दलीय राजनीति र प्रजातन्त्र दुई फरक चिज हुन भन्ने प्रष्ट देखिन्छ। 

राजनीतिले प्रजातन्त्रलाई हल्लाउन कोशीस गर्छ कहिलेकाहीँ, जब ट्रम्पजस्ता शासकहरु नेतृत्वमा आउँछन्। तर प्रजातन्त्रका जरा र रुखहरु यत्ति जबर्जस्त छन् कि ती खासै हलचल हुँदैनन्। जुन संसद भवन अर्थात् क्यापिटल हिलभित्र चार जनाको ज्यान गएको छ, त्यही भवनभित्र घटना भएको केही घण्टापछि नै संसद बस्छ, अनि पक्ष र बिपक्ष दुबैले सो घटनाको निन्दा गर्छन्। घटनाका लागि जिम्मेवार राष्ट्रपतिको खेदो खन्छन्, यस्तो अन्यत्र कतै हुनसक्छ? 

यो अमेरिकाको प्रजातन्त्रमा हुन्छ, र भयो। 

यसैले म भन्छु– प्रजातन्त्र बचाउने नेताहरुले होइन, संयन्त्रहरुले हो। नेता वा नेतृत्वकर्ताहरु लहडी र घमण्डी हुन सक्छन् तर, संयन्त्रहरुलाई यी दुबै हुन छुट दिइँदैन।

नेपालमा अहिले भइरहेको संसद विघटनको घटनाका हकमा पनि यस्तै नियम लागू हुनु पर्ने हो।

त्यतातिर अहिले धेरै नबोलौं।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाली फ्लेवर’ को संसदीय व्यवस्था भनेका छन्। म जान्दिनँ, त्यो ‘भनिला’ फ्लेवर हो कि ‘मिन्ट’ फ्लेवर? नेपालमा जन्मिएर हुर्किएको भएपनि म अझैपनि त्यो फ्लेवरको पत्तो पाउन खोजिरहेको छु। तर म परराष्ट्रमन्त्री ज्ञवालीलाई यति चाहिँ भन्न सक्छु– प्रजातन्त्र तपाईंजस्तो नेताहरुले होइन, संयन्त्रहरुले बचाउने हो। हो रहेछ।

राष्ट्रपतीय निर्वाचनमा अनियमितता भएको भन्दै राष्ट्रपतिका तर्फबाट दायर गरिएका मुद्धाहरु तल्ला अदालतका न्यायाधीशहरु (जो राष्ट्रपतिबाटै नियुक्त भएका हुन्) ले समेत सजिलै खारेज गरिदिने हैसियत राख्छन् अमेरिकामा।

कति हारे कति ट्रम्पले। 

के अन्यत्र यो सम्भव छ? 

संविधानले प्रष्ट भनेको कुरामा त आज नेपालका सर्वोच्च अदालतका न्यायाधीशहरु धरमर छन्। हो, यही फरक हो, अमेरिका र अन्यत्रको प्रजातन्त्रमा। 

नोभेम्बर ३ मा जब अमेरिकामा राष्ट्रपतिको निर्वाचन सम्पन्न भयो, तब मैले यही नेपालखबरमा लेखेको थिएँ, ‘हिलेसम्मको अवस्था हेर्दा, हारेपनि ट्रम्पले बाइडेनका लागि ह्वाइट हाउससम्मको बाटो सजिलै ‘क्लिएर’ गरिदिने जस्तो देखिँदैन। हार स्वीकार गर्न कठिन भएकै कारण निर्वाचन परिणामपछि पनि अमेरिकी राजनीतिका आगामी केही साताहरु अन्यौलग्रस्त बन्नेजस्तो देखिएको छ। जति प्रजातान्त्रिक भनेपनि कहिलेकाहीँ व्यक्तिका अहमका सामुन्ने प्रजातान्त्रिक मुल्य, मान्यता र अभ्यासहरुले पनि घुँडा टेक्छन्। यस्तो हुन पनि सक्छ।’

हुन खोज्यो पनि यस्तै। तर हुन पाएन। ट्रम्पले कोशीस चाहिँ गरे। चरम कोशीस गरे। चरम कोशीस अर्थात क्यापिटल हिल भित्रको बितण्डा।

तर परिणाम?

आज ट्रम्प दुनियाँमा बदनाम छन्। कोही किन थप बदनाम हुन चाहन्छ? म जान्दिनँ। 

ट्रम्प हुन् कि ओली? कोही किन थप बदनाम हुन चाहन्छ? म जान्दिनँ। जानेको दिन भनौंला।

अहिलेलाई यत्ति नै भनौं– ट्रम्प त अस्ताउँदा रहेछन् बिना चमक। बाँकी अरुको के कुरा? 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .