साउनको अन्तिम सोमबार आज काठमडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
हिन्दु धर्ममा साउन महिनामा भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ। यसमा पनि विशेष गरी सोमबार व्रत बसी भगवान् शिवको दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ।
सोमबार विशेष गरी महिला भक्तजनको शिवालयहरूमा भीड लाग्ने गर्छ। साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ।
काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको लामो लाइन छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरू बिहानैदेखि पशुपति परिसरमा लामबद्ध छन्।
उनीहरूलाई सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको हो।
पशुपतिनाथमा मात्र नभई आज देशैभरका शिवालयमा भक्तजनहरू पूजाआराधनामा व्यस्त छन्। उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन्।
यहाँ, पशुपतिनाथ परिसरका केही तस्बिर:
Shares
प्रतिक्रिया