आज (पुस २९ गते) स्वस्थानी व्रतकथा सुरु भएको छ।
आफ्नो वरिपरिका देवीदेवता पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ।
ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो।
आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु भएको छ।
ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो।
यो व्रत धेरैजसो महिलाले बस्ने गर्छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।
आफू बसेको स्थानकी देवी देवताको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ।
यसैबीच यस अवसरमा एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमिको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु भएको छ।
माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ। यहाँ प्रत्येक वर्ष लाखौँ भक्तजन आउने गर्छन्।







Shares

प्रतिक्रिया